१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपान्तरण अभियान सफल भएको माओवादी केन्द्रको निष्कर्ष

नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ।

माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको प्रतिवेदन पेश गरेका हुन्।

बैठकमा सातवटा भौगोलिक र अन्य ३ वटा गैर भौगोलिक गरी १० प्रदेशका इन्चार्ज र अध्यक्षहरुले अभियानको प्रतिवेदन राख्दै बोलेका थिए। त्यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि बोलेका थिए।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने सबै नेताहरुले विशेष रुपान्तरण अभियान सफल र सार्थक भएको प्रतिवेदन पेश गरेको जानकारी दिए।

उनले अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको बताए।

बैठकमा बोल्ने नेताहरुले आगामी दिनमा पार्टी नेता, कार्यकर्ताहरुको कामको आधारमा मूल्यांकन गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिनुपर्ने व्यवस्था गर्न माग समेत गरेका उनले उल्लेख गरे। अभियानले पार्टी नेता तथा कार्यकर्ताहरुको मूल्यांकनको आधार पनि राम्रो बनेको प्रवक्ता सापकोटाको भनाई छ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमबार (भोलि) बिहान ११ बजे पुनः बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए।

प्रकाशित: २८ माघ २०८० १८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App