३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा: अर्थमन्त्री

फाइल तस्बिर।

अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा भएका बताएका छन्।

आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रोजगार सिर्जना, आर्थिक उपार्जन लगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताएका हुन्।

‘विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ। यसले दैनिक जीवनयापनमा सहजता ल्याउने भए पनि त्योभन्दा ठूलो शिक्षाको विकास सबैभन्दा शक्तिशाली माध्यम हो’, अर्थमन्त्री महतले भने, ‘आम्दानीको स्रोत बढाउन, बचत गर्न र भविष्य कसरी उज्ज्वल बनाउन सकिन्छ भन्ने मुख्य बाटो नै शिक्षाले देखाउँछ।’

व्यवस्थित सडक, खानेपानी, सिँचाइ कुलो, स्वास्थ्य सेवा सबै विकासको सूचक भएकाले त्यसलाई शिक्षाका माध्यमबाट दक्ष बनाई उपयोगी र रोजगारमुखी बनाउन सरकारले शिक्षाको गुणस्तरमा जोड दिएकाले सोहीअनुसार लाग्न उनले अभिभावक र विद्यालय प्रशासनलाई आग्रह गरे।

‘भागबन्डा गर्न नपर्ने र अरुले चोरी गर्न नसक्ने हुँदा सीप र शिक्षा सबैभन्दा ठूलो सम्पत्ति हो’, अर्थमन्त्री महतले भने, ‘पढाइमा गरेको लगानी खेर जाँदैन। प्रतिफल मिल्छ। समयअनुसार प्रविधिमैत्री र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्छ।’

उमेर अनुसार शिक्षा लिन नपाएकालाई राज्यले रोजगारको सिर्जनाका लागि तालिम दिएर दक्ष जनशक्ति बनाउन लागेकाे उनले जानकारी दिए। 

प्रकाशित: २२ माघ २०८० १६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App