२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न मन्त्री भुसालको निर्देशन

फाइल तस्बिर

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन्।

बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्ध वार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै मन्त्री भुसालले लामो समय देखि डम्पिङ साइटमा थन्किएका मोबाइल ल्याब भ्यानलाई तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन्।

बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो। झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान प्रयोगविहीन अवस्थामा छन्। खाद्य प्रविधि विभागमा ती भ्यान अलपत्र परेका छन्।

मोबाइल भ्यान सञ्चालन गर्नुपर्ने कारणसहित कडा ढङ्गले विभाग सामु प्रस्तुत भएका मन्त्री भुसालले भने, ‘तेस्रो पटक भन्दै छु, मोबाइल भ्यान तत्काल सञ्चालन गर्नुस्। यो भ्यान कुनै पनि तरिकाले सञ्चालन गर्नुपर्ने छ। चलाउन नसके हात उठाऔँ, अर्को व्यवस्था हुन्छ, नत्र जसरी हुन्छ चलाउऔं। राम्रो काम गर्दा चुनौती आए सामना गर्न तयार हुनुपर्छ, डराउन पर्दैन।’

मन्त्री भुसालले चलाउन नसक्ने भए किन चलाउन नसकिने आधार प्रस्तुत गर्न निर्देशन पनि दिएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै गत वर्ष पनि मन्त्री भुसालले विभागको समीक्षा गोष्ठीमा मोबाइल भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका थिए। उक्त निर्देशन निर्देशनमै सीमित भयो। पटक पटक भ्यान सञ्चालनका लागि मौखिक निर्देशन दिए पनि भ्यान सञ्चालनको सुरु नदेखिएपछि बिहीबार पुनः मन्त्री भुसालले निर्देशन दिएका हुन्।

शुक्रबार मोबाइल भ्यान सञ्चालनका लागि मन्त्रालयमा मन्त्रीसहित मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशकसहितको छलफल आह्वान भएको छ। उक्त छलफल मोबाइल भ्यान सञ्चालन केन्द्रित रहने जनाइएको छ।

यस्तै मन्त्री भुसालले विभागले सम्पादन गरेको काम प्रति त्यति धेरै सन्तुष्ट नभएको बताए। समीक्षामा प्रस्तुत विषयभन्दा अझ बढी काम गर्न सकिने उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए । जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्नेमा मन्त्री भुसालको जोड छ।

साथै उनले प्रगति विवरण अर्धवार्षिक रूपमा नभएर मासिक रूपमा सार्वजनिक गर्न निर्देशन दिए। अब अर्धवार्षिक रूपमा कामको विवरण पेस गरेर हुँदैन।

‘विभागभित्र प्रगति पेस गरेर जनताले सुन्दैनन्, मन्त्री भुसालले निर्देशन दिँदै भने,’ ‘अब मासिक रूपमा कामको विवरण सार्वजनिक गर्नुस्, आफूले गरेको काम जनताको बिचमा लैजानुस्। यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ।’

प्रकाशित: १८ माघ २०८० ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App