१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

माथेमालाई सम्झन सहिद सप्ताह पर्खिनुपर्‍याे

सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौंको सिफल उकालोमा आज स्मृतिसभा गरी उनलाई सम्झना गरिएको छ।

सहिद सप्ताह मूल समारोह समिति काठमाडौं महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व पाएको स्थानमा स्मृतिसभा गरिएको हो। कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ।

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले सुखसयल त्यागेर नागरिक स्वतन्त्रताका लागि  प्राण उत्सर्ग गरेको बताइन्।

सहिद माथेमाको सम्मानमा कामपाले वडा नं २३ ओमबहालमा पार्क बनाएको छ। महानगरको लगानीमा निर्माण हुने मानवसेवा आश्रम उनकै नामबाट बनाउने योजनामा रहेको डङ्गोलले बताइन्।  

सभामा वडा नं ७ का अध्यक्ष विमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदको सपना पूरा हुने बताए।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विद्यालयस्तरमा सहिदबारे बुझाउन सक्नुपर्छ, भने।

विसं १९६६ आश्विन ९ गते काठमाडौंको ओमबहाल, नबहिलमा जन्मिएका माथेमालाई तत्कालीन शासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कात्तिक २ गते पक्राउ गरिएको थियो। उनलाई १९९७ माघ १३ गते काठमाडौंको सिफलमा ३१ वर्षको उमेरमा  बकाइनोको रुखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए। निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथचन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदन्ड दिइएको थियो। 

प्रकाशित: १३ माघ २०८० ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App