२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा सांसदकै मत बदर

राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट सत्ता साझेदार दल गठबन्धनका तर्फबाट उम्मेदवार रहेका तीनै जना विजयी भएका छन्।

महिलातर्फ माओवादी केन्द्रकी विजयी रेनु चन्दले ४ हजार ४ सय ५३ मत पाइन् भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सावित्रीदेवी घिमिरेले १५ सय ७१ मतभार प्राप्त गरिन्। अपाङ्गतर्फ विजयी काँग्रेसका नारायणदत्त भट्टले ४ हजार ४ सय १९ मत पाए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र जोशीले १ हजार पाँच सय ७१ मतभार प्राप्त गरे। अन्यतर्फ काँग्रेसकै बलदेव बोहराले ४ हजार ३ सय २८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वरीप्रसाद खरेलले १ हजार ६ सय ९६ मतभार प्राप्त गरे।

सुदूरपश्चिम प्रदेशमा दुई सय २७ मतदाता मध्ये २ सय २५ जनाले मतदान गरेका थिए। ५२ जना प्रदेश सभा सदस्य र एक सय ७५  स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष मतदाता रहेकोमा २ जना अनुपस्थित रहेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाका उपमेयर राजु तिरुवा अनुपस्थित रहेका थिए। स्वतन्त्रबाट निर्वाचित हमालले मत हाल्न गएनन् भने नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित उपमेयर तिरुवा बिरामी भएका कारण उपस्थित हुन नसकेको बताइएको छ। 

प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १९ रहेको थियो। सुदूरपश्चिममा ८८ वटा स्थानीय तह छन्। ५३  जना प्रदेश सभा सदस्य संख्या रहेको सुदूरपश्चिम प्रदेश सभामा १ पद रिक्त रहेको छ। नेपाली काँग्रेसका बझाङबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त सिट रिक्त रहेको हो। यस्तै पालिकाका प्रमुख÷उपप्रमुख अध्यक्ष÷उपाध्यक्ष १ सय ७६ जना मध्ये बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको मृत्यु भएकोले उक्त सिट रिक्त रहेको थियो। यसपालि सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रिय सभा सदस्य पदका लागि ६ जना उम्मेदवार रहेका थिए। बोहरा २०४८ सालमा जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भएर पाँच वर्षे कार्यकाल निर्वाह गरेका थिए। भट्ट नेपाली काँग्रेस कैलाली जिल्ला कार्य समिति सभापति हुन्। भट्ट २०६२÷०६३ सालका जन आन्दोलनमा गम्भीर घाइते भएका थिए। नेकपा माओवादीबाट उम्मेदवार बनेकी चन्द २०६४ सालको संविधान सभा निर्वाचनबाट निर्वाचित सदस्य हुन्। आगामी फागुन महिनामा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी ‘उत्सव’, माओवादी केन्द्रका महेश महरा तथा नेकपा एमालेका इन्दु कठरियाको पदावधि सकिँदै छ। सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एमालेले एक÷एक सिट गुमाएको छ भने नेपाली काँग्रेसलाई एक सिट थपिएको छ। 

सांसदकै मत बदर 

राष्ट्रिय सभा सदस्यमा बिहीबार भएको मतदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्यकै मत बदर भएको छ। अपाङ्गता तथा अल्पसंख्यक पदमा ५२ जना प्रदेश सभा सदस्य मध्ये एक जना प्रदेश सभा सदस्यको मत बदर भएको सहायक निर्वाचन अधिकृत भट्टले बताए। यसै गरी महिला तथा अन्यतर्फ पालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले दिएको १ सय ७३ मत मध्ये १÷१ मत बदर भएका छन्। 

प्रकाशित: ११ माघ २०८० १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App