१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मधेश सरकार जसपाको पुर्ख्यौली सम्पत्ति होइन: सिके राउत

फाइल तस्बिर।

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेश सरकार कसैको पुर्ख्यौली सम्पत्ति नभएको बताएका छन्।

मधेस सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) र सरकारमै सामेल रहेको जनमत पार्टीबीच तिक्तता बढिरहेका बेला अध्यक्ष राउतको यस्तो अभिव्यक्ति आएको हो।

राउतले आज ट्वीटर (एक्स) मा एक अभिव्यक्ति सार्वजनिक गर्दै लेखेका छन्, ‘प्रदेश सरकार कसैको पुर्खौली सम्पत्ति होइन, कि कसैले कब्जा जमाएर बस्ने र अरूलाई जान भन्ने। जनताको अभिमतको कुरा गर्नुहुन्छ भने मधेश प्रदेशमा जनमत पार्टीको मत जसपा भन्दा धेरै छ।’

उनले यसो लेख्दा २०७९ मंसिरको मधेश प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको प्राप्त दलीय मतको सूची राखेका छन्। उक्त सूचीअनुसार जनमतले मधेस प्रदेशमा तीनलाख २९ हजार १७७ मत प्राप्त गरेर नेपाली कांग्रेस, नेकपा एमालेपछि तेस्रो स्थान हासिल गर्दा जसपाले दुई लाख ९८ हजार ७७४ मत पाएर चौथो स्थानमा छ।

अध्यक्ष राउतले ‘केन्द्रका भ्रष्टहरूले’ मत परिणाम अनुसार जनमतभन्दा सानो पार्टी रहेको जसपालाई प्रदेश सरकारको नेतृत्व थमाएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले अगाडि लेखेका छन्,‘तर केन्द्रका भ्रष्टहरूले नेतृत्व जसपालाई थमाएको छ किनकि केन्द्रमा उनीहरूलाई आफ्नो कुर्सी जोगाउनु छ।’

जनमत पार्टी स्थापनाकालदेखि नै जसपासँग टसलमा छ। तर पछिल्लो निर्वाचनपछि सत्तारुढ गठबन्धनबाट जसपाका सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री बनाउँदा भने जनमतले समर्थन गरेको थियो। त्यसपछि जनमतबाट महेश यादव र चन्दन सिंह प्रदेश सरकारमा सामेल छन्।

सरकारमै सामेल भएपनि पछिल्लो समय जनमतले जसपा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रदर्शन गर्न थालेको छ। बुधबार मात्रै जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनभित्र प्रदेश सरकारले आफ्नो एकवर्षे उपलब्धि सार्वजनिक गरिरहँदा जनमत पार्टीका नेता कार्यकर्ताले प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेका थिए। 

जनमतका राष्ट्रिय सचिव बीपी साहको नेतृत्वमा गएको समूहले प्रदेश सरकारले गरेको विभिन्न भ्रष्टाचार काण्डहरुको छानबिन गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए। जसमा जसपा नेतृत्वको अघिल्लो सरकारका पालामा भएका भ्रष्टाचारको पनि छानबिनको माग गरिएको छ।

सरकारमै सहभागि जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्न थालेपछि मुख्यमन्त्री यादवले आफ्नो मन्तव्यका क्रममा ‘भ्रष्ट सरकारमा किन बसेको ?’ भन्दै जनमतका मन्त्रीसँग प्रश्न गरेका थिए।

मुख्यमन्त्री यादवको सोही प्रश्नसँग लक्षित हुँदै अध्यक्ष राउतले आफ्नो अभिव्यक्ति सार्वजनिक गरिएको बुझिएको छ।

प्रकाशित: ४ माघ २०८० ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App