३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मगराँतको पहिचान दिन मगर संघको आग्रह

काठमाडौं- नेपाल मगर संघले प्रदेश नं. ४, ५ र ६ प्रदेशलाई मगरातको पहिचान दिएर नामाकरण गर्न माग गरेको छ। फागुन १५ गतेदेखि सुरुहुने २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको बारेमा जानकारी दिन आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले तीनवटा प्रदेशलाई मगरात पहिचानसहित नामाकरण गर्न आग्रह गरे।

अध्यक्ष रोकाले मगर जातिको आदिभूमीलाई तीन चिरा पारिएको बताउँदै एउटै क्लस्टरमा ल्याएर आठौँ प्रदेश बनाउनुपर्ने आफूहरुको पहिलो माग रहेको बताए। मगराँत क्लस्टरलाई मिलाएर एउटै प्रदेश बनाउन नसकिने हो भने प्रदेश नं. ४ लाई मगरात–तमुवान, प्रदेश नं. ५ लाई मगरात–थारुवान र प्रदेश नं. ६ लाई मगरात–खसान नामाकरण गर्नुपर्ने बताए।’

मगर संघले मगर भाषालाई राज्यको सबै तहमा सरकारी कामकाजको अधिकारसहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, लखन थापामगरलाई राज्यले प्रथम सहिदको सम्मान दिनुपर्ने, मगर प्रथाजनित कानूनहरुलाई संवैधानिक मान्यता प्रदान गर्नुपर्ने माग राखेको छ। ‘हाम्रा एजेण्डामाथि राष्ट्रिय सम्मेलनमा गम्भीर छलफल हुन्छ, र हामी हाम्रा माग पूरा गराउन आन्दोलन अगाडि बढाउछौँ’, मगमर संघका महासचिव ज्ञानेन्द्र पुनले भने।

मगर संघले सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको लागि संविधान संशोधनको मागसमेत गरेको छ। संघले ‘पहिचान सहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधनः सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारा तय गरेको छ।

पत्रकार सम्मेलनमा संघले फागुन १५, १६ र १७ मा राष्ट्रिय सम्मेलन हुने, सम्मेलनको उद्घाटन फागुन १५ गते टुंडिखेलमा हुने र बन्द सत्र गंगबुमा हुने जानकारी गरायो। सम्मेलनमा ६९ जिल्ला शाखा, ६ भातृ संगठन, वैदेशिक शाखालगायतबाट पाचसय प्रतिनिधि सहभागी हुने जनाइएको छ । मगर संघको स्थापान २०३९ साल फाल्गुण १५ भएको थियो । सोही दिनलाई मगर समुदायले मगर दिवसको रुपमा मनाउँदै आएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App