१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मेलम्चीको पानी पुर्नवितरण शुभारम्भ गर्ने प्रधानमन्त्री दाहाल छैटौँ, सातौँ को?

प्रधानमन्त्री पुष्पकमल दाहाल मेलम्चीको पानी पुर्नविर्तरण कार्य शुभारम्भ गर्ने छैटौँ राजनीतिज्ञ भएका छन्। तर, सोमबारको पानी पुनविर्तरण पनि स्थायी नभएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले बताइसकेका छन्।

यसअघि तत्कालिन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूले मेलम्चीका विभिन्न निर्माण चरणहरूको उद्घाटन गरेका थिए।

यसैबीच आज बिहान प्रधानमन्त्री दाहालले सिंहदरबारमा निर्माण गरिएको पहेँलो जलप लगाइएको धाराबाट बगेको पानी पिएर पानी वितरण शुभारम्भ गरे। उनी पानी वितरण उद्घाटन गर्ने छैटौँ व्यक्ति भएका छन्।

यसअघि मेलम्ची खानेपानीको आयोजनाको शुभारम्भ तथा उद्घाटन गर्नेहरूमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्री मणिचन्द्र थापा, खानेपानी मन्त्री उमाकान्त चौधरी, खानेपानी राज्यमन्त्री रामबीर मानन्धरलगायतले मेलम्चीका विभिन्न चरणहरूमा शुभारम्भ र उद्घाटन गरेका थिए।

मेलम्ची आयोजना सुरु भए देखिनै शुभारम्भ र उद्घाटनको सिलसिला जारी छ। कहिले मेलम्चीको पानी पथान्तरण, कहिले सुरुङ निर्माण सम्पन्न, कहिले सुरुङको पानी प्रशोधन केन्द्रमा हाल्ने नाममा, कहिले मेलम्चीको पानी भन्दै ढुङेधारा खोल्ने नाममा, कहिले काठमाडौँका पानी ट्याङ्कीमा पुगेर पानीको भल्भ खोल्ने नाममा यस्ता शुभारम्भ र उद्घाटन भइरहेका छन्। अझ पथान्तरणको शुभारम्भ त दुई–दुई गरिएको छ।

आयोजनाले यो अस्थायी वितरण हो भनिरहँदा प्रधानमन्त्री दाहालले २४ सैँ घण्टा समान रूपले खानेपानी उपलब्ध गराउन निर्देशन दिए। मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौँ उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिए।

यस्तो छ मेलम्चीको शुभारम्भ र उद्घाटनको टाइमलाइन

–सिन्धुपाल्चोक जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी र  तत्कालीन खानेपानी मन्त्री विना मगरले काठमाडौँबाट मेलम्ची खानेपानी आयोजनाको पानी २०७७ असार २१ गते पथान्तरणको शुभारम्भ गरेकी थिइन्। त्यसवेला पथान्तरण गरिएको पानी काठमाडौँ आउन नपाउँदै गेट भत्किएको थियो।

– तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले  २०७८ फागुनको पहिलो साता मेलम्चीको हेडवक्र्स अम्बाथानमा पुगेर फेरि दोस्रो पटक पानी पथान्तरण गरेका थिए।

– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजनाको सुरुङको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा विद्युतीय बटन थिचेर पानी हाल्ने कामको उद्घाटन गरेका थिए।

– तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते काठमाडौँको भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्।

–तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले २०७९ चैत  १९ मा मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए।

–तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले  २०७९ वैशाख ११ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको मीनभवनस्थित पानी ट्याङ्कीमा पुगेर खानेपानीको भल्भ खोली मेलम्ची खानेपानी आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गरेका छन्।

– तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले २०७९ मङ्सिर २३ गते पनि मेलम्चीको पानीको शुभारम्भ गरेका थिए। 

– प्रधानमन्त्री दाहालले छैटौँ व्यक्तिका रुपमा आज मेलम्चीको पानी पुर्नवितरणको शुभारम्भ गरे। यसको दिगोपनामा अझै काठमाडौँबासी ढुक्क छैनन्। यस्तोमा उनीहरु प्रशन गर्छन् अब मेलम्चीको पुर्नवितरण गर्ने सातौँ व्यक्ति को हुनेछन्?

प्रकाशित: १ माघ २०८० ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App