१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनले गण्डकीका ११ वटै जिल्लामा मतदाता भेटघाट गर्ने

सत्तारुढ गठबन्धनले गण्डकीमा मतदातासँग चुनावी भेटघाट गर्ने भएको छ। गठबन्धनले गण्डकीका ११ वटै जिल्लामा पुगेर राष्ट्रिय सभा सदस्यको चुनाव केन्द्रित चुनावी भेटघाट र अन्तर्क्रिया गर्ने आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। राष्ट्रिय सभा सदस्यको रिक्त १९ सदस्यका लागि माघ ११ गते चुनाव हुँदैछ। गण्डकीमा ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ।

गठबन्धनका तर्फबाट गण्डकीमा अन्यतर्फ किरणबाबु श्रेष्ठ (गोर्खा), महिलातर्फ मनरुपा शर्मा सुवेदी (पर्वत) र अल्पसंख्यक तथा अपाङ्गतातर्फ पदमबहादुर परियार (तनहुँ) उम्मेदवार छन्। अन्य, महिला र अल्पसंख्यक तथा अपाङ्गता क्षेत्र गरेर ३ सदस्यका लागि हुने चुनावमा नेकपा एमालेले अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता तथा अल्पसंख्यकतर्फ हेमेन्द्र शेरचन (मुस्ताङ) र महिलातर्फ सम्झना देवकोटा (गोरखा)लाई उम्मेदवार बनाएको छ। त्यस्तै, दुई स्थानमा मात्र उम्मेदवारी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्यतर्फ रोमबहादुर भण्डारी (कास्की) र गौमाया श्रेष्ठ (तनहुँ)लाई उम्मेदवार बनाएका छन्।

आफ्ना उम्मेदवारहरूलाई जिताउन गठबन्धनले माघ २ गते नवलपुरमा, ३ गते बिहान गोरखा, सोही दिन दिउँसो लमजुङ, ४ गते तनहुँ, ५ गते स्याङ्जा, ६ गते बिहान म्याग्दी, सोही दिन दिउँसो बागलुङ, ७ गते बिहान पर्वत, सोही दिन दिउँसो कास्की, ८ गते मनाङ र ९ गते मुस्ताङमा मतदाताहरूसँग भेटघाट कार्यक्रम तय गरेको नेपाली काँग्रेस गण्डकीका सभापति तथा गठबन्धनका गण्डकी संयोजक शुक्रराज शर्माले जानकारी दिए।

पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनका अन्य तर्फका उम्मेदवार किरणबाबु श्रेष्ठले इमानको राजनीति गर्दै आएको आफूलाई राष्ट्रको सेवा गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे। इमानको राजनीति गर्ने मेरो राजनीतिक जीवन नै खुल्ला किताबको पाना हो,उनले भने,'जितेपछिपनि निष्ठा र इमान छाडेर पद र कुर्सीका लागि दौडिन्न। राष्ट्र हितमा समर्पित हुन्छु।’ उनले यसअघि चुनाव हारेकै आधारमा अयोग्यताको पगरी भिराउन नहुने बताए। पटक पटक चुनाव लडेर पराजित भएका श्रेष्ठले भने,'जित र हार त केवल प्राविधिक कुरा हो। त्यसलाई योग्य र अयोग्यको कसीमा राखेर हेरिनु हुँदैन।’

महिलातर्फकी उम्मेदवार मनरुपा शर्मा सुवेदीले आफ्नो इतिहास हेरेर मतदाताले मत दिने विश्वास व्यक्त गरिन्। जनयुद्धमा श्रीमान् गुमाएकी उनले भनिन्,।।।देश र जनताका लागि लड्दालड्दै श्रीमान् गुमाएँ, आफै पनि दश वर्षे जनयुद्धमा लडेर आएकी हुँ। मेरो योगदान हेरेरै पार्टीले उम्मेदवार बनाएको हो। अब मतदाताले पनि न्याय गर्नुहुन्छ भन्ने विश्वास छ।’

अपाङ्गता तथा अल्पसंख्यकतर्फका उम्मेदवार पदमबहादुर परियारले विभेदविरुद्ध सशक्त आवाज उठाउनका लागि आफूलाई जिताउने विश्वास व्यक्त गरे। म आफैलेपनि बाधा, व्यवधान, विभेद भोगेँ र त्यसबिरुद्ध आवाज उठाउँदै आएँ,उनले भने,'पार्टीले भुईंमान्छे उठाएर अहिले मलाई उम्मेदवार बनाएको छ। विश्वास छ मतदाताले मलाई जिताएर पठाउन ुहुनेछ।’ उनले आफूले जितेमा देशको कानुन, नीति नियम समावेशी बनाउनका लागि आवाज बुलन्द गर्ने बताए।

गण्डकीमा ६० जना प्रदेश सभा सदस्य, ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन्। गण्डकीमा गठबन्धनको भारी बहुमत पुग्छ । गण्डकीमा कुल ६ हजार ४ सय १० मतभार रहेकोमा सत्ता गठबन्धनसँग ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ।

गण्डकीमा ६० प्रदेश सभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन्। प्रदेश सभा सदस्यको मतभार ५३ रहेकाले गण्डकीमा ३ हजार १ सय ८०, स्थानीय तहको प्रमुख र उपप्रमुखको समान १९÷१९ मतभार रहेकाले ३ हजार २ सय ३० मतभार छ।

काँग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादी केन्द्रको ९ सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको  ५७ मतभार भएकाले सबै जोड्दा सत्ता गठबन्धनसँग पुग्छ। जुन जित्नका लागि आवश्यक मतभार भन्दा धेरै हो।

नेकपा एमालेको २ मतभार छ। राप्रपाको भने दुई जना प्रदेश सभा सदस्य मात्र भएकाले केवल १ सय ६ मतभार छ।

प्रकाशित: २९ पुस २०८० ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App