२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारमा पार्टीको नेतृत्व गर्न माओवादीमा प्रतिस्पर्धा

काठमाडौं – केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट नेतृत्व गर्ने सबालमा माओवादी केन्द्रभित्र तीनजनाबीच प्रतिस्पर्धा देखिएको छ।

वरिष्ठ नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी र वर्षमान पुन पार्टीको नेतृत्व गरेर सरकारमा जान चाहेका छन् । अर्का वरिष्ठ नेता कृष्णबहादुर महरा भने तत्काल सरकारमा जान अनिच्छिुक देखिएका छन् ।
माओवादीले सरकारमा गृहमन्त्रालयसहित उपप्रधानमन्त्री पाउने भएकाले थापा, पुन र रायमाझीबीच मन्त्रिपरिषद्मा पार्टीको नेतृत्व गर्न प्रतिस्पर्धा चलेको छ।

पार्टी अध्यक्ष दाहालले थापा (बादल) लाई पठाउन खोजेका छन् । विभाजनपछि पुनः पार्टीमा फर्केका थापालाई सरकारको नेतृत्व गराएर पठाउनेबारे माओवादीभित्र छलफल भएको नेता मणि थापाले बताए । ‘बादल (थापा) जीलाई नै सरकारको नेतृत्व गरी पठाउने भन्नेबारे शीर्ष नेतृत्वमा छलफल भएको छ, यसमा धेरै साथी सहमत छन्,’ थापाले भने । एमालेबाट पनि ‘ठूलै हैसियत’ का नेताले सरकारमा दोस्रो स्थान पाउने भएकाले माओवादी पनि ‘ठूलै हैसियत’ का नेताका रूपमा थापाको नेतृत्वमा सरकारमा जान लागेको बुझिएको छ ।तर, यसअघि २०६५ सालमा रक्षामन्त्री हुदाँ ‘प्रधानसेनापति प्रकरण’मा मुछिएका थापालाई सुरक्षाभन्दा बाहिरको मन्त्रालयसहित उपप्रधानमन्त्री दिइने माओवादी निकट स्रोतले बतायो ।

गृह मन्त्रालयका लागि वर्षमान पुनले इच्छा प्रकट गरेको बताइएको छ । एकीकरण प्रक्रियाप्रति त्यति ‘सहज’ नदेखिएका पुनमाथि प्रधानमन्त्री ओलीको ‘नोट अफ डिसेन्ट’ रहने सक्ने खतरा भएकाले त्यसको विकल्प खोज्ने सबालमा माओवादीको एक तप्काभित्र वैकल्पिक छलफल पनि सुरु भएको छ । तर, अध्यक्ष दाहालले पुनलाई सिफारिस गर्र्न सक्ने सम्भावना पनि उत्तिकै छ ।गृह मन्त्रालयका लागि जनार्दन शर्मा र टोपबहादुर रायमाझी पनि इच्छुक देखिएका छन् । तर अध्यक्ष दाहाल नयाँ अनुहारलाई प्राथमिकता दिने पक्षमा छन् ।

पार्टी प्रवक्ता पम्फा भुसाल र मातृकाप्रसाद यादव ओली सरकारमा मन्त्री हुने लगभग सुनिश्चित भएको छ । दुवै नेता एकीकरणपछि पार्टीमा फर्केको र क्षमतावान भएकाले भुसाल र यादवको सम्भावना प्रबल देखिन्छ । नयाँ शक्ति पार्टीबाट माओवादीमा फर्केका देवेन्द्र पौडेल र चन्द्रप्रकाश खनाललाई पनि सम्भावित मन्त्रीका रूपमा हेरिएको छ ।

वरिष्ठ नेता थापाको नेतृत्वमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता हुने लगभग सुनिश्चित देखिए पनि औपचारिक निर्णय भने भइसकेको छैन । ‘मन्त्रिपरिषद्मा पार्टीको नेतृत्व गर्ने नेताबारे औपचारिकरूपमा कुनै छलफल भइसकेको छैन’ प्रवक्ता  भुसालले भनिन्, ‘शीर्ष नेतृत्वको तहमा मात्रै छलफल भइरहेको हुनसक्छ ।’ उनका अनुसार एमाले र माओवादीबीच मन्त्रालय भागवन्डा सम्पन्न हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुनेछ ।प्रधानमन्त्री ओलीले पार्टी एकीकरण प्रक्रियामा सहज भूमिका खेलेका र नयाँ अनुहार सरकारमा पठाउन दाहाललाई आग्रह गरेको दाहाल निकट स्रोतले बतायो ।
फोरमलाई उपसभामुख !

वाम गठबन्धन निकट रहँदै आएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले उपसभामुख पाउने सम्भावना देखिएको छ । वाम गठबन्धन सरकारका लागि सहयोगी भूमिका खेल्न सक्ने ठानिएकाले फोरमलाई उक्त मौका मिल्ने सम्भावना देखिएको हो । ‘संविधान संशोधनमा सकारात्मक देखिएमा संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुन सक्नेछ,’ पार्टी नेता राजेन्द्र श्रेष्ठले भने, ‘सैद्धान्तिक सहमति हुन सक्यो भने मन्त्री र उपसभामुखमा नमिल्ने कुरा केही छैन ।’एमाले र माओवादीबीच औपचारिक रूपमा पार्टी एकीकरण भए उपसभामुख अन्य पार्टीलाई दिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसका लागि वाम गठबन्धन र संघीय फोरमबीच गृहकार्य सुरु भएको छ ।

प्रकाशित: ९ फाल्गुन २०७४ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App