५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

अवस्था बदल्न नसक्ने नेतृत्वसँग जनता रिसाए: सिवाकोटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेकाले जनता रिसाएको बताएका छन्। 

‘अहिलेको व्यवस्थाले अवस्था बदल्न नसकेकोमा जनता रिसाएका छन्,’ शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा नेता सिवाकोटीले भने, ‘सरकार र पार्टी नेतृत्वको समिक्षा गर्ने बेला आएको छ।’

आम नागरिक सरकारसँग कति खुसी छन् र कार्यकर्ता पार्टी नेतृत्वसँग कति खुसी छन् भनेर समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए। नेपाली कांग्रेस ९ मन्त्री सहित सरकारको साझेदार, ४ वटा प्रदेश, ३ सय ३२ पालिका, २६ सय भन्दा बढी वडामा नेतृत्व गरे पछि सबैतिर अत्यन्तै निराश देखिएकाले समीक्षा गर्नुपर्ने बताए। ‘नागरिक सबैभन्दा बढी कुशासनका कारण रिसाएका छन्,’ सिवाकोटीले भने, ‘हामीले नागरिकलाई भरोसा दिन सक्नुपर्छ।’

भ्रष्टाचार चरम सीमामा रहेकाले न्यूनिकरणका लागि पहल गर्नुपर्ने उनले बताए । एनसेल, टेरामक्स, स्टक एक्सचेन्ज, सहकारी, सुनकाण्ड जस्ता अनेक काण्डहरु बाहिर आएको उनले बताए। ‘सुशासनले भन्दा पनि नयाँ नयाँ काण्डहरुले भ्रष्टाचारका पुराना काण्डहरुलाई ओझेलमा पार्दै गएको छ।,’ सिवाकोटीले भने, ‘संचारमाध्यममा आएका काण्डहरुलाई मात्र समेट्ने हो भने पनि औंलामा गन्न गाह्रो छ। सबै काण्ड शिर्ष नेतृत्व र उनका संरक्षीतहरुकहाँ गएर टुंगिनु चिन्ताको विषय हो।’

केन्द्रीय सदस्य सिवाकोटीले नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकता रहेको बताए। उनले नेपाली कांग्रेसको महाधिवेशन भएको २ बर्ष पुरा भएर तेस्रो बर्षमा लागेको बताउँदै विधानत २०८२ मंसिर भित्र १५ औं महाधिवेशन गर्न अब समयवद्ध कार्यतालिका ल्याउनु ढीलो गर्न नहुने बताए। ४ बर्षे कार्यकालको आधा समय व्यतित गर्दा विधान कार्यान्वयनमा यो कार्यसमिति चुक्दै आएको सिवाकोटीको धारणा छ। केन्द्रीय समितिले पूर्णता पाइसके पनि अझै कोषाध्यक्षको नियुक्तीमा अलमल बुझ्न नसकिएको उनले बताए।

एक बर्षे कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहालले पुरा गरे पनि प्रमले अपेक्षा अनुसारको काम हुन नसकेको बताए। सरकारको मुख्य हिस्सेदार दल काग्रेसका मन्त्रीहरुले समेत काम गर्ने नसकेको आरोप पनि रहेको सिवाकोटीले धारणा राखे। राष्ट्रिय सभाको उमेद्वार र उमेद्वारको लागि मापदण्ड बनाउन माग गरे।

प्रकाशित: १३ पुस २०८० १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App