२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

श्रमको सम्मान गर्न सके मात्र विकास सम्भव: मुख्यमन्त्री कार्की

श्रमको सम्मान गर्न सके मात्र देशको विकास सम्भव हुने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन्। उनले बुधबार विराटनगरमा आयोजित श्रम बजार सूचना प्रणाली श्रम संसारको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

सबै किसिमको श्रमको आआफ्नै महत्त्व हुने हुँदा कुनै पनि श्रमिक वा श्रम ठूलो सानो नहुने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘हाकिमदेखि स्वीपरसम्म सबै आफ्नो ठाउँमा दक्ष हुन्छन्। श्रममा को ठूलो को सानो हुन्छ र ? त्यस कारण श्रमको सम्मान गर्न जरुरी रहेको छ। दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार महत्त्वपूर्ण हुनेछ। यसले हाम्रो श्रम बजारलाई समेत व्यवस्थित गर्दै मानिसको आवश्यकता अनुसार श्रममा लाग्न सक्ने छन्।’

‘मानिसले आफ्नो आवश्यकता अनुसार जहाँ गएर पनि श्रम गर्न सक्ने व्यवस्था छ। श्रमको मूल्य खोज्दै मानिसहरु गाउँबाट सहर हुँदै विदेश जाने गरेका छन्। यहाँका एक थरी मानिसहरू मानिस बिदेसिए देश सकियो भनेर भ्रम फैलाइरहेका छन्’, मुख्यमन्त्री कार्कीले भने, ‘श्रमको जहाँ उचित सम्मान र मूल्य पाउँछन् त्यहाँ जान्छन्। यस परियोजनाले विश्वको श्रम बजारलाई समेत व्यवस्थित बनाउन सक्छ र हामी यसलाई बिस्तार गर्ने छौं।’

रोजगारदाता र रोजगारी खोज्दै आएकाहरूलाई सहज बनाउने गरी श्रम संसार सूचना प्रणालीको विकास गरिएको हो। कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा श्रम सञ्चार शुभारम्भ स्विस कन्ट्याक्ट साथै आसमान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना हो। यस परियोजनाले कोशी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिकाका र दुहबी नगरपालिकालाई आधार बनाएर काम सुरुवात गरेको हो।

यो कार्यक्रम प्रदेशका १ सय ३७ पालिकामा नै पुर्‍याउने योजना रहेको स्विस कन्ट्याक्ट कार्यक्रम अधिकृत सागर चापागाईंले जानकारी दिए।

तीन स्थानीय तहमा हालसम्म ३ हजार ४ सय बढी संस्था तथा व्यक्ति दर्ता भएका छन्। ३ सय बढीले रोजगारीका लागि आवेदन दिँदा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको चापागाईंले बताए।

एप्सबाट बेरोजगार युवालाई रोजगारीमा समेट्नका साथै स्थानीय स्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने विश्वास लिइएको स्विस कन्ट्याक्टका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले बताए।

एप्सलाई व्यवस्थित गर्ने बारेमा कोशी प्रदेश सरकार, स्विस कन्ट्याक्ट र आसमान नेपालबीच त्रिपक्षीय हस्ताक्षर भएको छ।

प्रकाशित: ११ पुस २०८० १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App