२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली र स्वराजबीच के भयो कुराकानी ?

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन्।

भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग विहीबार साँझ भएको भेटमा अध्यक्ष ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताए।

भेटमा उनले भारतसँग घनिष्ठतापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

अध्यक्ष ओलीले नेपालको लोकतान्त्रिकीकरणमा भारतले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अब बन्ने नयाँ सरकार शान्ति र समृद्धिका निम्ति क्रियाशील रहने बताए।

सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा हालै सफलतापूर्वक सम्पन्न भएको निर्वाचनका लागि नेपाली जनतालाई र निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिनुभएको सचिव ज्ञवालीले जानकारी दिए।

निर्वाचनबाट प्राप्त स्पष्ट जनादेशले नेपालमा शान्ति र स्थिरता कायम हुने विचार व्यक्त गर्दै विदेशमन्त्री स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनपछि नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको बताए ।

अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच शुरुमा एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता भएको थियो भने त्यसपछि दुवै पक्षका प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो।

दुईदिने नेपाल भ्रमणका लागि विहीबार काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री स्वराजसँग आजै राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पनि भेटवार्ता गरेका छन्।

विदेशमन्त्री स्वराज भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित: १८ माघ २०७४ १६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App