१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'संघीयतालाई दिगो राख्ने हो भने तोकेको कुरा नबदलौं'

हेटौंडा – प्रदेश नम्बर ३ को अस्थायी केन्द्र हेटौंडा तोकेपछि राजधानी नै कायम होला नहोला भन्ने चासो धेरैले राख्दै आएका छन्। बिहीबारको प्रदेशसभा बैठकमा यो विषयमा प्रदेश सदस्यहरुले सभाको बैठकदेखि पत्रकारहरुसँग आफ्ना कुरा खुलेर राखेका छन्। प्रदेश सदस्यहरुले हेटौंडामा राजधानी अपायक हुनेदेखि एक पटक घोषणा गरेको ठाउँलाई नबदले नै राम्रो भन्ने धारणा राखे।

बैठकमा मन्तव्य दिँदा प्रदेशसभा सदस्य इन्द्र बानियाँले तोकेको केन्द्र हेरफेर गर्न थाले संघीयतालाई नै चुनौती आउने बताए। उनले भने, ‘संघीयतालाई दिगो राख्ने हो, संघीयतालाई अक्षरसं पालना गर्ने हो भने तोकिएको कुरालाई भोलि प्रस्ताव ल्याएर आएर यता र उता नगरौं। त्यसो गरे संघीयतालाई नै ठूलो चुनौती आउन सक्छ। राजधानी तोकेपछि अहिले कतै आगो त बलेन नि। त्यसैले यसलाई नचलाउँ।’

काठमाडौंको चापलाई हेरेर सरकारले हेटौंडामा राजधानी तोक्ने बैज्ञानिक र व्यवहारिक काम गरेको उनले बताए। अपायक हुने भन्ने चर्चाप्रति इंगित गर्दै उनले भने ‘नेपाली सेनाले फाष्ट ट्रयाक बनाउँदै छ। यातायातको हिसाबले हेटौंडा सबैको पहुँचमा छ। प्रविधिले संसारलाई एउटै गाउँ बनायो । मोबाइलले एउटा सानो चीप्समा खुम्च्याएको छ। फाष्ट ट्रयाक र कान्ती राजपथले हेटौंडा सबैको पहुँचमा हुने छ।’

नेपाली काँग्रेसको उम्मेदवार रही मकवानपुरबाट विजयी भएका बानियाँले सडक सञ्जाल र अन्य कुराले हेटौंडालाई प्रदेश राजधानी बनाउनु उपयुक्त हुने तर्क राख्दै गर्दा अन्य जिल्लाबाट आएका सदस्यहरुले आफूहरुले त्यत्ति सहज अनुभव नगरेको बताए। ‘दोलखाबाट काठमाडौं आएर फेरि हेटोंडा आउने गाडी चढेको हो। काठमाडौंबाट यहाँ आउँनै चार घण्टा लाग्यो’ प्रदेश सदस्य रचना खड्काले भनिन्।

काभ्रेका प्रदेश सदस्य रत्न ढकालले स्थायी राजधानीको बारेमा प्रदेश सभा बैठकले निर्णय लिने र संघीयताको मुल मर्मलाई ख्याल राखेर निर्णय लिने बताए। संघीयता भनेको सहजता भएको उनको भनाइ छ। प्रदेश सदस्य रचना खड्काको बिचारमा राजधानी भक्तपुर वा काभ्रेको धुलीखेल सबैलाई सहज हुने थियो। तीन नम्बर प्रदेशमा रहेका १३ जिल्लामध्ये मकवानपु, सिन्धुली र चितवनलाई हेटौंडा सहज हुने देखिन्छ।

चितवनका सदस्यहरुसमेत मकवानपुरको पक्षमा प्रष्टसँग खुलेनन्। चितवनका रामलाल महतोले भने ‘छलफल होला निचोड निस्कला। अहिले नै केही नभनौं। अहिले यो विषयमा म तटस्थ छु।’ मुख्यमन्त्रीको चर्चामा रहेका धादिङका राजेन्द्र पाण्डेले पनि हेटौंडा अपायक छ भन्ने धारणा धेरैले राखेको बताए। तर यसमा आफ्नो केही टिप्पणी नरहेको उनको भनाइ छ।

काडमाडौंकी बेलुमाया घले चार घण्टाभन्दा बढीको यात्रापछि बैठकस्थल आइन् । मिल्दो ठाउँ रोज्नुपर्ने उनले पनि देखेकी छन्। नुवाकोटकी राधिका तमाङ जनतालाई सकस हुने गरेर राजधानी राख्नु संघीयताको मर्म अनुरुप हुँदैन भिनन्। अहिलेको सरकारले संघीयताको मर्मलाई ख्याल नगरी केन्द्र तोकेको उनको भनाइ थियो। सबैभन्दा अपायक हुने रसुवा जिल्ला देखिन्छ। तर त्यहीका सदस्य त्यत्ति असन्तुष्ट देखिएनन्।

‘मलाई रसुवा नै तोके सबैभन्दा राम्रो हुन्थ्यो, पायक पर्दथ्यो। तर केन्द्र त्यसरी तोकिदैन। जहाँ तोकेपनि कोही न कोहीलाई त अपायक पर्छ नै। हेटोंडा तोकेर मलाई अपायक प¥यो भन्दैमा फेर्न नै पर्छ भन्ने भएन। तोकेको ठाउँलाई नै मान्नु पर्छ’ रसुवाबाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमबहादुर तमाङले भने। उनी नयाँ शक्ति पार्टी नेपालबाट विजयी भएका थिए। हेटौंडा आउन उनी बुधबार दिउँसो रसुवाबाट हिँडेका थिए।

प्रदेशको अस्थायी केन्द्र वर्तमान सरकारले तोकेपनि दुई तिहाई सदस्यले निर्णय गरे परिवर्तन हुन सक्छ। ११० सदस्य भएको प्रदेश नम्बर तीनमा सबैभन्दा धेरै ३१ जना काठमाडौं जिल्लाका मात्रै छन्। हेटौंडालाई स्वीकार गर्न सक्ने जिल्ला चितवनका १२ र मकवानपुरका नौ तथा सिन्धुलीका पाँच सभासद् छन्। 

प्रकाशित: १८ माघ २०७४ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App