प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै पनि दबाबमा रहेको बताएका छन्। मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ लाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख देखिए पनि अर्थतन्त्र अझै दबाबमै रहेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने ‘अर्थतन्त्र मन्दीमा छ र गम्भीर संकटमा छ भन्ने त हैन तर, अझैपनि अर्थतन्त्र दबाबमै छ।’ एक वर्षको अनवरत प्रयास पछि अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति देखिएको दाहालले दाबी गरे। महँगी नियन्त्रणका हिसाबले दुई वर्ष यताकै प्रगतिमा रहेको , भुक्तानी सन्तुलनका हिसाबले पनि अहिलेको अवस्था राम्रो रहेको दाहालले बताए। दाहालले निर्माण व्यवसायीको भुक्तानीलाई सरकारले प्राथमिकता दिएको जानकारी दिए। उनले पहिलो चरणको निकासी गरिसकेको र अर्को चरणमा पनि निकासाको प्रक्रिया सुरू भइसकेको बताए। दाहालले निर्माण व्यवसायीलाई भुक्तानी दिएपछि आर्थिक गतिविधि चलायमान हुने र नयाँ योजनाहरू पनि सुरू हुने बताए। अहिले बैङ्कको ब्याजदर घटेर चौध महिना पछि १२ प्रतिशतको हाराहारीमा झरेको दाहालले बताए।
अर्थतन्त्र सुधारका लागि सरकारले चालेको कदमले अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको उनको भनाई छ। आम नागरिक ,व्यवसायीहरूको मनोविज्ञान र व्यवसायीक क्रियाकलाप भने सकारात्मक बनाउने चुनौती अझै पनि रहेको दाहालले बताए। उनले भने,‘केही हुँदैन, केही छैन, केही गर्न सकिँदैन, भन्ने मनोविज्ञानबाट माथि उठेर देश क्रमशः प्रगतिको बाटोमा छ, देशभित्रै केही गर्न सकिन्छ, हामीले नै गर्नुपर्दछ, हामीले नगरे कसले गर्छ भन्ने भाष्य निर्माण अहिलेको चुनौती र कार्यभार हो।’ अर्थतन्त्रमा दबाब छ अझै धेरै गर्न बाँकी छ। विदेश जाने क्रम रोक्न नीतिगत तहमा सोच्न जरुरी छ। अत्यन्त नकारात्मक भाष्य नेपालमा बनाउने फेसन चलेको दाहालले बताए। ‘नेपाल खत्तम छ, नेताहरू खत्तम छन्। यहाँ बस्न उचित छैन भन्ने भाष्यलाई परिवर्तन गर्न आवश्यक छ ’ दाहालले भने।
उनले नकारात्मक भावना ज्यादा भए त्यसले देशको हित हैन देशलाई नै वर्वाद पार्ने बताए। नेपाली जनतालाई निराश तुल्याउने भाष्य निर्माण भए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने दाहालले स्पष्ट पारे। नेपालमा एकथरी मानिस जता पनि अँध्यारो मात्रै देख्ने गरेको आरोप लगाए। दाहालले विराटनगरमा भारतबाट मालवाहक रेल ल्याउने विषयमा सरकारले भारतीय पक्षसँग छलफल गरेर निर्णय लिने जानकारी दिए। उनले कोशी प्रदेका धार्मिक स्थलहरूलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, विराटनगरको चक्रपथ निर्माण, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणलाई सरकारले प्राथमिकता दिने दाहालले प्रतिबद्धता जनाए।
उनले आफ्नो लागि अब देश र जनताको सेवा र विकास बाहेक अर्को कुनै सपना बाँकी नै नभएको उनले बताए। ‘देशमा विद्यमान चुनौतीको सम्बोधनका दृष्टिले मैले गरेका एक वर्षका कारण पर्याप्त छैनन् भन्ने कुरा मलाई महसुस हुन्छ। आगामी दिनमा थप सक्रियताका साथ योजनाबद्ध रुपमा मैले काम गर्ने तयारी गरिरहेकोछु। सरकारको सकारात्मक प्रयासमा सबैको साथ सहयोग र एकबद्धता रहने कुरामा पनि म पूर्ण विश्वस्त छु’ दाहालले भने। उनले एक वर्षको निरन्तरतालाई अब, भङ्ग गरेर अर्को क्रम सुरु गर्ने बताए। उनले पुसबाटै आफ्नो क्रम भङ्ग गरेर नयाँ ढंगेले अघि बढ्न थालेको स्पष्ट पारे।
प्रकाशित: ६ पुस २०८० १३:४० शुक्रबार