८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनः प्रदेश २ मा पाँच निर्विरोध

जनकपुरधाम – राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश नम्बर दुईबाट आठ जना निर्वाचित हुनुपर्नेमा दलित, अल्पसंख्यक तथा महिला समेतगरी पाँच जना निर्विरोध निर्वाचित भएका छन्।

दलितमा रामपृत पासवान, अल्पसंख्यकमा वृषेशचन्द्र लाल र महिलामा मोक्ता यादव, प्रमिलादेवी यादव तथा शशिकला दाहाल निर्वाचित भएका छन्। पासमान र प्रमिला संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए भने वृषेश राजपा, मोक्ताले कांग्रेस र शशिकलाले माओवादी केन्द्रको तर्फबाट मनोनयन दर्ता गराएका थिए।

खुल्ला तर्फ तीनजना सदस्यको लागि चार जनाको उम्मेदवारी परेको छ। खुल्लामा राजपाका रमेश यादव, कांग्रेसका जितेन्द्र देव, एमालेका सुमन प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरु मध्ये कुनै एकले उम्मेदवारी फिर्ता लिए चुनाव गराउनु नपर्ने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाए। तर, कसैले पनि उम्मेदवारी फिर्ता लिने अवस्था देखिदैन।

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि बुधबार सात वटै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ। माघ ११ र १२ गते उम्मेदवार विरुद्ध उजुरी गर्न पाउने, १३ गते उजुरी उपर छानबीन गर्ने, १४ गते दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, सोही दिन दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने र १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यक्रम छ।

प्रकाशित: १० माघ २०७४ १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App