१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बालुवाटारमा ‘गंगाराज'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको एक वर्ष पुग्नै लाग्दा उनको सचिवालयका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्। पार्टी उपमहासचिवसमेत रहेका उनले नीतिगत असहमति जनाउँदै यही मंसिर २० गते प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हुन्।  

‘मैले नीतिगत विषयमा असहमति जनाएर राजीनामा दिएको हुँ,’ नागरिकसँग संक्षिप्त कुराकानी गर्दै गजुरेलले भने, ‘मेरो अन्तरआत्माले अब यहाँ (प्रधानमन्त्रीको सचिवालयमा) नबस् भन्यो।’ जानकार स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयका २० जनामध्ये राजनीतिक नियुक्ति पाएका सदस्यको कुनै पनि काम छैन। त्यहाँ प्रधानमन्त्री दाहालभन्दा उनकी छोरी स्वकीय सचिव गंगा दाहाल सबैभन्दा बढी व्यस्त हुन्छिन्। भेटघाट गराउनेदेखि प्रधानमन्त्रीको समय व्यवस्थापन गराउनेसम्मको भूमिकामा उनको व्यस्तता हुन्छ।  

सुरक्षा निकायका अधिकारीहरूले समेत गंगालाई फोन नगरी प्रधानमन्त्रीसँग भेट गर्न सक्ने अवस्था छैन।

प्रधानमन्त्रीको सचिवालयमा रहेकामध्ये सबैभन्दा ‘सिनियर’ गजुरेल भए पनि उनलाई धेरै विषयवस्तु जानकारी नगराई भित्रबाटै काम फत्ते गरिन्थ्यो। ‘उहाँ (हरिबोल गजुरेल) ले राजीनामा दिनुको एउटा कारण सचिवालयमा रहेका जोकोहीसँग पनि प्रधानमन्त्री पुत्री गंगाले समन्वय गर्न आवश्यक नठान्नु हो। गंगाले अरूलाई घरको कामदारजस्तो व्यवहार गर्ने भएकाले पनि नैतिक रूपमा उहाँ त्यहाँ बस्न सक्नुभएन,’ सचिवालयका एक सदस्यले भने। ती सदस्यका अनुसार कतिपय सन्दर्भमा गंगाका पति जीवन आचार्यले समेत सचिवालयमा हैकम जमाउने गरेका छन्।

कर्मचारीको सरुवा–बढुवा, नीतिगत निर्णयलगायत विषयमा गंगा र आचार्य दुवैले सचिवालयमा हस्तक्षेप गर्दै आएको स्रोतको दाबी छ। सिंहदरबारका कर्मचारी तथा सुरक्षा अधिकारीहरू पनि प्रधानमन्त्रीसँग भेटका लागि उनै गंगाको शरणमा पर्नुपरेको गुनासो आउन थालेको स्रोतको दाबी छ। गजुरेलले सचिवालयका जोकोही सदस्यको भूमिका जस्तो रहे पनि आफूले त्यहाँ बसुन्जेल प्रधानमन्त्रीलाई सहयोग गरेको बताए। ‘कहिलेकाहीं सचिवालयका सदस्यहरूसँग अलिअलि असहमति हुन्छ। त्यो सामान्य विषय हो। मेरो राजीनामा त्यतातिर इंगित होइन। नीतिगत रूपमा भने असहमति छ,’ पार्टी उपमहासचिवसमेत रहेका गजुरेलले भने। सचिवालयका सदस्यले गंगाको आदेश र निर्देशनलाई शिरोपर गर्नुपर्ने भएकाले गजुरेल त्यसमा अटाउन नसकेको स्रोतको दाबी छ। ‘त्यहाँ जेजे पदमा नियुक्ति भए पनि तलब सरकारी खाने हो। आदेश गंगाको मान्ने हो,’ एक सदस्यले भने।  

गजुरेलले राजीनामा दिएपछि उनलाई राष्ट्रियसभा सदस्य बनाउने चर्चा पनि माओवादी केन्द्रभित्र चलेको छ। गजुरेलले भने त्यसलाई ठाडै अस्वीकार गरेका छन्। ‘मैले राजीनामा एउटा विषय उठाएर दिएको छु। त्यसलाई विषयान्तर गर्न र पदलोलुप देखाउन गरिएको हल्ला हो यो। सभामुख बन्न (अघिल्लो प्रतिनिधिसभा) गरिएको अनुरोधलाई अस्वीकार गरेर बसेको मान्छे हुँ। अहिले यस्तो बेलामा गलत प्रचार गरिँदैछ,’ गजुरेलले भने। उनले प्रधानमन्त्रीको सल्लाहकार पनि बन्न नचाहेको तर अप्ठेरो अवस्थामा सहयोग गर्नुपर्छ भन्ने लागेर स्वीकार गरेको बताए। ‘म जतिन्जेल प्रधामन्त्रीको सल्लाहकारमा बसें, इमानदारीपूर्वक काम गरें। राष्ट्रियसभा सदस्य हुने मेरो सोच छैन। आफूले उठाएका विषय सम्बोधन हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने। उनका अनुसार अहिले राजीनामाको विषयलाई विषयान्तर गर्न मात्रै राष्ट्रियसभा सदस्यमा जाने हल्ला चलाइएको हो।

प्रकाशित: २८ मंसिर २०८० ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App