६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अस्ट्रेलियाको एसिटी र काठमाडौं महानगरबीच भगिनी सम्बन्ध कायम

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल अस्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अस्ट्रेलियन दूतावासको संयुक्त निमन्त्रणमा विशेष भ्रमण पूरा गरी स्वदेश फर्किएकी छिन्।

अस्ट्रेलियास्थित सिड्नी, क्यानबेरा, होबर्ट र मेलबर्न सहरहरूको भ्रमण गरी उनी स्वदेश फर्किएको जनाइएको छ। 

भ्रमणका क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन्। उनले  भ्रमण सकारात्मक रहेको बताएकी छिन्। 

खनिज तथा ऊर्जा, कृषि पर्यटनलगायतको अवलोकन भ्रमणका लागि मंसिर ८ गते अष्टे«लिया प्रस्थान गरेकी डङ्गोलले भ्रमणका क्रममा अस्ट्रेलियाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभाग, सामाजिक नीति तथा महिला अन्तर्राष्ट्रिय संलग्नता शाखाका प्रमुख रोचेल हवाईसँग भेट गरेकी छिन्। उक्त भेटमा महिला समावेशिता, संलग्नता र सशक्तीकरण सम्बन्धी कार्यक्रम, विभिन्न क्षेत्रहरूमा महिलाहरूको सहभागिता र लैङ्गिक विषयवस्तुको सुधारबारे छलफल भएको उनले जनाएकी छिन्।

भेटमा एसीटी महिला योजना २०१६ – २०२६ बारे पनि छलफल भएको उनको भनाई छ। भ्रमणका क्रममा एसिटीका मुख्यमन्त्री एण्ड्रियु बार बारसँग भेट गरी काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने विषयसँग सम्बन्धी आवश्यक पहल भएको छ।

अस्ट्रेलियाबिच प्रत्यक्ष हवाई उडान, स्थानीय भाषा र संस्कृति प्रवर्द्धनका लागि स्थानीय पाठ्यक्रमको विकास र निर्माणबारे पनि आवश्यक साझेदारी गर्ने बारे छलफल भएको छ।

सन् २०१७ पछि संभवत पहिलो पटक यसरी जनप्रतिनिधिलाई विशेष महत्त्व दिएर बोलाएको उक्त भ्रमणका क्रममा मानव संशोधन, लैङ्गिक समानता, आधुनिक दास प्रथा विरुद्धको अभियानलगायतका कार्यक्रमका सन्दर्भमा सम्भावित साझेदारी र समन्वय गर्न अस्ट्रेलियाली अन्तर्राष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको थियो।

भेटमा अस्ट्रेलियामा आदिवासी जनजातिको ज्ञान, सीप। मूल्य र मान्यतालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन कसरी गरिएको रहेछ भने ज्ञान आदानप्रदान गरिएको उपप्रमुख डङ्गोलले जानकारी दिइन्।

भ्रमणका क्रममा न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीहरुसँग बैठक र अवलोकन भएको थियो भने उक्त भेटमा ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा फर्काउने टोलीसँग पनि भेट भएको थियो।  ‘सन् १९७१ पछि नेपालबाट गैर कानुनी रुपमा हटाइएको पद्मपनिको मूर्तिलाई न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीले सन् २०१० मा धेरै चरण लगाएर खरिद गरेको रहेछ। उक्त ऐतिहासिक महत्त्व बोकेको पद्मपनिको मुर्तीलाई नेपाल फर्काउने आवश्यक पहल र प्रक्रिया बारे कुराकानी भयो,’ डङ्गोलले भन्नुभयो, ‘त्यसैगरी सिड्नी लोर्डका उपप्रमुख रोबर्ट कोकसँग भेटवार्ता भयो । भेटमा नेपाल र अस्ट्रेलियाका स्थानीय तहहरू बिचको समानता र भिन्नता, स्थानीय न्यायिक समिति, सहरी योजना र विकासका प्राथमिकताको बारे छलफल भयो।’

भ्रमणकै सिलसिलामा उपप्रमुख डङ्गोलले ९उत्तर सिड्नीको० अस्ट्रेलियन क्याथोलिक विश्वविद्यालयमा आयोजित महिला नेतृत्व र कार्यालयमा महिलाको सहभागिताबारे कार्यशालामा सहभागी भएकी थिइन्। ‘अस्ट्रेलियन क्याथोलिक विश्वविद्यालयमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरू रहेको र विभिन्न क्षेत्रहरूमा नेपालको स्थानीय तहसँग साझेदारी र समन्वय गरी विभिन्न कार्यक्रमहरू गर्न इच्छुक रहेको पाइयो,’ उनले भनिन्, ‘काठमाडौं महानगरपालिका र अस्ट्रेलियन क्याथोलिक विश्वविद्यालयबिच गर्न सकिने साझेदारी बारे प्राध्यापक, पुर्वविधार्थी संगठन र महिला उद्यमीसँग सकारात्मक छलफल भयो।’

भ्रमणका सिलसिलामा न्यू साउथ व्हेल्सको निर्देशक र पूर्व अस्ट्रेलियन राजदूत क्रिसपिन कोनरोय र संयुक्त राष्ट्रसङ्घ महिलाकी प्रतिनिधि जेन रोनफेल्डसँग पनि भेटवार्ता भएको थियो। भेटमा दुई देश बिचको दुई पक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र अनुभव आदानप्रदान गर्ने विषयमा केन्द्रित भएको थियो।

युनेस्को क्रिएटिभ सिटी अफ फिल्म सिड्नीको निर्देशक क्यास हेपवोर्थसँग पनि भेट भएको डङ्गोलले जानकारी दिइन्।  ‘काठमाडौं महानगरपालिकालाई पनि युनेस्को क्रिएटिभ सिटीले पुरस्कार प्रदान गरेको हुँदा सिटी अफ फिल्म सिड्नीसँग गुणस्तरीय चलचित्र प्रवर्द्धन गर्न सम्भावित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत रुपमा छलफल भयो,’ उनले भनिन्, ‘उक्त भेट काठमाडौं महानगरपालिकालाई चलचित्र विकासलाई आर्थिक सहयोग गर्न, मार्ग निर्देशन प्रदान गर्न र चलचित्र मेला आयोजना गर्न थप सिकाई भयो। भेटले नयाँ र नविन कला, संस्कृति र नवीनता उद्योग सम्बन्धी नीति तयार गरी स्क्रिन पर्यटनको सम्भावनालाई समेत साकार बनाउन मद्दत गर्ने अनुमान गरेका छौँ।’ 

क्यानबेरा सहरसँगको दुई पक्षीय साझेदारीलाई सुदृढ गर्न विभिन्न अस्ट्रेलियाली सरकारी पदाधिकारीसँग पनि भेट भएको थियो। त्यसैगरी मिडल्याण्ड साउथ र केन्द्रीय एसिया शाखाका सहसचिव स्टिभेन बराक्लोग र एपीएस एयनबीका निर्देशक जो फ्रेडेरीकसेनसँग भेट भएको थियो। भेटमा नेपाली विद्यार्थीको लागि कर्जा, आवास, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन र आदिवासी जनजातिको हित र विकासबारे बृहत् छलफल भएको उनले जानकारी दिइन्।

‘भ्रमणका क्रममा अस्ट्रेलियाली संघीय सरकारका माननीय पिटर खलिलसँग भेट भयो। उक्त भेटमा दुई देश बिचको संघीय प्रणालीबारे छलफल भयो,’ डङ्गोलले भनिन्, ‘भेटमा संघीय अभ्यास प्रभावकारिता र पारदर्शितालाई थप सशक्तीकरण गर्नका लागि सम्भावित साझेदारी र समन्वय बिच छलफल भयो।’

भ्रमणका सिलसिलामा अस्ट्रेलियाली राष्ट्रिय पुँजी प्राधिकरणका कार्यकारी निर्देशक स्याली बार्नेससँग पनि उपमेयर डङ्गोलले भेट गरेकी थिइन्। ‘भेटमा सहरी योजनाको प्राथमिकताहरूको प्रभावकारी ढंगले पहिचान गर्ने पद्धति, निलो – हरियो सञ्जाल, आर्थिक पहुँचको विकास, अवसरको बिस्तार, सहरी विकासका लागि रणनीतिक मार्ग, समावेशी र दिगो समुदायको विकासबारे सम्भावित कार्यक्रम, योजना तर्जुमा र सम्भावित साझेदारीबारे छलफल भयो,’ उनले भनिन्, ‘भ्रमणका क्रममा नेपाली संगठन र नेपाली समुदायसँग भेट गरी नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबारे गहन छलफल भयो। नेपाली युवाहरूको वैदेशिक शिक्षा र बसाइसराइको प्रमुख गन्तव्य बनेको अस्ट्रेलियामा नेपालीको जनसङ्ख्या बढ्दै गएको देखिन्छ। यिनै अवस्थामा काठमाडौँ महानगरलाई शिक्षा, संस्कृति, अन्तर्राष्ट्रिय मामिला र दुई देश बिचको दुई पक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन आगामी दिनमा यस भ्रमणले थोरै भए पनि थप टेवा पुर्‍याउने अपेक्षा लिएको छ।'

प्रकाशित: २५ मंसिर २०८० ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App