१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सचिवालयले भन्यो: स्वार्थ पूरा नभएपछि अमरेश कुमारले झुटको खेती गरे

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले सांसद अमरेश कुमार सिंहले भ्रामक प्रचार र झुटको खेती गर्दै आएको बताएको छ।

सचिवालयका तर्फबाट एक विज्ञप्ति जारी गर्दै अमरेश कुमार सिंहले आफ्नो स्वार्थ पूरा नभएपछि भ्रामक प्रचार र झुटको खेती गर्दै आएको बताएको हो।

सिंहले प्रधानमन्त्रीकी छोरी गंगा दाहालका विषयमा सामाजिक सञ्जालमाफर्त धारणा राखेका थिए। त्यसपछि सचिवालयले त्यसको खण्डन गरेको हो।  

यस्तो छ प्रधानमन्त्रीको सचिवालयको विज्ञप्ति  

मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुटको खेती गर्दै आएका छन्। उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरु भएको तथ्य स्पष्ट नै छ।

उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौँ।

देशलाई ठग्ने उद्देश्यले Ncell बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्ययन र छानबिनको प्रक्रिया अघि बढाइसकेको सबैमा अवगत नै छ।

सम्माननीय प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानबिन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ। छानबिन समितिको अध्ययन र छानबिनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ।

सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतः झुट कपोलकल्पित र व्यक्तिको इज्जत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ।

यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलावद्ध दुस्प्रचार गर्ने गरेको कुरा पनि स्पष्ट गर्न चाहन्छौँ।

सम्माननीय प्रधानमन्त्रीज्यूका सचिवालयका सदस्यहरू सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरू सामना गर्न तयार छौँ।  हामीलाई विश्वास छ, छानबिन समितिले निर्धारित समयमा काम गर्ने छ, सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन्। धन्यवाद।

-प्रम सचिवालय

प्रकाशित: २४ मंसिर २०८० १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App