८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्छ : आयुक्त यादव

विराटनगर (रासस)- प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताएका छन्।

क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको आज विराटनगरमा उद्घाटन गर्दै उनले यसले आयोग शक्तिशाली हुनाका साथै निर्वाचन सम्पन्न गर्न सहजता हुने धारणा व्यक्त गरे।

आयुक्त डा यादवले आगामी माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग आफ्नो काम कार्यवाहीलाई अघि बढाउन बाध्य हुने बताए। उनले प्रदेश प्रमुख नतोकिँदा निर्वाचनसम्बन्धी कानुनी जटिलता उत्पन्न भएकाले चाँडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरे।

आयुक्त डा यादवले प्रदेश प्रमुख नतोकिँदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूची बुझाउने तथा प्रदेशसभा सदस्यले कसरी शपथ लिने भन्ने विषयमा समस्या उत्पन्न भएको बताए। उले निर्वाचन आयोग संविधान सम्बध अगाडि बढिरहेकाले यसप्रति कुनै पनि किसिमको शंका नगर्न आग्रह गर्दै आयोग कसैको पक्षमा नभएकाले यसलाई निर्बाध रुपमा काम दिनुपर्ने बताए।  

आयुक्त डा यादवले राष्ट्रसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा पूर्ण नहुने भन्दै राष्ट्रसभाको निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि बढाइरहेकाले त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए।

विराटनगर महानगरपालिका–१० स्थित सोमबारे हाटमा चार कट्ठा जग्गामा निर्मित तीन तल्ले भवनमा सभा हलसहित जम्मा १२ वटा कोठा छन् । उक्त भवन निर्माणका लागि जम्मा रु एक करोड ४५ लाख खर्च भएको क्षेत्रीय निर्वाचन आयोग विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए।
 

 

प्रकाशित: १ माघ २०७४ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App