२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धन सरकारको विकल्प खोज्ने पक्षमा छैनौं: शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकारको विकल्प नखोज्ने बताएका छन्। 

नेपाल प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार भेटघाटमा शर्माले विशेष परिस्थितिबाट बनेको गठबन्धन सरकारको विकल्प खोजिहाल्ने अवस्था आइनसकेको बताएका हुन्।

‘सरकार ढाल्ने र फाल्ने, वा कसको र किन बनाउने विषयमा कांग्रेस भित्र कुनै बहस र छलफल भएको छैन, महासमिति बैठक र नीति अधिवेशनको सुझावपछि मात्रै के गर्ने भन्ने बारे सोच्न सकिन्छ’ शर्माले भने।

सरकारका सबै काम राम्रो नभएको र केही सच्याउन र सुधार गर्नुपर्ने विषयमा सुझाव दिँदा आलोचना गर्ने विषयलाई विरोध मान्न नहुने शर्माको भनाइ छ।

भूकम्प पीडितको उद्धार, राहत वितरण र टहरा निर्माणका लागि लाग्ने खर्च दिने कुराको निर्णयमा सरकार जिम्मेवार बनेपनि टहरा निर्माणको काममा गम्भीर कमजोरी भइरहेको उनले बताए।

‘कांग्रेस पनि सरकारमा छ, भन्दैमा सबै कमजोरी स्विकार्न र पक्षपोषण गर्न सकिन्न, कुन कुरामा समर्थन र आलोचना गर्ने कांग्रेस त्यसमा प्रष्ट छ, महामन्त्री शर्माले भने।

पाएको जनमत र अधिकारको तीनवटै तहका सरकारले जिम्मेवार ढंगले काम देखाउनु पर्नेमा उनले जोड दिए। ‘सरकार कसको भन्ने नै छैन, कुनै दल सरकार बाहिर छैन, कोही स्थानीय तहको नेतृत्व गरिरहेका छन्, त कोही संघ र प्रदेशको जनताको काम र देशको स्वाभिमानको चिन्ता र सरोकार सबैलाई हुनुपर्छ’ उनी भन्छन्।

समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेलाई लक्षित गर्दै शर्माले मिसन ८४ नभई ८०, ८१, ८२ र ८३ हुनु पर्ने र मिसन भन्दा भिजनको कुरालाई प्राथमिकता दिनु पर्ने धारणा राखेका छन्। ‘पाँच वर्ष केही नगर्ने, र ५ वर्ष पछि एकै पटक चमत्कार गर्छु भन्ने कुरा नै गलत हाे, शर्माले भने।

प्रतिनिधिसभा सदस्य समेत रहेका शर्माले सांसद भएपछि सरकारमा जान हतार गर्ने पक्षमा आफू नरहेको र कुनै दिन मन्त्री र प्रधानमन्त्री बन्ने उद्देश्य बोकेकोले यो कार्यकाल सदन भित्रको संसदीय अभ्यासलाई सिकाइको रुपमा प्रयोग गर्ने बताए।

रिगल रिहाइको प्रंसगमा कुरा गर्दै शर्माले आममाफी दिने निर्णय नै गलत भएको बताए। ‘मैले त्यो बेला नै विरोध गरेको हो’ उनी भन्छन्। उनले न्याय सम्पादन पीडित परिवारको सिफारिसमा गरिनु पर्ने पद्धतिको विकास गर्नुपर्ने धारणा राखे।

नेपाली कांग्रेस बाजुराले आयोजना गरेको जिल्ला आम भेलालाई सम्बोधन गर्न शर्मा पहिलो पटक बाजुरा आएका हुन्।

प्रकाशित: १९ मंसिर २०८० ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App