७ वैशाख २०८१ शुक्रबार
राजनीति

अमरेशको क्षेत्रमा महन्थ ठाकुरलाई प्रमुख अतिथि बनाएपछि...

सर्लाही – प्रमुख अतिथिको रुपमा राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर उपस्थित नभएपछि जिल्ला स्थित बलरा नगरपालिकाको नगर सभा उद्घाटन समारोह मंगलबार सहज रुपमा सम्पन्न भएको छ।

राजपाबाट निर्वाचित नगरपालिकाका मेयर अभय सिंहले राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलाई प्रमुख अतिथिको रुपमा निम्तो गरेपछि उक्त नगरपालिका पर्ने ४ नं. क्षेत्रबाट निर्वाचित एवं बलरा निवासी डा. अमरेश कुमार सिंहसहित उनका समर्थकले विरोध गरेका थिए। राजपा कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच प्रमुख अतिथिकै विषयमा विवाद बढ्दै गएर झडप हुन सक्ने भन्दै उक्त क्षेत्रमा मंगलबार बिहानैदेखि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो।

‘प्रमुख अतिथिकै विवादका कारण अप्रिय घटना नहोस् भन्नेतर्फ सजग भई त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाएका थियौं’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले भने, ‘जे होस् अन्तिम समयमा नेताज्यूहरु आफैले मिलाउनु भएछ र सहज रुपमा नगर सभा उद्घाटन समारोह सम्पन्न भयो।’ झडपको घटना हुन सक्ने भन्दै यसै विषयलाई लिएर सोमबार दिउँसो जिल्ला सुरक्षा समितिको अनौपचारिक बैठक समेत बसेको एक सुरक्षा अधिकारीले जानकारी दिए। स्रोतका अनुसार सुरक्षा अधिकारीहरुले समेत राजपा अध्यक्ष ठाकुरलाई सम्भावित ठूलो झडपका घटना निम्तिन सक्ने भन्दै कार्यक्रममा उपस्थित नहुन आग्रह गरेका थिए।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष ठाकुर स्वास्थ्यको कारण देखाएर नआएपछि प्रतिनिधिसभा सदस्य डा. अमरेश सिंहकै प्रमुख आतिथ्यतामा मंगलबार दिउँसो नगर सभा उद्घाटन समारोह सकिएको छ। ठाकुर नआउने भएपछि सदरमुकाम मलंगवामै भएका राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय लगायत अन्य नेताहरु समेत कार्यक्रममा आएनन्।

‘महन्थ ठाकुरजी स्वास्थ्य समस्याका कारण आउन सक्नु भएन, अमरेश सिंहजीकै प्रमुख आतिथ्यतामा उद्घाटन शत्र सकियोे, अब भोलिदेखि बन्दशत्र सूरु हुनेछ’, बलरा नगरपालिकाका मेयर सिंहले मंगलबार नागरिकसँग भने, ‘जिल्ला निवासी सबै वरिष्ठ नेताजीहरुलाई बोलाएको थिएँ, तर कोही पनि आउनु भएन।’

अघिल्ला निर्वाचनहरुमा सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका राजपा अध्यक्ष ठाकुर यसपटक भने महोत्तरी क्षेत्र नं. ३ बाट विजयी भएका छन्। अर्को जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई प्रमुख अतिथि बनाउन खोजिएको भन्दै कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए। क्षेत्रबाट निर्वाचित र स्वयं बलरा नगरबासी भएकाले डा. अमरेश कुमार सिंहलाई नै प्रमुख अतिथि बनाउनुपर्ने कांग्रेसी कार्यकर्ताहरुको तर्क थियो।

मंगलबार साँझ नागरिकसँग कुरा गर्दै प्रतिनिधि सभा सदस्य डा. सिंहले आप्mनै प्रमुख आतिथ्यतामा नगरसभा उद्घाटन समारोह भएको जानकारी दिए।

प्रमुख अतिथि लगायत विभिन्न विवादका कारण २० स्थानीय तह रहेको सर्लाहीमा आधा भन्दा बढी स्थानीय तहको नगर सभा उद्घाटन सभा नै हुन सकेको छैन भने कतिपयको उद्घाटन सभा सकिएपनि बन्द शत्र हुन सकेको छैन।

प्रकाशित: २५ पुस २०७४ १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App