२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रसाईं समूह तीनकुने र माइतीघरबाट पछि हट्यो,आज सिफलमा आन्दोलन गर्ने

फाइल तस्बिर

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह तीनकुने र माइतीघरमा गर्न खोजिरहेको आन्दोलनबाट पछि हटेको छ।स्थानीय प्रशासन र सुरक्षा निकायले उक्त क्षेत्रमा आन्दोलन गर्न नदिने भएपछि प्रसाईं समूह वैकल्पिक स्थानमा आन्दोलन गर्न राजी भएको छ।

जसअनुसार आज प्रसाईं समूहले काठमाडौंको सिफल चौरमा प्रदर्शन र सभाको आयोजना गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि उक्त ठाउँमा कार्यक्रम गर्न सहमति दिएको प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक वचाउ महाअभियानका सह प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए।

‘प्रशासनसँग सहमतिअनुसार नै ब्याक भएका छौं। तीनकुने र माइतीघरमा उहाँहरूले सहमति नदिने, हामी बल प्रयोग गरेर जाँदा हिंसा हुने देखिएपछि ब्याक हुनुप¥यो,’ माण्डव्यले भने, ‘फेरी हिंसात्मक भए आन्दोलन नै रोकिने सम्भावना भयो। त्यसपछि राज्यले नेतृत्वलाई थुनेर राख्ने, नागरिकलाई बाहिर निस्किन नदिनेजस्तो स्थिती देखियो।’ सिफलमा आज सकेसम्म शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने महाअभियानको चाहना रहेको उनले बताए।

‘हामी हिंसात्मक आन्दोलन चाहन्नौं। राज्यसँग पनि प्रस्ट भनेका छौं। हाम्रो आन्दोलनमा आएका सम्पूर्ण नेपाली नागरिकहरूमा पनि संयम भएर सहभागि भइदिन अनुरोध गर्छौं,’ माण्डव्यले भने।  

स्वयम् प्रसाईंले पनि आज तीनकुनेमा गरिने भनी तय गरीएको कार्यक्रम विशेष प्राविधिक कारणले गर्दा सिफल चौरमा हुने जनाएका छन्। बिहान फेसबुकमा प्रसाईंले अगाडि लेखेका छन्,‘कार्यक्रम सोही समयमा हुने भएकाले सम्पुर्ण नागरिकहरूलाई सिफलचौरमा उपस्थित हुनुहुन अनुरोध गरिन्छ।’

प्रसाईं समूहले अस्ति बिहीबारबाट काठमाडौं उपत्यकामा बृहत नागरिक मुक्ति आन्दोलन नामक आन्दोलन गरिरहेका छ।पहिलो दिन बल्खुमा गरिएको कार्यक्रम निकै तनावपूर्ण भएको थियो। दोस्रो दिन हिजो तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरिएको थियो। जसमा सम्भावित सुरक्षा जोखिम देखेर स्थानीय प्रशासन र सुरक्षा निकायले कार्यक्रम हुन दिएन।

प्रकाशित: ९ मंसिर २०८० ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App