२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जनतालाई दास बनाउने राजा चाहिँदैन: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले जनतालाई दास बनाएर शासन गर्ने राजा अहिलेको आवश्यकता नभएको बताएका छन्।

राजाले दिएको यातना, उसले गरेको कुशासन, उसका गतिविधिबाट जनता आजित बनेर सडकमा ओर्लिएको स्मरण गर्दै महामन्त्री थापाले राजा आउने र ल्याउने बाटो अहिलेको आवश्यकता नभएको बताएका हुन्।

राजाको पालामा भन्दा प्रजातन्त्र आए पश्चात् देशमा धेरै विकास भएको भन्दै उनले अहिले कतिपय तत्त्वले उल्टो पाठ पढाई रहेको बताए। ‘राजा ल्याउने बेमौसमी ढोल पिट्न खोजिएको छ,‘थापाले भने,‘राजा फालिएको राजाकै व्यवहारका कारण हो। पछाडि फर्कनु मूर्खता हुन्छ।’

हुकुमी शैली अबको युगमा सम्भव नभएको भन्दै उनले सिंहदरबारमा बसेर जनतालाई यातना दिएजस्तो सजिलो उनीहरूका आवश्यकता पुरा गर्न नभएको बताए। जनताका आधारभूत आवश्यकता पुरा गर्न नसक्दा यो नैराश्य उत्पन्न भएको पनि उनले बताए। नेपाली काँग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजाले शासन गर्दा देश कङ्गाल बनाएको भन्दै नेता थापाले जनतामा केही भ्रम, केही निराशा र आवेग रहेको बताए।

नेपालमा यो वर्ष इतिहासकै सबैभन्दा बढी पर्यटक भित्रिएको उनको भनाइ छ। भारतलाई बिजुली बेच्ने देखी बङ्गलादेशसँग विद्युत् निर्यात गर्ने सम्झौता, राजको पालामा १८५ डलर प्रतिव्यक्ति आय भएको मुलुक अहिले १ हजार चार सय डलर प्रतिव्यक्ति भएको उनले दाबी गरे। पञ्चायत कालमा एक सय मध्ये ५५ जना गरिबीको रेखा मुनी रहेकोमा अहिले एक सयमा १० जना मात्र गरिबीको रेखा मुनी रहेको उनले बताए। दस अर्ब राजाले बाँड्ने ढुकुटी अहिले १७ खर्ब पुगेको, अहिले वार्षिक १ खर्ब ४७ अर्ब रुपैयाँ वृद्ध भत्ता, स्वास्थ्य बिमा, अपाङ्ग भत्ता गरेर सिधै जनताले पाउने गरेको, २ सय मेगावाट बिजुली रहेको देशमा प्रजातन्त्र आयपछि दुई हजार ७ सय मेगावाट पुगेको थापाको भनाइ छ। राजाको पालामा ७ हजार किलोमिटर सडक रहेकामा अहिले ६० हजार किलोमिटर बाटो पुगेको उनले बताए।    

प्रकाशित: ८ मंसिर २०८० १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App