दाङ- पहिलो संविधानसभामा नेपालको राजधानीबारे दुई विकल्प सारिए । एउटा काठमाडौं र अर्को दाङ । यी विकल्पमै संविधानसभामा प्रश्नावली तयारसमेत भयो । तर प्रश्नावली जनतासम्म पुग्नै पाएन, पहिलो संविधानसभा विघटन भयो । त्यतिबेला नेपालको राजधानीको विकल्पमा चर्चामा ल्याइएको दाङ अहिले प्रदेश नम्बर ५ मा छ । जानकार भन्छन्, ‘एसियाकै ठूलो उपत्यका दाङमा रहनु ५ नम्बर प्रदेशकै लागि गरिमाको विषय हो ।’
‘ऐतिहासिक, धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्रको किास–विस्तार गर्न सके ५ नम्बर प्रदेशको समृद्धि चुलिने छ ।’
आर्थिक, सामाजिक, पर्यटनलगायत अधिक सम्भावना बोकेको प्रदेश हो ५ नम्बर । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएका धार्मिक र पर्यटकीय स्थलहरू यो प्रदेशका समृद्धिका आधार हुन् । समृद्ध प्रदेश निर्माणका लागि यस क्षेत्रमा भएका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र र पूर्वाधारहरूको समुचित विकास भने गर्नुपर्छ ।
पर्यटन
यो प्रदेश पर्यटकीय क्षेत्रका रुपमा पनि चिनिन्छ । यसर्थ, यो प्रदेशको आर्थिक विकासको बलियो आधारका रुपमा पर्यटन क्षेत्रलाई लिन सकिन्छ । गौतम बुद्धको जन्मस्थल यसै क्षेत्रमा पर्छ । कपिलबस्तुको तिलौराकोट र रुपन्देहीको लुम्बिनी यो प्रदेशको मुख्य गहना र समृद्धिको गतिलो आधार हुन् । अन्तर्राष्ट्रियस्तरमै परिचित लुम्बिनी प्रदेश ५ को चिनारी र आर्थिक विकासको मुख्य स्रोत हो । ‘अन्तर्राष्ट्रियस्तरमै पर्यटनकीय स्थलको चर्चा पाएको लुम्बिनी यो प्रदेशमा रहनु समृद्धिको बलियो आधार हो,’ दाङका संस्कृतिविद् शिवकुमार सुवेदी भन्छन्, ‘लुम्बिनीमा अझै बढी पर्यटकलाई कसरी भिœयाउने भन्ने चिन्तन हुन जरुरी छ ।’
यस्तै अर्को पर्यटकीय स्थल प्युठानस्थित स्वर्गद्वारी आश्रम पनि यो प्रदेशको आयस्तरसँग जोडिएको जानकार बताउँछन् । तर लुम्बिनी जति चर्चा पाउन नसक्नु र पर्यटक ल्याउन नसक्नु यसको दुखद पक्ष हो । ‘यसले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन सकेन,’ सुवेदी भन्छन्, ‘त्यसो हुनसके मात्रै ५ नम्बर प्रदेशको आयस्तरको अर्को बलियो ढोका खुल्नेछ ।’ अहिले स्वर्गद्वारीमा आन्तरिकसँगै सीमित भारतीय दर्शनार्थी मात्रै आवतजावत गर्छन् । यो धार्मिक स्थलसम्म पुग्न यातायात सुविधा सहज नहुनु र प्रचारप्रसारमा कमी हुनुले यसको ख्याति अन्तर्राष्ट्रियस्तरमा पु¥याउन नसकिएको हो । ‘स्वर्गद्वारी पुग्नका लागि गतिलो बाटो छैन,’ सुवेदी भन्छन् ‘नत यसको प्रचारप्रसार नै हुनसकेको छ ।’
यीबाहेक यो प्रदेशमा अन्य थुप्रै पर्यटकीय स्थल छन् । जहाँ राज्यको ध्यान पुग्न सकेको देखिन्न । पर्यटकीय हिसाबले अर्घाखाँचीको सुपा देउराली पनि महŒवपूर्ण गन्तव्य बन्नसक्छ । अर्घाखाँची जिल्लामा पर्ने सुपा देउराली अहिले मुख्यतः स्वदेशी पर्यटकका लागि प्रमुख गन्तव्य स्थल बनेको छ । ‘नेपालका अधिकांश जिल्लाबाट पर्यटकहरू सुपा देउराली आउँछन्,’ मन्दिर व्यवस्थापन समिति अध्यक्ष प्रितम थापा भन्छन्, ‘स्वदेशमा यो क्षेत्र धार्र्मिक तथा पर्यटकीय हिसाबले पनि चर्चामा छ, अब विदेशमा पनि प्रचारप्रसार गरिनुपर्छ ।’ यो मन्दिरमा देवीको पूजाआजा गर्नेको घुइँचो लागिरहन्छ । ‘आफ्नो इच्छा पुरा हुने विश्वासाम टाढा टाढाबाट श्रद्धालु यहाँ आउँछन,’ उनले भने, ‘र यसको पुरानो इतिहास पनि यसैसँग जोडिएको छ ।’ सुपा देउरालीबाट माछा पुच्छ«े, धौलागिरी जस्ता हिमशृंखला अवलोक गर्न सकिन्छ । पाल्पाको तानसेनलाई पनि ऐतिहासिक र पर्यटकीय क्षेत्रका रुपमा किास–विस्तार गर्न सकिए ५ नम्बर प्रदेशको समृद्धि चुलिने जानकारको बुझाइ छ । यस्तै यही प्रदेशमा पर्ने गुल्मीमा पनि प्रशस्त पर्यटकीय सम्भावना बोेकेका स्थल छन् भने दाङमै पनि पर्यटन विकासका प्रशस्त सम्भावना र आधार छन् । दाङ देउखुरीको रिहार, धर्नाको धारपानी मन्दिर, पुरन्धारा छहरा पर्यटकको मन खिच्नसक्ने पर्यटकीय स्थल बन्न सक्छन् । घोराही उपमहानगरपालिका–५, धारपानीमा विश्वकै ठूलो दाबी गरिएको त्रिशूल छ । तर पनि प्रचारप्रसार अभावमा यो बाह्य पर्यटकको आकर्षणमा पर्न सकेको छैन ।
संस्कृतिविद् सुवेदी भन्छन् ‘पर्यटनका प्रशस्त आधार ५ नम्बर प्रदेशमा छन् तर लगानी र प्रचारप्रसार अभावमा गुमनाम छन् ।’
दाङ प्यारागलाइडिङ उडानका लागि सम्भावना बोकेको जिल्ला पनि हो । विगतमा दाङको पहाडी क्षेत्र लक्ष्मीपुरमा गरिएको प्यारागलाइडिङ उडान अभ्यास सफलसमेत भएको थियो । तर यसले निरन्तरता पाउन सकेन । प्यारागलाइडिङ आर्थिकस्तर बढाउने एक अर्को सशक्त उपाय बन्न सक्छ ।
यसै प्रदेशमा पर्ने रोल्पामा पनि प्रशस्त पर्यटकीय स्थल छन् । रोल्पाको उच्च पहाडी भेकमा रहेको जलजला प्रमुख पर्यटकीय थलो बन्नसक्छ । यहाँको मनोरम दृष्यले मन लोभ्याउने भए पनि यसको विकासमा देखिएको शून्यताले जलजला गुमनामै बनेर बसेको वर्षाैंदेखि । जलजला जलजलाभन्दा बाहिर चिनिन नसक्नु ज्यादै दुखद भएको नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुन बताउँछन् । सडकले नछोएको जलजला पुग्न मोटरबाटो छाडेपछि कम्तीमा साढे दुई घण्टा पैदल हिँड्नुपर्छ । ‘सडकले जलजलालाई जोड्न सकियो भने मात्रै यसलाई पर्यटकीय स्थलका रुपमा देशविदेश चिनाउन सकिन्थ्योे,’ उनले भने, ‘जलजलाई पर्यटकीय गन्तव्यका रुपमा प्रचार गर्न सबै एकभएर लाग्न जरुरी छ ।’
उद्योग
प्रदेश ५ को रुपन्देहीलाई देशकै ठूलो औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । अहिले पनि यो औद्योगिक नगरीका रुपमा चिनिएकै छ । यस्तै बाँके पनि यो प्रदेशको अर्को औद्योगिक पहिचान बनाएको जिल्ला हो । बाँकेको नेपालगन्जमा औद्योगिक विकास अझै द्रुत गतिमा अघि बढाउन सके यो प्रदेश ५ को औद्योगिक करिडोर बन्नसक्ने सम्भावना छ । जानकारका अनुसार रुपन्देही र बाँके प्रदेश ५ का प्रमुख आर्थिक समृद्धि बोकेका जिल्ला हुन् । औद्योगिक क्षेत्रको अझै विस्तार हुन सके भोलि यी दुवै क्षेत्र अन्तर्राष्ट्रिय प्रमुख व्यापारिक केन्द्रकै रुपमा चिनिन सक्छन् । भैरहवाले पनि प्रदेश ५ को प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना राख्छ । भैरहवामा अहिले ठूला उद्योग दुईसयको हाराहारीमा छन् । ‘बाँके र रुपन्देहीलाई प्रदेशकै प्रमुख औद्योगिक सहरका रुपमा विकास गर्ने लक्ष लिएको छु,’ दाङबाट प्रदेशसभा सदस्यमा विजयी शंकर पोख्रेल भन्छन्, ‘ठूलठला उद्योग स्थापना गरेर यो प्रदेशको आर्थिक स्रोतको बलियो मेरुदण्डको रुपमा ती सहरलाई विकसित गरिनेछ ।’
प्रदेश ५ लाई औद्योगिक हब बनाउने प्रशस्त आधार छन् । यसका लागि भएका पूर्वाधार संरक्षण गर्दै थप्दै जानुपर्छ । ‘रुपन्देही र बाँकेलाई औद्योगिक क्षेत्रका रुपमा अधिकतम विकास गरिनुपर्छ,’ पूर्वसांसद अनिता देवकोटाले भनिन्, ‘यी दुई जिल्लाको औद्योगिक विकासले ५ नम्बर प्रदेशको आर्थिकस्तर धेरै माथि पुग्न सक्छ ।’ त्यसो त दाङ पनि पछिल्लो समय औद्योगिक गतिमा लागेको छ । दाङमा अहिले दुइटा ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने थप दुइटा सञ्चालनको तयारीमा छन् ।
प्राकृतिक स्रोत
आर्थिक स्रोतको अर्को पाटो प्राकृतिक स्रोत पनि ५ नम्बर प्रदेशमा पर्याप्त देख्न सकिन्छ । तीन ठूला नदी यो प्रदेशमा छन् । दाङको राप्ती र बबई तथा रुपन्देहीको तिनाउ । यी तीन नदीको पानी सिँचाइ र बिजुली उत्पादनमा प्रयोग गर्र्न सके पनि पाँच नम्बरको आर्थिक उन्नति गर्न सकिने जानकार बताउँछन् । यसैगरी यो प्रदेशको सीमा भएर कालीगण्डकी नदी बग्छ ।
खानी
यहाँका विभिन्न क्षेत्रमा रहेका खनीज पदार्थ उत्खनन गर्न सके पर्याप्त आम्दान गर्न सकिन्छ । दाङकै सन्दर्भमा हेर्ने हो भने उत्तरी भेकमा रहेको महाभारत पहाडमा प्रशस्त चुन र कोइलाखानी छ । अर्घाखाँची, रोल्पा, गुल्मी, तानसेनलगायत जिल्लाको गर्भमा रहेका खानी उत्खनन गर्न सके यो प्रदेश समृद्ध हुन बेर नलाग्ने जानकार बताउँछन् ।
कृषि
कृषि पनि यो प्रदेशको सृमद्धिको आधार बन्न सक्छ । व्यावसायिक कृषिमा जोड दिनसके अन्न, फदफूल, तरकारीलगायत उत्पादन गरी निर्यातसम्म गर्न सकिन्छ । पछिल्लो समयमा खेतीयोग्य जमिन मासेर घडेरीका लागि प्लटिङ गर्ने प्रवृत्ति तराइका जिल्ला बढ्दै गएको छ । यसलाई रोकेर कृषियोग्य भूमि जोगाउनुपर्छ । रुपन्देही, दाङ, बाँके, बर्दिया, कपिलबस्तु यो प्रदेशका अन्न भण्डार क्षेत्रका रुपमा चिनिन्छन् । भैरहवा उद्योग वाणिज्य संघका अनुसार भैरहवा र बुटवलबाटै कृषि उत्पादन अन्य जिल्लासम्म निर्यात हुन्छ । हालसम्मको कृषि विकास सन्तोषजनक भए पनि अब यसलाई सशक्त ढंगले अघि बढाउनुपर्छ । कृषि क्षेत्रप्रतिको वितृष्णा कम गर्न आधुनिक प्रणालीबाट खेती गर्न प्रोत्साहन गर्न सके भविष्य राम्रमो छ । ‘यो प्रदेशको धेरै खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै छ,’ प्रदेशसभा सदस्य ईन्द्रजित चौधरी भन्छन्, ‘सिँचाइको बृहत्तर योजना सञ्चालन गरेर यहाँको कृषि क्षेत्रको विकासमा ध्यान दिइनेछ ।’ सुन्तला, अदुवा, कफीको पनि पकेट क्षेत्र मानिने ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छ ।
प्रकाशित: १४ पुस २०७४ ०२:११ शुक्रबार