२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

बाँके र बर्दियामा पाटेबाघ गणना सुरु

बर्दिया- बाँके र बर्दियामा रहेका पाटेबाघको गणना शनिबार सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्वारामा बनदेवीको पूजा गरेर बाघ गणना सुरु गरिएको छ । बाँके र बर्दिया निकुञ्ज कार्यालयले जारी गरेको संयुक्त विज्ञप्तिमा बाघ गणना सुरु भएको उल्लेख छ । प्राविधिकहरूले बाँके र बर्दिया निकुञ्जका ६  सय ६८ ग्रिडमा बाँडेर बाघ गणना गर्न थालेका छन् । बाँके र बर्दिया कम्प्लेक्सअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र, खाता र कर्णाली जैविक मार्ग तथा आसपास क्षेत्र र बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, कम्दी जैविक मार्गलगायतका क्षेत्रमा ३ ब्लक बाघ गणना गरिने योजना छ । बाघ गणना फागुन १ मा सम्पन्न हुने अनुमान छ । गणना कार्यमा  ६ हजार ७ सय ८० जना गणक परिचालित हुने निकुञ्जले जनाएको छ ।
गणकले बाघको फोटो खिच्न स्वचालित क्यामरा, सन्टो कम्पास, रेन्ज फाइन्ड, जिपिएसलगायतका उपकरणको सहायतामा  बाघ गणना गर्नेछन् । प्राविधिकहरूले क्यामरा ट्यापमा पर्ने बाघ र पदचिह्न अनुगमन गर्नेछन् । गणना कार्यको तीन महिनामा पाटेबाघको तथ्यांक पत्ता लाग्ने अनुमान छ । बाघ गणनासँगै आहारा र प्रजातिको स्थिति गणना हुने निकुञ्जका संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।
बाघ गणनाको प्रविधि महँगो छ । गणनामा क्यामराबाहेक १ करोड बढी रुपैयाँ खर्च हुने अनुमान छ । गणनामा डब्लुडब्लुएफ नेपाल, जेठएसएल र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग रहेको छ ।
सरकारले वन्यजन्तुको बासस्थान विस्तार र जैविक मार्ग बढाउन, चुरे क्षेत्रको संरक्षण गर्न र बाघको संख्या वृद्धि गर्न ०६७ वैशाख ३० गते ५ सय ५० वर्ग किमिको बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र घोषणा गरेको हो । दुई राष्ट्रिय निकुञ्ज जोडिएर  क्षेत्रफल बढेपछि बाघको संख्या बढेको कर्मचारीको अनुमान छ ।  
नेपालमा सन् १९९५÷९६ मा वयस्क बाघको संख्या ९३ देखि ९७ रहेकोमा सन् २००९ मा यो संख्या बढेर १ सय २१ पुगेको र सन् २०१३ मा १ सय ९८ वटा रहेको तथ्यांक छ । २०१० मा रूसमा भएको सम्मेलनले सन् २०२२ सम्म बाघ पाइने १३ देशमा दोब्बर वृद्धि गर्ने प्रतिबद्धता जनाएयता नेपालमा बाघको संरक्षण र बासस्थान विस्तारमा चासो देखाइएको हो ।

प्रकाशित: २ पुस २०७४ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App