१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

राजपा घोषणापत्रको पार्टीभित्रै विरोध

काठमाडा– राष्ट्रिय जनता पार्टी नेपालले तराईमधेस एउटा छुट्टै राष्ट्र भएको व्याख्या गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा राजपाले गरेको यस्तो व्याख्यालाई राजपाभित्रकै केही नेताहरूले आपत्ति जनाएका छन् ।
राजपाले गत बिहीबार महोत्तरीको जलेश्वरमा घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्रमा एक राज्य एक राष्ट्र हुनैपर्छ भन्ने भन्ने धारणा आदर्शवादी भए पनि व्यावहारिक नभएको उल्लेख छ । राजपाले नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कतिक र बहुराष्ट्रिय देश भनेको छ ।
राष्ट्रियताका सन्दर्भमा गरिएको व्याख्यालाई राजपाकै नेताहरूले विरोध गरेका छन् । घोषणापत्रमा मधेसलाई छुट्टै राष्ट्र भनी परिभाषा गर्नु सान्दर्भिक नभएको उनीहरूले जनाएका छन् । राजपा महासचिव केशव झाले भने, ‘घोषणापत्रमा नेपाललाई बाइसे, चौबिसे राज्य खोजेको जस्तो देखियो जुन आवश्यक छैन ।’ राष्ट्रियता बलियो बनाउन नेपाल संघीयतामा गइसकेको उनले बताए । उनले भने, ‘मधेस एक छुट्टै राष्ट्र होइन । मधेसलाई छुट्टै राष्ट्रका रूपमा व्याख्या गरिनु हँुदैन । नेपालको विविधतालाई व्याख्या गरेर बहुराष्ट्रिय भन्ने हो भने पनि मधेस पनि बहुराष्ट्रिय हो । मधेसभित्र पनि विविधता छ । ’
यसैगरी, राजपाबाट प्रत्यक्ष  चुनाव लडेका एक शीर्ष नेताले भने, ‘अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले यसअघि सार्वजनिक कार्यक्रममा जेजे बोल्नुहुन्थ्यो । उहाँले त्यही कुरालाई घोषणापत्रमा राख्न्नुभयो, जुन आवश्यक थिएन ।’ आफू चुनावको संघारमा भएकाले नाम खुलाउन नचाहेको पनि उनले बताए ।
राजपा घोषणापत्रको प्रस्तावनामा भनिएको छ, ‘नेपालको दक्षिणतिरको समथर भूमिमा बस्ने मधेसी, थारू, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली हुन् तर ती सामूहिक रुपमा आफंैमा एक राष्ट्र पनि हो, जसको निश्चित भूगोल, समान जीवन पद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान छ ।’ घोषणापत्रमा राष्ट्र एकै भए पनि देश फरक हुने व्याख्या गरिएको छ । घोषणापत्रमा भनिएको छ, ‘भारतको दार्जिलिङ, सिक्किम, आसाम आदिमा बस्ने खस भाषाभाषी हुन् वा नेपालमा बस्ने खस भाषाभाषी, संस्कृति, विचार एवं चालचलनका आधारमा एकै राष्ट्र हुन् तर तिनीहरुको देश फरक छ ।’
स्रोतका अनुसार राजपा घोषणापत्र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफैं तयार गरेका हुन् । घोषणापत्र तयार गर्न उनी पाँच दिन काठमाडांैमै बसेका थिए । उनलाई राजपाका वृशेषचन्द्र लाललगायतका केही नेताहरूले सहयोग गरेका थिए । यसअघि, राजपाले घोषणापत्र बनाउन पार्टीको सचिवालयलाई जिम्मेवारी दिएको थियो । सचिवालयमा रहेका ६ सदस्य नेताहरू चुनावमा व्यस्त रहेपछि घोषणापत्र बनाउन ठाकुर आफंै अघि सरेका थिए ।
घोषणापत्रमा समेट्ने विषयवस्तुबारे पनि उनले पार्टीका अन्य नेतासँग छलफल गरेका थिएनन् । यतिसम्म कि, घोषणापत्र सार्वजनिक कार्यक्रममा पनि राजपाका अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ४ सदस्य उपस्थित भएनन् । घोषणापत्र सार्वजनिक गर्ने दिन गत बिहीबार शरत्सिंह भण्डारी महोत्तरीमै थिए तर पनि  घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमबारे उनलाई जानकारी गराइएन । यसैगरी महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव पनि घोषणापत्र सार्वजनिक कार्यक्रममा उपस्थित भएनन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा  अध्यक्ष मण्डलका सदस्यमध्ये ठाकुर र राजेन्द्र महतो मात्र उपस्थित थिए । अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले घोषणापत्र बनाउने बेलामा सामान्य छलफल भएको बताए ।

‘माओवादी लोपोन्मुख, एमाले दुईजिब्रे’
घोषणापत्रमा एमाले र माओवादीको कडा आलोचना गरिएको छ । माओवादीलाई लोपोन्मुख पार्टी भनिएको छ भने एमालेलाई दुईजिब्रे पार्टी भनिएको छ । घोषणापत्र  जनताको हातमा पुग्दासम्म माओवादी केन्द्र कुन नामले चिनिने, कुन स्वरूप वा आकारमा भेटिने वा नभेटिने वा फेरि कुनै अर्को पार्टीमा विलय हुने हो कि भन्ने निश्चित नभएको घोषणापत्रमा उल्लेख छ । घोषणा पत्रमा भनिएको छ,  ‘जन्मदेखि नै अनेकौं पटक संगठनको नाम र नेतृत्वमा परिवर्तन गरेको, कुनै पनि मुद्दामा टिक्न नसकेको, पटकपटक आन्दोलनमा जाने तर बिनाकारण फेरि पर्किने, द्रुत गतिमा सहयात्री दलहरु फेरिरहने, स्वरमा ठूलो तर शासनकालमा अत्यन्त फितलो भइदिने र हालका दिनमा आफ्नो अस्तित्व नै मेटेर अर्को दलमा समाहित हुने तयारीमा रहेको अत्यन्तै अस्थिर, अचम्मको र लोपोन्मुख दल हो माओवादी केन्द्र ।’
यसैगरी एमालेलाई सत्ताका लागि राजनीति गर्ने र सत्ता प्राप्ति वा सत्तामा रहिरहनका लागि जोसँग पनि जुनसुकै मूल्यमा जतिबेला पनि तालमेल गर्न तयार रहेको पार्टी भएको घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा एमाले र माओवादीका तुलनामा नेपाली कांग्रे प्रति लचक देखिएको छ ।

प्रकाशित: १२ मंसिर २०७४ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App