१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

‘सर्वोच्चको आदेश र पीडितका आवश्यकता अनुसार सहयोग गर्न राष्ट्रसङ्घ तयार छ’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सक्रमणकालिन न्यायले पीडित परिवार र समुदायमा शान्ति ल्याउन मद्दत पुग्नुपर्ने बताएका छन्।

उनले संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रिया विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न नेपाललाई सहयोग गर्न तयार रहेको पनि बताए।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेपछि उक्त कुरा बताएका हुन।

महासचिव गुटेरेसले विगत बिस वर्षमा नेपालमा आश्चर्यजनक रूपमा विकास भएको उल्लेख गर्दै भने, ‘तपाईँहरूले गणतन्त्र स्थापना गर्नुभयो, शान्ति स्थापना गर्नुभयो। र, दिगो विकासका लक्ष्य र जलवायु सम्बन्धी कार्य गरिरहनु भएको छ।’

नेपाल अति कम विकसित देशको हैसियतबाट माथि उक्लिने तयारीमा रहेकाले आगामी केही वर्ष नेपालका लागि निर्णायक हुने उनले बताए। शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा रहेकाले पनि आगामी केही वर्ष निर्णायक हुने उनको भनाई थियो।

महासचिव गुटेरेसका अनुसार नेपाल पनि आफूले सिर्जना नगरेको विश्वव्यापी सङ्कटको आँधीमा फसेको उल्लेख गरे। ‘कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु सङ्कटले निम्त्याएको खतराको परिणामबाट नेपाल पनि प्रभावित भयो’, उनले भने।

महासचिव गुटेरेसले विकसित देशहरूले दिगो विकासलाई समर्थन गर्न र जलवायु सङ्कटसँग जुध्न नेपाललगायत विकासशील अर्थतन्त्रहरूलाई सहयोग गरेर अघि बढ्नुपर्ने बताए।

‘यस यात्रामा, म हिमालयहरूको भ्रमण गर्नेछु र हिमनदीहरूमा जलवायु सङ्कटको भयावह प्रभावहरू आफैँ हेर्न जान्छु। स्थिति नाजुक छ र यो द्रुत गतिमा छ। नेपालले तीस वर्षको अवधिमा झन्डै एक तिहाइ हिउँ गुमाएको छ’, उनले भने।

महासचिव गुटेरेसले हिमनदीहरू दुत गतिमा पग्लिरहेको उल्लेख गर्दै भने, ‘समुदायहरूमा विनाशकारी प्रभाव परेको छ र म हिमाली क्षेत्रमा बसोबास गरिरहेका स्थानीयहरूलाई भेट्नेछु। उनीहरूबाटै उनीहरू कसरी प्रभावित छन् भनेर प्रत्यक्ष सुन्नेछु। भगवान् बुद्धको शान्ति र अहिंसाको शिक्षालाई प्रतिबिम्बित गर्नका लागि म पोखरा र लुम्बिनीको यात्रा पनि गर्नेछु’, उनले भने।

महासचिव गुटेरेसले आफू नेपालका समस्या समाधानका लागि राष्ट्रसङ्घ र नेपालले कसरी मिलेर काम गर्न सक्छन् भनेर अन्वेषण गर्न चाहेको पनि बताए। ‘विद्यमान समस्या समाधान गर्न, सम्भावनाहरूको खोजी गर्न र अन्तर्राष्ट्रिय समर्थनमा सुधार गर्नका लागि अझ बढी मिलेर कसरी काम गर्न सकिन्छ भनेर अन्वेषण गर्न चाहन्छु’, उनले भने, ‘किनभने नेपाल विश्वको मित्र भए पनि विश्व नेपालका लागि असल मित्र हुनुपर्छ। मिलेर काम गर्दा हामी यसलाई वास्तविक बनाउन सक्छौँ।’

प्रकाशित: १२ कार्तिक २०८० ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App