२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यसरी जिल्लिए दाहाल

‘कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले। तलबाट हाम्रा सभापतिले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो। कुरा नचल्नेहरूको कुरा चल्न सुरु भयो भने यहाँको यात्राचाहिँ कतातिर चल्छ होला ? सम्माननीय प्रधानमन्त्रीज्यू।’ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक प्रतिनिधिसभामा गत फागुन ३० गते विश्वासको मत लिँदै गर्दा दिएको अभिव्यक्तिको एक अंश हो।

२०७९ मंसिरमा निर्वाचन भएपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तेस्रोपटक विश्वासको मत लिँदै गर्दा कांग्रेस महामन्त्री शर्माले अब कांग्रेस र एमाले मिलेर अघि बढ्ने दिन आउने सक्ने संकेत गरेको यो अभिव्यक्तिबाट बुझिन्छ। प्रतिनिधिसभामा उपस्थितिका हिसाबले पहिलो कांग्रेस र दोस्रो एमालेलाई धोका दिएर सत्ता लम्ब्याउँदै आएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै कांग्रेस महामन्त्री शर्माले दिएको यो अभिव्यक्ति अहिले आएर सही साबित भएको छ। प्रतिनिधिसभामा सिटका हिसाबले माओवादी केन्द्र तेस्रो ठुलो दल हो।

दाहालबाट धोका खाएकाहरू एक ठाउँमा उभिने दिन आउन बेर नलाग्ने भन्दै शर्माले दिएको अभिव्यक्तिलाई त्यतिबेला माओवादी केन्द्रका नेताले सत्ताच्युत हुनुपर्दाको आक्रोश र रोदनको संज्ञा दिएका थिए। तर चार महिना नपुग्दै प्रतिनिधिसभाका दुई ठुला दल कांग्रेस र एमाले एकै ठाउँमा उभिन तयार भएका छन्। उनीहरू सत्ता सहकार्यदेखि संविधान संशोधनलगायत मुलुकमा देखिएका समस्या समाधानमा मिलेर अघि बढ्न राजी भएका छन्।

अब मिलेर सरकार बनाउने र आलोपालो नेतृत्व गर्नेसहितका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातिमा सहमति गरेका छन्। ठुला दुई दलबीच भएको यो सहमतिबाट प्रधानमन्त्री दाहाल नराम्रोसँग पछारिने अवस्थामा पुगेका छन्।

दाहाल एमालेसँग नमिल्दा कांग्रेससँग टाँसिने र कांग्रेससँग बार्गेनिङ गर्न परे एमालेसँग जोडिँदै आएका थिए । उनले प्रतिनिधिसभामा माओवादीको ३२ सिटलाई ‘आफ्नो नम्बरको जादु’ बताउँदै आएका थिए। कहिले कता र कहिले कता ढल्केर पाँच वर्ष सरकारमा रहिरहने दाहालको दाउ सोमबार राति कांग्रेर र एमालेबीच भएको सहमतिले चकनानाचुर हुन पुगेको छ। संवैधानिक व्यवस्थाअनुसार दाहाल अझै एक महिना सरकारमा रहन सक्छन्। दाहाल नेतृत्वको सरकारबाट एमाले फिर्ता भएपछि उनले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

दाहाल प्रधानमन्त्रीबाट राजीनामा गर्नुको साटो संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा गएर सामना गर्ने तयारीमा छन् । माओवादी केन्द्रको मंगलबार बिहान बसेको बैठकपछि दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवासमा भेटेर विश्वासको मत लिने बाटो रोज्ने संकेत दिएका छन्। २०७९ पुस १० गते प्रधानमन्त्री बनेका दाहालले अहिलेसम्म चारपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्। कांग्रेस र एमालेले मिलेर सरकार चलाउने समझदारी गरेकाले अब दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत पाउने अवस्था देखिँदैन।  

कांग्रेस र एमाले पछिल्लो समझदारीमा कायमै रहेको अवस्थामा झन्डै आठ वर्षपछि मुलुकका दुई ठुला र पुराना दल मिलेर सरकार गठन हुनेछ। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा एमालेसमेत सम्मिलित सरकार गठन भएको थियो। कोइराला नेतृत्वको सरकारका पालामा २०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको थियो। 

संविधान जारी भएपछि एमाले, माओवादीसहितका दलहरूको समर्थनमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थि। त्यसपछिका झन्डै आठ वर्ष कांग्रेस र एमाले दुई किनारामा उभिए । यी दुई ठुला दलका शीर्ष नेताहरूमा देखिएको ‘इगो’ले तेस्रो ठुलो दल माओवादी सत्ता राजनीतिमा हाबी हुँदै आयो। माओवादी सत्ता राजनीतिमा हाबी हुँदा मुलुकमा आर्थिक विकास र राजनीतिक स्थायित्व हुन नसकेको बुझाइमा पुगेका कांग्रेस र एमालेका शीर्ष नेता अब आलोपालो सरकारको नेतृत्व गर्न तयार भएका हुन्।  

कांग्रेस पदाधिकारीको मंगलबार बिहान बसेको बैठकमा एमालेसँग सहमति निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका नेता रमेश लेखकले माओवादीले पटकपटक धोका दिँदा यस्तो अवस्था आएको बताएका छन्। मुलुकलाई निकास र राजनीतिक स्थिायित्व दिन एकैठाउँमा उभिनुपर्ने अवस्थामा कांग्रेस र एमाले पुगेको लेखकले पदाधिकारी बैठकमा जानकारी गराएका थिए।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनताको चासो र चिन्तालाई केन्द्रमा राखेर एमालेसँग एउटा सहमतिमा पुगेको दाबी गरे। ‘संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्दै आर्थिक स्थायित्व, विकास निर्माणमा देखिएको अन्योल अन्त्यका लागि अघि बढ्न दुई दलबीच सरकार निर्माण गरेर अघि बढ्ने समझदारी बनेको हो,’ महतले भने।

कांग्रेस र एमाले आवश्यकताअनुसार अन्य दललाई पनि समेटेर राष्ट्रिय सहमतिको सरकार निर्माणमा पनि लाग्ने उनले बताए। सुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने मोटामोटी समझदारी भएको जानकारी उनले दिए। एमालेसँग सोमबार राति भएको सहमतिलाई अनुमोदन गर्न कांग्रेसले बुधबार बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ।  

एमाले महासचिव शंकर पोखरेलले पनि राजनीतिक स्थायित्वका लागि संविधान संशोधनसहितका काम अघि बढाउन ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन लागेको बताएका छन्। कांग्रेससँग सहकार्य पहलमा सक्रिय रहेका पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जालमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलागयतका विषयमा कांग्रेससँग समझदारी भएको उल्लेख गरेका छन्। 

‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरूपका कानुनसमेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी। यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने,’ पोखरेलले लेखेका छन्।

पछिल्लो संसदीय निर्वाचनपछिका करिब डेढ वर्षमा माओवादीबाट धोका पाएका कांग्रेस र एमालेका शीर्ष नेताले सोमबार राति अर्को निर्वाचनसम्म सहकार्य गर्ने सहमति गरेका हुन्। निर्वाचन प्रणालीलगायत संविधान संशोधनका लागि आयोग गठन गर्न सहमत दुई दलबीच सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित नौ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने समझदारी बनेको छ। कांग्रेसले सरकारको नेतृत्व गर्दा पनि अर्थसहित नौ मन्त्रालय लिने र एमालेले गृहसहित १० मन्त्रालय पाउने छ।  

उद्यमी रामेश्वर थापाको काठमाडौं चपलीहाइटस्थित घर पुगेर रोमबार राति सहमतिपत्रमा हस्ताक्षर गरेका दुई दलका नेतालाई सहमतिमा ल्याउन कांग्रेस सांसदसमेत रहेका उद्योगी विनोद चौधरीले पनि भूमिका निर्वाह गरेको निकट स्रोतको दाबी छ।

प्रतिनिधिसभालाई प्रत्यक्ष, राष्ट्रियसभालाई पूर्ण समानुपातिक बनाउने, उपराष्ट्रपतिलाई राष्ट्रिसभाको अध्यक्ष बनाउने, प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सिट संख्याबारे पुनर्विचार गर्ने, पालिकाको संख्या ७ सय ५३ बाट घटाएर वडाको संख्या बढाउने, प्रदेशसभामा समानुपातिक प्रतिनिधित्वको प्रावधान हटाएर प्रत्यक्ष मात्र बनाउनेलगायत विषयमा कांग्रेस र एमालेबीच सहमति भएको निकट स्रोतको दाबी छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधमा नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिको स्वागत गरेको छ ।

प्रकाशित: १९ असार २०८१ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App