१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रसंघमा नेपालको मतले इजरायल बेखुसी

नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा शुक्रबार भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरूले जस्तै गरी इजरायल–हमास द्वन्द्वका क्रममा तत्काल मानवीय युद्धविरामको पक्षमा मतदान गरेको छ । 

राष्ट्रसंघीय प्रस्ताव ‘नागरिकको संरक्षण र कानुनी तथा मानवीय प्रतिबद्धता कार्यान्वयन’को पक्षमा १२० मुलुकले समर्थन गरेका छन् भने १४ मुलुक यसविपरीत गएका छन् भने ४५ वटा मुलुक अनुपस्थित छन् । जोर्डनले मस्यौदा गरेको उक्त प्रस्तावको पक्षमा भारत अनुपस्थित थियो भने अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानलगायतका १२० मुलुकले राष्ट्रसंघीय महासभाको प्रस्तावको पक्षमा मतदान गरेका हुन् । कूटनीतिक स्रोतका अनुसार नेपालले आतंकवादविरुद्धको लडाइँमा समर्थन नगरेकोप्रति इजरायलले नेपालको निर्णयविरुद्ध असन्तुष्टि जनाएको छ ।

अक्टोबर ७ मा हमासको आक्रमणमा परी १० नेपाली नागरिकसहित १४ सय इजरायली सर्वसाधारणको मृत्यु भएको थियो । इजरायलले पछिल्ला दिनमा प्यालेस्टाइनमा हमास आश्रयस्थल ध्वस्त पार्न व्यापक प्रत्याक्रमण सुरु गरेको छ । इजरायलले नेपालसँगको मैत्री सम्बन्धका आधारमा बहुआयामिक तहमा आतंकवादविरुद्धको संघर्षमा साथ दिन आग्रह गर्दै आएको छ । दक्षिण एसियाली मुलुकमध्ये पहिलो मुलुकका रूपमा नेपालले इजरायललाई मान्यता दिए पनि संयुक्त राष्ट्रसंघीय अधिकांश प्रस्तावमा इजरायलको विपक्षमा मतदान गर्दै आएको छ ।

यसैबीच भारत भने जोर्डनले मस्यौदा गरेको प्रस्तावमा हमास लडाकु समूहबारे केही पनि उल्लेख नगरेको भन्दै राष्ट्रसंघीय महासभाको प्रस्तावको मतदानमा अनुपस्थित भएको हो । भारतबाहेक अस्ट्रेलिया, क्यानडा, जर्मनी, जापान, युक्रेन र बेलायत प्रस्तावको मतदानका बेला अनुपस्थित थिए । महासभामा प्रस्तावमाथि मतदान गर्नुअघि क्यानाडाद्वारा प्रस्तावित र अमेरिकाले सहप्रायोजन गरेको संशोधन प्रस्तुत गरिएको थियो । प्रस्तावमा हमासको आतंककारी आक्रमणलाई अस्वीकार र विराध गर्ने भन्ने अंश थप गर्न भनिएको थियो ।

भारतलगायत ८७ देशले त्यसको पक्षमा मतदान गरेको थियो भने ५५ देशले यसको विरुद्धमा मतदान गरेका थिए भने २३ देश अनुपस्थित थिए । मस्यौदा प्रस्ताव उपस्थित सदस्यको दुई तिहाइ समर्थन प्राप्त हुन नसक्दा स्वीकृत हुन सकेन । जोर्डनले गरेको उक्त प्रस्तावमा तत्काल स्थायी र दिगो मानवीय युद्धविराम गरी थप क्षति हुन नदिन आग्रह गरिएको छ । गाजापट्टीमा तत्काल आवश्यक वस्तु र सेवा नागरिकलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

प्रकाशित: १२ कार्तिक २०८० ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App