५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

‘सरकार–विप्लव मिलेमतोमा आक्रमण’

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार र नेत्रविक्रम चन्द विप्लवको मिलेमतोमा वामपन्थी गठबन्धनका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण भएको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले बुधबार साँझ राजधानीमा आयोजना गरेको विशेष पत्रकार भेटघाटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लवको मिलेमतोको संकेत देखिएको बताए ।
दुवै नेताले आचारसंहिताविपरीत सरकारले विभिन्न निर्णय गरेको भन्दै त्यसलाई एकमुष्ठ रुपमा बदर गर्ने चेतावनी दिए । त्यसैगरी बुढीगण्डकी जलविद्युत् आयोजनाको लाइसेन्स रद्द गर्ने सरकारी निर्णयको उनीहरुले आलोचना गरे ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले रोल्पा आक्रमणमा संलग्न विप्लवका कार्यकर्ता छुटाउन कांग्रेसका मन्त्रीसमेत रहेका उम्मेदवारले गरेको कोसिस र अभिव्यक्तिले सरकार–विप्लवको मिलेमतोको संकेत गरेको बताए । ‘प्रदेशतर्फका उम्मेदवार कुलबहादुर केसीमाथि ढुंगामुडा भयो । त्यसमा संलग्न भएका केही मानिस हातहतियारसहित पक्राउ परे, ती विप्लवका कार्यकर्ता हुन् । रोल्पाका उम्मेदवार रहेका बहालवाला मन्त्रीले दबाब दिनुभयो, बाहिर बोल्नु पनि भएको छ,’ दाहालले भने, ‘यसबाट के देखिन्छ भने कहीं न कहीं त्यस्तो साँठगाँठ त होइन भन्ने प्रश्न उठाउने आधार छ ।’ दाहालले अन्य घटना हेर्दा समेत त्यस्तो आधार देखिएको भए पनि अहिले नै पूर्ण रुपमा आरोपित गर्ने पक्षमा नभएको बताए ।
उनले रोल्पा, रुकुम, भोजपुरसहितका स्थानमा वामपन्थी गठबन्धनविरुद्ध भएको आक्रमणमा मन्त्रीहरु संलग्न रहेर यस्तो काम भइरहेको छ कि भन्ने आधार देखिएको बताए । ‘यस्तो हो भने कांग्रेसका लागि भन्दा बढी दुर्भाग्यपूर्ण काम अरु कसैका लागि नहुने’ दाहालको चेतावनी थियो ।
उम्मेदवारमाथि भएको आक्रमणको विरोध गर्दै ओलीले भने, ‘सरकार कानमा तेल हालेर अनि दाँत देखाएर मुस्कुराएर बसेको छ । यसभित्र के छ ?’ वामपन्थी गठबन्धनका उम्मेदवारमाथि मात्रै आक्रमण भएको भन्दै त्यसले शंका उत्पन्न गराएको उनको भनाइ थियो । ओलीले भने, ‘अन्त आक्रमण होस् भनेर भनेको होइन । तर यहाँ मात्रै किन आक्रमण भइरहेको छ भनें मैले । त्यसका जबाब हिजो म्याग्दीमा प्राप्त भयो ।’
म्याग्दीको आक्रमण देखावटी भएको उनको भनाइ थियो । उनले थपे, ‘त्यो ब्यालेन्स गर्नका लागि आक्रमण भएको हो । उम्मेदवार र गाडी कहाँ छ कहाँ छ, अर्को ठाउँमा विस्फोट हुन्छ । म्याग्दीको जुन घटना भयो त्यसले झनै शंका उत्पन्न ग¥यो ।’
ओलीले विप्लव सिखण्डीका रुपमा प्रयोग भएको बताए । ‘वाण कसले चलाउँछ, शिखण्डी बनेर उभिएका नेत्रविक्रम चन्द विप्लवलाई मेरा सुझाव छ । यो गलत बाटो छाडिदेऊ, कहाँ पुग्न हिँडेको’, ओलीले भने, ‘यो कुरा रोक्नुहोस् तपाईंलाई यसले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको मूलधारबाट बाहिर पार्छ । एउटा खलनायकका रुपमा मात्रै प्रस्तुत गर्छ ।’
विप्लव भाइलाई अतिकति सम्झाउन चाहन्छु भन्दै ओलीले थपे, ‘युवा छौ, बलिया छौ, बाटो नभएको दुर्गम गाउँका दुःख पाएका एउटा बिरामीलाई काँधमा बोकेर अस्पताल पु¥याइदिनु । तिमीले जिन्दगीभरि गरेको उपद्रोभन्दा त्यो ठूलो काम हुन्छ ।’
आचारसंहिताविपरीत सरकारले नियुक्ति, सुरुवा बढुवा गरेको भन्दै एकैपटक बदर गर्ने चेतावनी ओलीले दिए ।
चुनावको समयमा के गर्नु हुन्छ वा के गर्नु हुँदैन भन्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चार पटक प्रधानमन्त्री हुँदा समेत थाहा नभएको भन्दै ओलीले कटाक्ष गरे । ‘यो चुनावी सरकार हो, काम चलाउ सरकार हो । यो दीर्घकालीन महŒवका निर्णय गर्ने सरकार होइन,’ उनले भने, ‘यसको काम चुनाव गराउने मात्रै हो ।’
उनले बुढीगण्डकीको विषय सनकको भरमा गर्ने काम भएको बताए । ‘यसमा अन्तर्राष्ट्रिय लगानीको विषय रहेको छ’, ओलीले भने, ‘आफैं (कांग्रेस) भएको सरकारले निर्णय गरेर दियो । अहिले कसरी रद्द गर्न सक्छ ? कसको दबाब, नेपालका लागि कि अरुका लागि ? संविधान र कानुन पालन गरेर वा नगरी गरिएको हो ?’
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले बुढीगण्डकीको लाइसेन्स रद्द गर्ने काम विकासविरोधी भएको बताए । ‘मेरो सरकारको पालामा कांग्रेससहितको सहमतिमा गरिएको सम्झौता खारेज गर्नु थियो भने संविधान र कानुनअनुसार गर्नुपथ्र्याे’, दाहालले भने, ‘सरकारमा अहिले पनि हामी छौं । महŒवपूर्ण निर्णयमा सत्तासाझेदारको पनि सहमति लिनुपर्ने व्यवस्था छ ।’

भिडियो हेर्नुस्:

प्रकाशित: ३० कार्तिक २०७४ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App