२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजनीतिले सधै ठगिएको सप्तरी

राजविराज – भारतीय सिमानासँग जोडिएको सप्तरीको दक्षिणी भेग प्रतिबन्धित कालमा नेपाली कांग्रेसका नेताहरुको भुमिगत बास स्थल(सेल्टर) हुने गथ्यौ । दक्षिणी भेगका तिलाठी, कोईलाडी, बेल्ही भन्सार, छिन्नमस्ता लगायतका क्षेत्रमा बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमसेरलगायतका ठूला कांग्रेसी नेताहरू महिनौ बिताउने गर्थे। 

कांग्रेसको रणनीति निर्माणदेखि कार्यकर्ता परिचालनसम्म यसै क्षेत्रबाट हुने गरेको पुराना कांग्रेसीजनको भनाइ छ । त्यतिबेलैदेखि यो भेग कांग्रेसको गढका रूपमा विकसित हुन थालेको प्रजातन्त्र सेनानी एवं बयोबृद्ध कांग्रेसी लक्ष्मण झा बताउँछन् । बहुदलीय प्रजातन्त्र स्थापनाका लागि  कांग्रेसले थालेको सो संघर्षलाई स्थानीय नेताहरू गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक, विजयानन्द मिश्र, जयमंगल सिंह, देवनारायण यादव, खुशीलाल मण्डल, कमानन्द मिश्रलगायतका तत्कालीन सयौं स्थानीय नेताले कम्ती सघाएका थिएनन्। 

‘त्यतिबेला आन्दोलनमा सक्रियता सँगसँगै पार्टीभित्र पनि प्रभावकारी भूमिका निर्वाह गरेका थिए सप्तरीवासीले,’ ७५ वर्षीय झा भन्छन्, ‘लामो संघर्षपश्चात् मुलुकमा बहुदलीय प्रजातन्त्र आयो, कांग्रेस पनि सत्तामा आयो तर न त आन्दोलनका क्रममा सर्वश्वसहित आफ्नो अमूल्य जीवन दिनेहरूले केही पाए न त समग्र सप्तरीको विकासका लागि केही गर्न सकियो।’ 

कठोर पञ्चायत कालमा राजाबिनाको शासनसत्ता अर्थात् गणतन्त्रबारेमा मनमनै सोच्नु पनि अपराध मानिन्थ्यो । पञ्चहरूको कडा निगरानीकाबीच कठोर शासनसत्ता थियो तर, त्यतिबेलै मुलुकमै पहिलोपटक गणतन्त्रको नारा सप्तरीवाटै उठायांै । सप्तरीको कोइलाडीमा जन्मिएका रामराजाप्रसाद सिंहले गणतन्त्र नेपालको परिकल्पनासहित क्रान्तिको बिगुल फुके । मुलुकभरिबाट छानेर क्रान्तिकारी युवाको एक समूह नै तयार पारेका थिए। 

सप्तरीका साकेतचन्द्र मिश्र, दिलीप चौधरीलगायतका दर्जनांै युवाले गणतन्त्रका लागि कलिलै उमेरमा प्राणाहुति दिए । रामराजाप्रसाद सिंहले उठाएको गणतन्त्रको अजेन्डा दशकांैको संघर्षपश्चात् स्थापित भयो । मुलुकमा गणतन्त्र अयो तर, फेरि पनि सप्तरीवासी ठगिए मात्रै । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति पदका लागि रामराजाप्रसाद सिंहको नाम त मनोनित गरियो तर राष्ट्रपति बन्ने सपना भने उनको पूरा हुन सकेनन् । त्यतिबेला ज्यान गुमाएका साकेत र दिलीप जस्ता गणतन्त्रवादी युवालाई अझै राज्यले सहिदसम्म घोषणा गर्न सकेको छैन । यद्यपी उनीहरूको नाममा राजनीति गर्नेको कमी भने छैन। 

वर्तमान नेपाली राजनीतिको सबैभन्दा पेचिलो मुद्दा भनेको तराई÷मधेसका माग हुन् । तराई÷मधेसको माग र मुद्दा सम्बोधन सबैजसो राजनीतिक दलको मुख्य अजेण्डा मात्रै हैन चुनौती पनि हो । मुलुकको झन्डै आधा भू–भाग ओगेटेको तराई÷मधेसको माग अहिले अन्तराष्ट्रियस्तरमै चर्चाको विषय वन्न पुगेको छ। 

तराई÷मधेसकै मुद्दा पनि पहिलोपटक सप्तरीबाटै उठेको हो । तराई÷मधेसका नाममा अहिंसात्मक आन्दोलन तथा दल नै दर्ता गरी राजनीतिक संघर्ष थाल्ने पहिला व्यक्ति गजेन्द्रनारायण सिंह सप्तरीकै कोइलाडी गाउँमा जन्मिएका हुन् । मधेसवादकै राजनीतिमा टेकेर गजेन्द्र बाबु पनि कयौंपटक मन्त्री भए । अहिले मन्त्री हुनेको त झन् गन्ती गर्न पनि गा¥है छ तर, सप्तरी भने बहुदलीय प्रजातन्त्र र गणतन्त्र जस्तै परिवर्तनको साक्षी मात्रै बन्न पुगेको अधिकांश बुद्धिजीवीको बुझाइ छ।

मुलुकमा जस्तोसुकै राजनीतिक परिवर्तनका बेला पनि सप्तरीले अग्रणी भूमिका निर्वाह गरे पनि राजनीति परिवर्तनपश्चात् सप्तरीले खासै उपलब्धि पाउन नसकेको अवकास प्राप्त प्राध्यापक अमरकान्त झा बताउँछन् । उनले भने, ‘तपाईं कांग्रेस, कम्युनिष्टको इतिहास पल्टाउनुस् सप्तरी र सप्तरीवासीले खेलेको भूमिका छर्लङ्ग हुन्छ, मधेसवाद र गणतन्त्रको झन् आधारशीला नै सप्तरीमै तयार पारिएको हो तर राजनीतिक परिवर्तन पश्चात सप्तरी भने ठगिएको हो ।’

सडक, स्वास्थ्य, शिक्षा, विजुली, समाजिक तथा मानव विकास जुनसुकै क्षेत्रमा पनि सप्तरीको अवस्था दिनानुदिन खस्किदै गएको बताउँदै उनले भने, ‘सत्तामा पुगेका दल र नेता थोरै पनि इमान्दार भएर हाम्रो लागि सोची दिएको भए हाम्रो अवस्था यस्तो हुने थिएन होला ।’ मुलुकमा सकारात्मक राजनीतिक परिवर्तनका लागि सप्तरीले जुनसुकै राजनीतिक आन्दोलनलाई सघाए पनि परिवर्तनपश्चात् ती परिवर्तनकारी राजनीतिक शक्तिले सप्तरीलाई वेवास्ता मात्रै गरेको उनको बुझाइ छ। 

‘न सडक छन्, न स्वास्थ्य, शिक्षा र रोजगार’ 

मुलुककै पुराना सडकमध्ये एक सप्तरीस्थित हुलाकी राजमार्ग दशकांैदेखि जीर्ण छ । अवशेष मात्र बाँकी रहेको सो सडकसँग जोडिएको जिल्लाको दर्जनांै गाविसको भविष्य नै अन्योलग्रस्त बनेको छ ।

तराई मधेसकै विकासको मेरुदण्डका रूपमा मानिएको हुलाकी सडकको अवस्था र आवश्यकताबारे बेला बखत राजनतेताले नबोलेको होइनन्, सरकारको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा पनि निकै चर्चा हुने गर्छन् यस सडकको । तर सडकको अवस्था हेर्दा ती भाषण र प्रतिवद्धता चुनावी एजेन्डामै सीमित भएको यस सडकसँग जोडिएका गाउँलेको गुनासो छ।  

सप्तरीकै पहिलो कालोपत्रे सडक राजविराज कुनौली सडकखण्डमा ठूला सवारीसाधन नचेलको झण्डै डेढ दशकभन्दा बढी भयो । पछिल्लो केही समययता खाँडो नदीको बहाव नै फर्किएपछि यो नदी हो कि सडक भन्ने छुट्ट्याउनै गा¥हो भएको सर्वसाधारणको प्रतिक्रिया छ।

सदरमुकाम राजविराजदेखि हनुमाननगर हुँदै भारदहस्थित पूर्वपश्चिम लोकमार्गलाई जोड्ने हनुमाननगर भारदह सडकखण्ड पनि पछिल्लो केही वर्षदेखि जिणेद्धारको पर्खाइमा छन् । सो सडकलाई लक्षित गरी थुप्रै आन्दोलन गरिए । तर, सडकको जिर्णोद्धार गर्नेतर्फ सम्बन्धित निकायको अझै ध्यान पुग्न सकेको छैन।

जिल्लाका पक्की सडक मात्रै होइन ग्राभेल गरिएका कृषि सडक र अन्य कच्ची सडकको अवस्था पनि उस्तै छ । कठौना–पातो सडक, कल्याणपुर–बोदे बसाइन सडक, इनरुवा–कुनौली सहितका सडकमा पनि सर्वसाधारण अत्यन्त जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

यसैगरी जिल्ला स्तरीय कृषि सडक पोर्ताहा–वकधुवा, भारदह–पकरी, रूपनगर–कञ्चनपुर पथरी–कमलपुर–फत्तेपुर, जण्डौल–कुशहा, महुली–लोहजारा–हनुमाननगर, पकरी–प्रसवनी, हरीहरपुर–पकरी–तिलाठी, विषहरीया–मुसहर्निया, सखडा–गाविन्दपुर, शम्भुनाथ–वनैनिया, कल्याणपुर–वनौली लगायत पनि नाममा मात्रै सीमित बन्न पुगेका छन् । जिविस सप्तरीको तथ्यांकमा यस्ता दर्जन भन्दा बढी सडक भए पनि अधिकांश सडकबारे स्थानीयलाई जानकारीसमेत छैन।

‘समग्रमा भन्नुपर्दा सप्तरीमा हाल कामलाग्ने सडक एउटा पनि छैन,’ नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली भन्छन्, ‘पूर्व–पश्चिम राजमार्ग बाहेकको कुरा गर्ने हो भने हाल सप्तरी सडकविहीन भएको छ भन्दा अतिशयोक्ति नहोला।’

सडक बिहीनताको अवस्थामा सप्तरीवासी विकासका दृष्टिले अपांग हुन पुगेको उनको टिप्पणी छ । ‘सडकलाई विकासको मेरुदण्ड मानिएको हो, तर सकड नै नभएको जिल्लाको विकास कसरी सम्भव होल त ?’ भन्साली मात्रै नभई अधिकांश सप्तरीवासीको यस्तै प्रश्न छ।’

तराई क्षेत्रकै पुराना मध्येको एक राजविराज विमानस्थलमा ०५२ देखि नै नियमित उडान हुन सकेको छैन । चुनावका बेलमा सबैजसो राजनीतिक दल र नेताले विमानस्थल सुचारु गर्ने प्रतिवद्धता जनाए पनि तत्काल विमानस्थल सञ्चालनमा आउने कुनै सम्भावना नदेखिएको सप्तरी उद्योग वाणिज्य संघका महासचिव सुरेशकुमार सिंहको भनाइ छ। 

त्रिभुवन विश्वविद्यालय भन्दा पनि पहिले नै स्थापना भएको राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस पनि भताभुंग अवस्थामा छ । कानुन र मानविकी पढाइका लागि मुलुकमै ख्याती कमाएको यो क्याम्पसलाई हाल आफ्नो साख जोगाउनसमेत धौ धौ गरिरहेको पूर्व स्ववियू सभापति समीर झा बताउँछन्। 

२०२८ सालमै स्थापना भएको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पछिल्लो एक दशक यता रेफरल सेन्टर जस्तै भएको छ । न त विषेशज्ञ चिकित्सक छन् न त आवश्यक पूर्वाधार र उपकरण नै । स्थानीयले जतिसुकै आन्दोलन र संघर्ष थाले पनि यस अस्पतालको अवस्था सुधार्नेतर्फ राजनीतिक दल तथा अन्य सरोकारवाला निकायले खासै चासो सम्म देखाउन नसकेको स्थानीयको गुनासो छ। 

राजविराजस्थित गजेन्द्रनारायणसिंह औद्योगिक क्षेत्र पनि उद्योगविहीन छन् । माओवादी विद्रोह, तराईको भूमिगत सशस्त्र आन्दोलन तथा मधेस आन्दोलनका बेला यहाँका बहुसंख्यक लगानीकर्ता पलायन भएपछि रोजगारको समेत अभाव देखिएको छ। 

‘राज्यले नचाहे सम्म विकासको परिकल्पनासम्म गर्न सकिँदैन र लोकतन्त्रमा राज्य व्यवस्थालाई नियन्त्रणसहित चलायमान गराउने भनेको राजनीतिक दल नै हुन्,’ मैथिल महासंघ नेपालका केन्द्रीय अध्यक्ष बिष्णुकुमार मण्डल भन्छन्, ‘नेपाली राजनीतिमा सिद्धान्त र इमान्दारीको खडेरी निकै अघिदेखि नै सुरु भएको हो, जसको सबैभन्दा ठूलो उदाहरण विकासमा सप्तरीको पछौटेपन हो।’ 

राजनीतिक दलमा इमान्दारीको खडेरीकै कारण विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनका लागि सप्तरीले गरेको योगदानको मूल्यांकन हुन नसकेको उनको बुझाइ छ । ‘नभए सप्तरीमा पनि विकास देखिन्थ्यो होला, राजनीतिले हामीलाई सधैं ठग्यो मात्रै भन्ने अवस्था हुने थिएन होला,’ उनले भने।

प्रकाशित: २९ कार्तिक २०७४ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App