१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धन भिन्न,एजेन्डा एउटै

रसुवा – निर्वाचनको समय छोट्टिँदै जाँदा रसुवाका उम्मेदवार भोट माग्न टोलटोलमा पुगेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान गर्दै कोणसभा गरेर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् । 
आउँदो निर्वाचनमा यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ। 

प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट एमालेका जनार्दन ढकाल र लोकतान्त्रिकबाट कांग्रेसका मोहन आचार्यबीच प्रतिस्पर्धा हुँदैछ। 

प्रदेशसभातर्फ प्रदेश (क) मा वामबाट  एमालेका जिल्ला अध्यक्ष कर्नेल लामा र लोकतान्त्रिकबाट नेपाली कांग्रेसका प्रभात लामा प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश (ख) वामबाट माओवादी केन्द्रका जिल्ला संयोजक इन्द्र गौतम र लोकतान्त्रिकबाट पूर्वसांसद एवम् नयाँ शक्ति पार्टीका जिल्ला संयोजक प्रेम तामाङ चुनावी मैदानमा छन्। 
२०६४ सालको निर्वाचनपछि जिल्लामा नेपाली कांग्रेस कमजोर भएको थियो ।   २०७० निर्वाचनसम्म बलियो देखिएको माओवादी नयाँ शक्ति फुटेपछि कमजोर बन्न पुगेको थियो। 

यसपटक गठबन्धन हुँदा जिल्लामा बलियो र कमजोर शक्ति जोडिन पुगेका छन् । २०७० सालको निर्वाचन जितेको एमाले स्थानीय तहको निर्वाचनमा पनि पकड बनाउन सफल देखिएको थियो भने कांग्रेस दोस्रो र नयाँ शक्ति तेस्रो हुन पुगेको थियो। 

निर्वाचनमा प्रत्यक्षतर्फ ७ राजनीतिक दलका १२ जना र स्वतन्त्रबाट ११ जना गरी २३ जनाको उम्मेदवारी परेको छ। 

दुवै गठबन्धनका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन जितेपछि गाउँ नपुग्ने नेताकार्यकर्ता सडक नपुगेको ठाउँमा पनि हिँडेरै भए पनि मत माग्दैछन्। 

गठबन्धन फरक भए पनि भोट माग्न गाउँ पसेका उनीहरुको अजेन्डा भने एउटै छ । समृद्ध जिल्ला बनाउनका लागि उम्मेदवारी दिएको बताउँदै आएका उनीहरुले अन्तर्राष्ट्रिय नाकाको व्यवस्थापन गर्ने, जिल्लामा हुने गरेको संस्थागत तथा नीतिगत भ्रष्टाचार अन्त्य गर्ने, स्थानीय स्रोतसाधनको प्रयोग गर्दा स्थानीयबासी तथा जिल्लाबासीलाई निश्चित सेयर छुट्याउने लगायतका आश्वासन दिएर मत मागिरहेका छन्। 

जिल्लामै रोजगारीको सिर्जना गर्ने, प्रत्येक गाउँ सडक सञ्जालसँग जोड्ने, अन्तर्राष्ट्रिय नाका जोड्ने सडकको स्तरोन्नति गर्ने, जलविद्युत् निर्माणका लागि लगानीकर्ता खोज्नेलगायतका योजना दुवै गठबन्धनका साझा अजेन्डा हुन्। 

व्यवसायीबीच प्रतिस्पर्धा
आउँदो चुनावमा जिल्लामा व्यवसायीबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ गठबन्धनले ठूला व्यवसायी तथा लगानीकर्तालाई टिकट उपलब्ध गराएको छ। 

प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका मोहन आचार्य र जनार्दन ढकाल ठूला निर्माण व्यावसायी हुन् । ढकालले निर्माणका क्षेत्रमा मात्र लगानी गरेको भए पनि आचार्यले भने निर्माण व्यावसायको साथै जलविद्युत्, औषधि उत्पादनलगायतका क्षेत्रमा पनि लगानी गरेका छन्। 

प्रदेशसभातर्फका एमाले उम्मेदवार कर्नेल लामाले लामो समयदेखि पर्यटन तथा होटल व्यावसाय सञ्चालन गर्दै आएका छन्। 

लोकतान्त्रिकतर्फबाट प्रदेश १ का उम्मेदवार प्रभात लामा बैंक, घरजग्गा र औषधि व्यवसायका लगानीकर्ता हुन्।  

प्रदेशसभाका लागि प्रदेश २ का नयाँ शक्तिका संयोजक प्रेम तामाङ र माओवादी केन्द्रका अध्यक्ष इन्द्र गौतमले भने ठूला व्यवसायमा लगानी गरेको पाइँदैन । राजनीतिलाई नै प्रमुख पेसा बनाएका यी दुई नेताले अन्य क्षेत्रमा लगानी नगरेका हुन्। 
यस पटकको निर्वाचनमा वाम गठबन्धनले प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ तीन जना गरी ६ जना उठाएको छ। त्यस्तै लोकतान्त्रिक गठबन्धनले प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ दुई जना गरी ५ जना उठाएको छ। 

वामतर्फ प्रदेशसभाका लागि समानुपातिकमा परेका तीन जनामध्ये दुई जना एमाले र एक जना माओवादी केन्द्रका हुन् । एमालेका तर्फबाट शान्ति थिङ र माधव अर्याल तथा माओवादी केन्द्रबाट पासाङ तामाङ समानुपातिक उम्मेदवार हुन् । त्यसैगरी लोकतान्त्रिकतर्फ प्रतिनिधिसभाका लागि समानुपातिकमा नयाँ शक्तिका सम्झना तामाङ र ज्ञानुमाया तामाङ परेका छन् । 

प्रचारप्रसारमा सामाजिक सञ्जाल
चुनाव नजिकिँदै जाँदा भोट माग्न गाउँबस्ती छिरेका राजनीतिक दलले सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रयोग बढाएका छन्। 

सामाजिक सञ्जालका रूपमा फेसबुक, ट्विटर र युट्युबको प्रयोग बढाएका राजनीतिक दलले अनलाइन मिडियाको प्रयोग गरी आफ्नो पक्षमा मत माग्ने र सम्पूर्ण चुनावी गतिविधि प्रकाशन गरिरहेका छन्। 

वाम गठबन्धनले रसुवा युएमएल, नयाँ प्रवाह, लाङटाङ न्युजलगायतको अनलाइन प्रयोग गरेको छ भने लोकतान्त्रिकले हाम्रा कुरा, पलपल खबरलगायतको अनलाइनको प्रयोग गरिरहेको छ। 

आचारसंहिता उल्लघंन तीव्र  
निर्वाचन अभियानमा जुटेका राजनीतिक दलले आचारसंहिता उल्लघंन गर्न थालेपछि रसुवा प्रशासनले पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ। 

चुनाव नजिकिँदै जाँदा लोकतान्त्रिक र वाम गठबन्धनले निर्वाचन आचारसंहिताविपरीत काम गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले पटकपटक सर्वदलीय बैठक राख्दै आए पनि नतिजा भने शून्य छ। 

चुनाव प्रचारप्रसार गर्न घरदैलो अभियानमा जुटेका उम्मेदवार धेरैवटा गाडीको प्रयोग गरेको, अभियानमा बालबालिकाको प्रयोग गरेको, ठूलाठूला पोस्टर पप्लेट टाँसेको, सडक निर्माणको काम थालेको लगायतका गुनासो आएको कार्यालयले जनाएको छ। 

निर्वाचनलाई प्रभाव पार्ने गरी अन्य जिल्लाका व्यक्तिहरुको आवागमन हुन सक्ने भएकाले राजनीतिक दललाई सहयोगका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताइन्। 

रूख र आँखा
मोहन आचार्य
प्रभात लामा (क)
प्रेम तामाङ (ख)

घाम, गोलाकार
जनार्दन ढकाल 
कर्नेल लामा (क) 
इन्द्र गौतम (ख) 
१ (क)
१ (ख)
स्थानीय तह
पार्वतीकुण्ड गाउँपालिका
गोसाइँकुण्ड गाउँपालिका
उत्तरगया गाउँपालिका
कालिका गाउँपालिका
नौकुण्ड गाउँपालिका

प्रकाशित: २९ कार्तिक २०७४ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App