५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेसी नेतालाई साख जोगाउन सकस

सिरहा- मधेसमा सानदार जितका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरी मैदानमा उत्रिएका छन् । तर प्रतिस्पर्धामा रहेका अधिकांश उम्मेदवारलाई आफ्नै अखडामा प्रतिष्ठा जोगाउन सकस परेको छ ।
    जिल्लाका चारै निर्वाचन क्षेत्रमा वाम गठबन्धन बलियो बन्दै गएपछि मधेसी गठबन्धन पकड खस्किँदै गएको हो । लोकतान्त्रिक गठबन्धनसँग फोरम–राजपा गठबन्धनको चुनावी तालमेल भए लोकतान्त्रिक गठबन्धनको पकड कसिलो हुने विगतको चुनावी मत परिणामले देखाउँछ ।
लहान नगरपालिका, धनगढीमाई नगरपालिकाको वडा नम्बर १ र २, लक्ष्मीपुरपतारी गाउँपालिकाको वडा नम्बर २,३,४,५,६, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका समेटेर कायम गरिएको सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा ८८ हजार ७२ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट एमालेले २० हजार ६ सय १९ र माओवादी केन्द्रले ३ हजार ७ सय ७५ मत प्राप्त गरेका थिए । दुवै दलको मत जोड्दा २४ हजार ३ सय ९४ हुन आउँछ । यस क्षेत्रमा नेपाली कांग्रेसले १५ हजार २ सय १०, संघीय समाजवादी फोरमले १४ हजार ६ सय ७२ र राष्ट्रिय जनता पार्टी (राजपा) ले ११ सय ६३ मत पाएका थिए । फोरम राजपा गठबन्धनको मत जोड्दा १५ हजार ८ सय ३५ हुन आउँछ । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको मत पहिलो, फोरम राजपा गठबन्धनको मत दोस्रो र कांग्रेसको मत तेस्रो स्थानमा छ ।
    धनगढीमाई नगरपालिकाको वडा नम्बर ३ देखि १४ नम्बर, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर १, गोलबजार नगरपालिकाको वडा नम्बर १३, सुखीपुर नगरपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका औरही गाउँपालिका समेटिएको सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा स्थानीय निर्वाचनमा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले २४ हजार ५ सय ७३ मत प्राप्त गरेको थियो । यस क्षेत्रमा नेपाली कांग्रेसले १५ हजार २ सय ८६ मत ल्याएको थियो भने फोरम राजपा गठबन्धनले १८ हजार ६ सय १३ मत पाएको थियो । यस क्षेत्रमा पनि वाम गठबन्धन पहिलो, फोरम राजपा गठबन्धनको दोस्रो र कांग्रेस तेस्रो नम्बरमा छ ।
    गोलबजार नगरपालिकाको १ नम्बर वडा देखि १२ नम्बर वडा, नरहा गाउँपालिकाको वडा १ र २, विष्णुपुर गाउँपालिकाको वडा नम्बर १ र ५, अर्नमा गाउँपालिकाको वडा नम्बर १,२,३, सिरहा नगरपालिका समेटर कायम गरिएको निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले गत स्थानीय तह निर्वाचनमा २७ हजार २ सय ९८ मत ल्याएका थियो । नेपाली कांग्रेसले १३ हजार ३२ मत ल्याएको थियो भने फोरम राजपा गठबन्धन (संघीय समाजवादी फोरम –राष्ट्रिय जनता पार्टी) ले १५ हजार ६ सय ३४ ल्याएको थियो । यो निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धन मतका हिसावले पहिलो नम्बरमा देखिन्छ भने फोरम राजपा गठबन्धन दोस्रो र कांग्रेस तेस्रो नम्बरमा छ ।
कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिकाको वडा नम्बर २,३ र ४, नरहा गाउँपालिकाको वडा ३,४ र ५ समेटेर कायम गरिएको निर्वाचन क्षेत्र नम्बर ४ मा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले २३ हजार ५ सय ३ मत पाएको थियो । नेपाली कांग्रेसले १० हजार ५ सय ३१ मत ल्याएको थियो भने फोरम राजपा गठबन्धन (संघीय समाजवादी फोरम (राष्ट्रिय जनता पार्टी) ले १६ हजार ५ सय ३१ मत ल्याएको थियो । यहाँ पनि वाम गठबन्धन पहिलो , फोरम राजपा गठबन्धन दोस्रो र कांग्रेस तेस्रो नम्बरमा छ ।
    स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा चारवटै निर्वाचन क्षेत्रमा वाम वर्चस्वलाई फोरम–राजपा गठबन्धनले पछ्याएको देखिन्छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग फोरम–राजपा गठबन्धनको चुनावी तालमेल हुँदा वाम गठबन्धन पछि पर्ने देखिन्छ ।
साख जोगाउने प्रतिस्पर्धा
सिरहा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य प्रत्यासी प्रदीप गिरी,  फोरम–राजपा गठबन्धनबाट प्रत्यासी राजलाल र वाम गठबन्धनबाट प्रत्यासी गंगाप्रसाद यादव तीनजनाको जिल्लामा अलग्गै पहिचान छ । उनीहरूले लामो समयदेखि यस क्षेत्रलाई राजनीतिक ‘गढ’ बनाउँदै आएका छन् । राष्ट्रिय राजनीतिमा छाउँदै आएका ‘बुद्धिजीवी नेता’ गिरी र जिल्लाको राजनीतिमा छाउँदै आएका यादवद्वयबीच यसपालि ‘साख’ जोगाउन प्रतिस्पर्धा हुँदैछ ।
    राजलालको यस क्षेत्रमा दोस्रो प्रतिस्पर्धा हो । पहिलो पटक पहिलो संविधानसभा निर्वाचन (२०६४) मा मधेसी जनअधिकार फोरम नेपालबाट तत्कालीन क्षेत्र नम्बर २ मा चुनाव लडेका उनले जित हात पारेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा दल फेरेर फोरम गणतान्त्रिकबाट सोही क्षेत्रमा चुनाव लड्दा उनी पराजित भए ।
    गिरी २०५१ र २०५६ मा सिरहा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए । २०५१ को निर्वाचनमा उनले वाम उम्मेदवारलाई पराजित गरेका थिए भने २०५६ को निर्वाचनमा वाम उम्मेदवारबाट पराजित भए ।
    निर्वाचन क्षेत्र नम्बर २ मा तीनजना पूर्वसांसद चुनावमा भिड्दैछन् । लामो समय कांग्रेस राजनीतिमा सक्रिय भई लगातार दुई पटक (२०४८ र २०५१ ) मा तत्कालीन सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित सुरेशचन्द्र दास आसन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य प्रत्यसी छन् । दोस्रो संविधानसभा निर्वाचन (२०७०)मा तत्कालीन सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट संविधानसभा सदस्य निर्वाचित रामचन्द्र यादव र पहिलो संविधानसभा निर्वाचन (२०६४) मा तत्कालीन सिरहा क्षेत्र नम्बर ३ बाट संविधासभा सदस्य निर्वाचित शत्रुधनसिंह कोइरी दासलाई टक्कर दिँदैछन् । यस क्षेत्रमा दास र कोइरीबीचमै साख जोगाउने प्रतिस्पर्धा हुने देखिन्छ ।
निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका साझा उम्मेदवार लीलानाथ श्रेष्ठ र फोरम राजपाबाट साझा उम्मेदवार असेश्वर यादवबीच प्रतिस्पर्धा हुँदैछ । श्रेष्ठ दोस्रो संविधासभा निर्वाचनमा तत्कालीन सिरहा क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा असेश्वर नौला प्रत्यासी हुन् ।
    सिरहा क्षेत्र नम्बर ४ मा फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार एवं राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादव र वाम गठबन्धनका साझा उम्मेदवार एवं पूर्वकानुनमन्त्री अजयशंकर नायकबीच प्रतिस्पर्धा छ ।

प्रकाशित: २६ कार्तिक २०७४ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App