९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा हल्ला मात्रः उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित पत्रकार महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारे।  

उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे।  

उपप्रधानमन्त्री खड्काले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको भन्दै नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको उल्लेख गरे।  

उनले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने भन्दै यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गरे।

उनले भने, ‘अहिले केही सञ्चारमाध्यमबाट गजबको विषय, गलत सूचनामा आधारित झुटो सूचनामा आधारित ठूलो भ्रम सिर्जना गर्ने काम भइरहेको छ। सहायक रथी यमप्रसाद अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने दलहरुको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरुलाई नेपाली सेनामा केही सङ्ख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकुल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरियो। त्यो अघि बढ्यो। त्यही क्रममा यमप्रसाद अधिकारी २०७६ सालको सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको थियो। सहायक रथीको पदावधि सात वर्षको हुन्छ। नेपाली सेनाको नियम प्रक्रिया अनुसार।’

उपप्रधान एवं रक्षामन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानून, योजना बनाउँदै अघि बढ्ने बताए।

प्रकाशित: २९ आश्विन २०८० ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App