१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालको कालापानीमा गतिविधि बढाउँदै भारत

गुन्जी आएर सात गाउँका प्रतिनिधि भेटे मोदीले, नेपाल सरकार बेखबर

दार्चुलाको कालापानी क्षेत्रका नाभी, गुन्जी, कुटी र गव्र्याङमा २०१८ सालमा नेपाल सरकारले जनगणना गरेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार त्यही नेपाली भूमि गुन्जी आए। नेपालको परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र स्थानीय प्रशासन कसैलाई पनि गुन्जीमा प्रधानमन्त्री मोदीको भ्रमणबारे जानकारी दिइएन।

६१ वर्षदेखि भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा भारतका प्रधानमन्त्रीको भ्रमण भएको यो पहिलोपटक हो। नेपाल र नेपालीको विरोध हुँदाहुँदै पनि केही वर्षयता अतिक्रमित कालापानी क्षेत्रमा भारतले शृंखलाबद्ध रूपमा विभिन्न गतिविधि गर्दै आएको छ। भारतीय प्रधामन्त्री मोदीको गुन्जी भ्रमण र स्थानीय बासिन्दासँगको अन्तक्रियालाई त्यसैको निरन्तरताको रूपमा विश्लेषण गरिएको छ।

प्रधानमन्त्री मोदी गुन्जी आएर त्यहाँ तैनाथ सुरक्षाकर्मी र स्थानीय बासिन्दासँग अन्तक्र्रिया गरेका हुन्।

पार्वती कुण्डमा प्रार्थनापछि गुन्जीको भ्रमण गरी सुरक्षाकर्मी र स्थानीय बासिन्दासँग भेटघाट गरेको जानकारी मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका थिए।

मोदी गुन्जी आउने र आएको कुनै आधिकारिक जानकारी नेपाल सरकारलाई छैन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले भारतका प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा आएको विषयमा भारतीय पक्षबाट कुनै जानकारी नदिइएको बताइन्। ‘कालापानी क्षेत्रमा हामीलाई जानै दिँदैनन्। त्यहाँ भारतका प्रधानमन्त्री मोदी आएको हामीलाई आधिकारिक रूपमा कुनै जानकारी छैन,’ उनले भनिन्, ‘गुन्जीमा मोदीले केके गरे भन्ने पनि जानकारी छैन।’

नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन। त्यो क्षेत्रभन्दा धेरै वर रहेको छाङ्रु र टिंकरमा मात्र सशस्त्र प्रहरी बलको बिओपी छ। नेपाली भूभागभित्र पर्ने गुन्जी, नाभी र कुटी गाउँमा भारतीयले नेपाल पक्षलाई जान नदिएको प्रजिअ जोशीले बताइन्।

सात गाउँका बासिन्दासँग मोदीले भेटे  

कालापानी क्षेत्रको भ्रमणमा आएका प्रधानमन्त्री मोदीले त्यहाँ रहेका भारतीय सुरक्षाकर्मीसँग भेटघाट गरे। उनले गुन्जी, नाभी, कुटीलगायत सात गाउँबाट छानिएका स्थानीयसँग पनि भेटेर कुराकानी गरे। उनले सुरक्षाकर्मी र स्थानीयसँग केके विषयमा कुराकानी गरे भन्नेचाहिँ खुलेको छैन। ‘मोदीले सात गाउँबाट छानिएका ३० जनासँग अन्तक्रिया गरेका छन्’ मोदीको कालापानी क्षेत्र भ्रमणबारे जानकार ‘माटो बचाउ’ अभियानका हेमबाबु लेखकले भने।

२०१८ सालमा भैरव रिसालले सरकारी कर्मचारीका रूपमा लिम्पियाधुरा र कालापानी क्षेत्रमा पर्ने गुन्जी, कुटी, नाभी, गव्र्याङ र छाङ्रु गाउँमा जनगणना गरेको लेखकले बताए।

 ती क्षेत्रका बासिन्दाले १९९७ सालसम्म नेपाल सरकारलाई मालपोत तिरेको अभिलेख बैतडी मालपोत कार्यालयमा रहेको उनले बताए। त्यतिबेला दार्चुला र बैतडीको मालपोत बुझ्ने अड्डा बैतडीमा थियो। भारतले सन् १९६२ मा कालापानीमा सेनाको शिविर राखेर नेपाली भूमि अतिक्रमण गरेको हो।

भारतले अतिक्रम गरेको नेपाली भूभाग लिम्पियाधुरा, कालापानी क्षेत्र र लिपुलेक समावेश गरी २०७६ कात्तिकमा नयाँ नक्सा सार्वजनिक गरेको थियो। त्यसपछि भारतका रक्षामन्त्री राजनाथ सिंहले २०७७ वैशाख २६ गते धार्चुला–लिपुलेक जोड्ने सडकको उद्घाटन गरे।

 नेपालले यी दुवै घटनाको विरोध गर्दै कूटनीतिक पठायो। २०७२ सालमा नेपाललाई जानकारी नदिईकन कालापानी र लिम्पियाधुराभन्दा धेरै वर रहेको लिपुलेक क्षेत्रमा व्यापारिक मार्ग बनाउन भारत र चीनले सम्झौता गरेका थिए।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको दाबीसहित भारतसँग वार्ता गर्न चाहे पनि उसले आलटाल गर्दै आएको छ। दुवै देशका प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) ले सुगौली सन्धिलगायत नेपाल भारत सम्बन्धमा देखिएका समस्या समाधानका लागि तीन वर्षअघि तयार पारेको प्रतिवेदन बुझ्न भारतले समय दिएको छैन। भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको क्षेत्र समेटेर नेपालले तयार पारेको नक्सा तीन वर्षअघि संसद्बाट पारित भएको छ।

कालापानी क्षेत्रमा भारतीय सुरक्षा बल मात्र

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सुरक्षा बल तैनाथ गरेको छ। एसएसबी, आइटिबिपी र भारतीय सेनालाई त्यहाँ राखिएको छ। लिपुलेक नजिकै नाभीढाघा, कालापानी, गुन्जी, कुटी र नाभीमा भारतीय सेनाको शिविर छ। नेपालको भूमिभित्र नेपाली सुरक्षाकर्मीलाई जान भारती सुरक्षाकर्मीले दिँदैनन्।

भारतद्वारा महाकालीको नक्कली मुहान खडा

सन् १८१६ को सुगौली सन्धिमा महाकाली नदीलाई सीमा भनिएको छ। महाकाली नदी सीमा भनेर भारतले पनि स्विकारेको छ। तर उसले महाकाली नदीको कृत्रिम मुहान र मन्दिर बनाएर नेपाली भूभाग अतिक्रमण गरेको छ।

महाकाली नदीको वास्तविक मुहान लिम्पियाधुरा भएको जलअधिकार अभियन्ता तथा पूर्वजिविस महासंघका सभापति ऋषिराज लुम्साली बताउँछन्। ‘लिम्पियाधुरा महाकाली नदीको मुहान भएको धेरै प्रमाण छन्,’ उनले भने।

सन १९६२ मा भारत र चीनबीच युद्ध हुदाँ नेपालले भारतलाई कालापानीमा सेना राख्न अनुमति दिएको थियो। सामरिक रूपमा कालापानी महत्वपूर्ण देखेपछि भारतले सेना फिर्ता लगेन। त्यसपछि भारतले महाकालीको वास्तविक मुहानभन्दा दक्षिणतिर कालीको मन्दिर निर्माणसँगै एउटा पोखरी खनेर त्यसबाट बगेको खोल्सालाई मुहान दाबी गर्दै आएको छ।

नक्कली मुहान बनाएर उसले नेपाली भूभाग अतिक्रमण गरेको हो। भारतले बनाएको पोखरी र मन्दिर नक्कली भएको त्यस कार्यमा संलग्न दार्चुलाका गगनसिंह एतवाल र जयराज सिंह बोहरालाई उद्धृत गर्दै माटो बाचाउ अभियानका लेखकले बताए। ‘ऐतवाल भारतीय सेनामा कार्यरत छँदा नै त्यो नक्कली मुहान खन्न उनीसहितको सैन्य दस्ता लगाइएको रहेछ,’ लेखकले भने।

प्रकाशित: २७ आश्विन २०८० ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App