२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

भक्तपुरवासीलाई ‘सरप्राइज’

नारायणमान बिजुक्छे र दमननाथ ढुंगाना

मणि दाहाल/कृष्ण किसी
काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि  उम्मेदवारी दर्तासँगै भक्तपुरवासीले दुइटा ‘सरप्राइज’ पाए । 
पहिलो सरप्राइज, २०४८ देखि निरन्तर चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें यसपटक उम्मेदवार भएनन्। 

दोस्रो सरप्राइज, लामो सयमदेखि सक्रिय राजनीतिबाट टाढै बसेका पूर्वसभामुख दमननाथ ढुंगानाको उम्मेदवारी । चुनाव जित्ने करिबकरिब निश्चित हुँदाहुदै पनि बिजुक्छेंले आफ्नो क्षेत्रमा दोस्रो पुस्ताका नेता प्रेम सुवाललाई अघि सारे। 

नेपाली कांग्रेस संसदीय बोर्डले भक्तपुरका कांग्रेसीलाई सुइँको नदिई ढुंगानालाई भक्तपुर– २ को उम्मेदवार बनायो। 
प्रजातन्त्र पुनस्र्थापनपछिको पहिलो सभामुख बनेका ढुंगाना २०५१ सालको मध्यावधि चुनावमा पराजित भएसँगै सक्रिय राजनीतिबाट टाढिएका थिए । त्यसबेला उनी हालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग काठमाडौं निर्वाचन क्षेत्र नं २ मा पराजित भएका थिए । त्यसपछि उनी सामाजिक र शान्ति प्रक्रियामा सक्रिय रहे। 

यसपटक भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ढुंगानाको प्रतिस्पर्धा एमाले युवानेता महेश बस्नेतसँग हुनेछ। 

कांग्रेसबाट भक्तपुर–२ मा टिकटका आकाक्षी पत्रकार कवीर राणाले पनि ढुंगानाको उम्मेदवारीले राजनीतिक वृत्तलाई आश्चर्यमा पारेको बताए । ‘दमन दाइले एक दुई दिनअघि केही साथीलाई फोन गरेर आफू उठ्न लागेको बताउनुभएको रहेछ,’ राणाले भने, ‘धेरैलाई आश्चर्यमा पार्दै उहाँ उम्मेदवार बन्नुभयो।’ 

राणा र ढुंगाना २०४२ सालमा करिब ६ महिना जेल बसेका थिए । ढुंगाना उम्मेदवार बन्ने सुइँको समेत नपाएका तल्लो तहका कार्यकर्तालाई झन् आश्चर्यचकित भएको राणाले बताए। 

ढुंगानाको उम्मेदवारी जति आश्चर्यजनक थियो चुनावमा नउठ्ने बिजुक्छेंको घोषणा त्योभन्दा कम थिएन । 
भक्तपुरमा रहेको जनाधार बलमा राष्ट्रिय राजनीतिमा छुट्टै प्रभाव राख्ने बिजुक्छें २०४८, २०५१, २०५६ को प्रतिनिधिसभा र २०६४ र २०७० को संविधानसभा सदस्य चुनावमा भक्तपुर–१ बाट ठूलो मतान्तरले विजयी भएका थिए । तर, उनले यसपटक दोस्रो पुस्ताका नेता सुवाललाई उम्मेदवारको रुपमा अघि सार्दै सबैलाई आश्चर्यमा पारे । ७८ वर्षे बिजुक्छेंलाई निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निसर्त सघाउने बताइसकेका थिए । तर, बिहीबार दिउँसो बसेको नेमकिपा केन्द्रीय कमिटी बैठकले बिजुक्छैंको ठाउँमा पार्टी सचिव सुवाललाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। 

भक्तपुरको सहिद मैदानस्थित निर्वाचन कार्यालयमा बिजुक्छेंको उम्मेदवारी दर्ताको समाचार र तस्बिर सम्प्रेषणको पर्खाइमा रहेका सञ्चारकर्मी त्यतिबेला आश्चर्यमा परे जतिबेला उनको ठाउँमा सुवालले मनोनयन दर्ता गराए । त्यसपछि धेरैले अनुमान गरे अब बिजुक्छेंले राजनीतिबाट सन्यास लिन्छन् । तर, उनले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सक्रिय राजनीति नछाड्ने बताए । पार्टीमा दोस्रो पुस्ता सक्षम भइसकेकाले नेतृत्व हस्तान्तरण गर्न खोजेको उनले प्रस्ट पारे । ‘मुलुकमा राजनीतिक नैतिकताको समस्या छ,’ उनले भने, ‘यस्तो अवस्थामा म पार्टी अध्यक्षको हैसियतले राजनीतिमा अझ बढी सक्रिय हुनेछु।’ 

नेपालको राष्ट्रिय राजनीतिले बाटो बिराउँदै गएको  अवस्थामा पार्टी विस्तारभन्दा पनि सैद्धान्तिक र गुणात्मक विषय उठानलाई बढी जोड दिँदै अघि बढ्ने उनले बताए । ‘मानिसको हुलले पार्टी राष्ट्रिय हुने होइन,’ उनले थपे, ‘विचारले हुने हो ।’ उनले चुनावमा व्यक्तिको विषय गौण भएको धारणा राखे। 

२३ वर्षपछि सक्रिय राजनीतिमा आएका पूर्वसभामुख ढुंगानाले देशका अहिलेको परिस्थितिमा आफ्नो धारणा जनतामा लैजान आवश्यक भएकाले चुनावी प्रतिस्पर्धामा आएको बताए । ‘लोकतन्त्र सुदृढीकरण र परिवर्तन संस्थागत गर्न जनतामा आफ्नो धारणा लैजान फेरि उम्मेदवार बनेको हुँ’, ढुंगानाले भने, ‘राजनीतिक परिवर्तन भयो तर जनताले त्यसको प्रतिफल पाएनन् । यस्तो अवस्थामा आफ्नो धारणा लिएर जनतामा जान खोजेको हुँ।’ 

ढुंगानाले पार्टी र आफू दुवैको पहलमा उम्मेदवार भएको बताए । ‘अहिले जुन प्रजातान्त्रिक गठबन्धन बनाउन खोजिएको छ । त्यसलाई अझ व्यापक बनाउनका लागि पार्टी नेतृत्वले मलाई समेटेको हो,’ ढुंगानाले भने।

प्रकाशित: १८ कार्तिक २०७४ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App