२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिक ध्रुवीकरणले मधेसवादीलाई फाइदा

राजविराज- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर दलहरूका बीचमा चुनावी गठबन्धन र पार्टी एकीकरणको लहर नै देखिएको छ । एमाले र माओवादी केन्द्रजस्ता ठूला वामपन्थी शक्तिहरू एकातिर चुनावी गठबन्धन गरेर वाम एकताको बाटोमा अघि बढिरहेका छन् भने मधेस केन्द्रित मानिने नेपाल फोरम लोकतान्त्रिक कांग्रेसमै विलय भइसकेको अवस्था छ । लोकतान्त्रिक धारका अन्य दलसमेत कांग्रेससँग सहकार्यका लागि तम्तयार देखिन्छन् ।

वाम गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धनबाहेक तेस्रो सशक्त विकल्प फोरम–राजपा तालमेल नै हो । कसैलाई पूर्ण बहुमत आउँला भन्न सकिने अवस्था छैन । यस्तोमा सत्ता समीकरणको चाबी मधेसवादीकै हातमा हुनेछ ।’
अशोककुमार चौधरी, अधिवक्ता।

    मधेश केन्द्रित दुई ठूला शक्तिहरू संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल पनि चुनावी तालमेल गर्ने निष्कर्षमा पुगिसकेका छन् । दलहरूबीचको ध्रुवीकरणले बदलिँदो राजनीतिक परिवेशमाझ आगामी निर्वाचनमा मधेस केन्द्रित दलको अवस्था कस्तो होला भन्नेमा विभिन्न खालका आशंका र सम्भावना व्यक्त भइरहेका छन् । यद्यपि मधेस राजनीतिलाई नजिकबाट नियाल्नेहरू चुनावी गठबन्धन र ध्रुवीकरणले मधेसवादी दललाई दोहोरो फाइदा पुग्ने सम्भावना व्यक्त गर्छन् ।
माओवादी केन्द्रलाई घाटा
    ‘अहिलेकै दलीय समीकरणमा चुनाव भयो भने मधेशका मतदातालाई दुविधा हुँदैन, जसले फोरम–राजपा गठबन्धलाई ठूलो फाइदा हुन्छ,’ राजनीतिक विश्लेषक प्राध्यापक डा. हेमकुमार मिश्र भन्छन्, ‘गत चुनावमा जस्तै कोर मधेसका मतदाता कांग्रेस र माओवादीबीच बाँडिने अवस्था रहँदैन भने अर्कोतिर फोरम र राजपाबीच पनि भोट बाँडफाँट हुँदैन । यसले मधेसवादीलाई दोहोरो फाइदा हुन्छ ।’
    सप्तरीलगायतका मधेसका जिल्लामा पछिल्ला चुनावमा माओवादीले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको दृष्टान्त दिँदै उनी भन्छन्, ‘एमालेको तुलनामा माओवादीलाई मधेसका मतदाताले सहज रूपमा स्वीकार गर्दै आएका थिए तर एमालेसंगको वाम गठबन्धनका कारण अबको चुनावमा पक्कै पनि त्यस्तो अवस्था रहँदैन । जसको फाइदा मधेसवादीलाई नै हुनेछ ।’
    मधेस आन्दोलनका बेलामा एमाले नेताहरूले गरेका टिप्पणी, मेची महाकाली अभियानका क्रममा सप्तरीको मलेठमा भएको दुखद घटना, संविधान संशोधनका बेला एमालेले देखाएको व्यवहारलगायतका कारणले मधेसमा एमालेप्रतिको दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेकाले एमालेसँगको सहकार्यले मधेसमा माओवादीलाई ठूलै घाटा हुने मधेसी नागरिक समाजका अगुवा बद्रीनारायण झाको भनाइ छ ।
    ‘मधेसी मतदाता माओवादीप्रति जसरी नरम व्यवहार देखाउँदै आएका थिए, एमालेसँगको गठबन्धनपछि पक्कै पनि त्यसमा परिवर्तन हेर्न सकिन्छ’, उनले भने, ‘माओवादीतिर जाने अधिकांश मधेशी मत अबको चुनावमा फोरम–राजपा गठबन्धनतर्फ डाइभर्ट हुने प्रायः निश्चित छ ।’

मधेशवादीको मत एक ठाउँमा आउने
    यसका अतिरिक्त चुनावमा मधेशवादी शक्ति एक्यबद्ध हुनाले फोरम–राजपा गठबन्धनलाई अधिकतम फाइदा हुने वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईको विश्लेषण छ । ‘पछिल्लो चुनावमा ६ देखि ८ वटासम्म मधेसवादी दल एकाअर्कासँग प्रतिस्पर्धा गरेका थिए तर अहिलेको अवस्था भने निकै फरक छ’, उनी भन्छन्, ‘लोकतान्त्रिक फोरम पनि काँग्रेसमै समाहित भएको छ । विभिन्न दलहरूबीच एकीकरण भएर राजपा निर्माण हुनु र त्यसपछि फोरम र राजपाबीच चुनावी तालमेल हुनु मधेसवादी राजनीतिका लागि निकै उपलब्धिमूलक पक्ष होे ।’ आफैमा भोट काटाकाट गरी चुनावी नोक्सान बेहोर्दै आएका मधेसवादीले आगामी निर्वाचनमा अपेक्षाभन्दा ठूलो उपलब्धि हासिल गर्न सक्ने उनको अनुमान छ ।  
    वर्तमान राजनीतिक समीकरणले एकातिर मधेसवादी दल मधेसी बाहुल्य क्षेत्रमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न सफल हुन्छ भने अर्कोतिर सत्ता समीकरणमा पनि ‘किङ्ग मेकर’ को भूमिकामा रहने जानकारहरूको बुझाइ छ । ‘अबको राजनीतिमा थुप्रै विकल्पको सम्भावना देखिँदैन,  वाम गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धनबाहेक तेस्रो सशक्त विकल्प भनेको फोरम–राजपा तालमेल नै हो’, अधिवक्ता अशोककुमार चौधरी भन्छन्, ‘वर्तमान राजनीतिक अवस्था हेर्दा कसैलाई पूर्ण बहुमत आउँला भन्न सकिने अवस्था छैन । यस्तोमा सत्ता समीकरणको चाबी मधेसवादीकै हातमा हुनेछ ।’
फोरम–राजपा  गठबन्धन एक्लै चुनाव लडे राम्रो     
    दुई ठूला शक्ति वाम गठबन्धन र कांग्रेस आमुन्नेसामुन्ने चुनावी प्रतिस्पर्धामा देखिएका बेला  फोरम÷राजपा गठबन्धनले यी दुईमध्ये कसैसँग चुनावी तालमेल नगर्नु नै राम्रो रहेको आम मतदाताको बुझाइ छ ।
    दुई ठूला राजनीतिक शक्तिहरू मधेश विरोधी हुन भनी मधेसवादी दलहरूले प्रचार गरिरहँदा तीमध्ये कुनै पनि राजनीतिक शक्तिसँग मधेसवादीको चुनावी तालमेल उपयुक्त नहुने मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष प्रा. अशोककुमार झाको भनाइ छ । ‘जसरी एकजुट भएर मधेशवादी शक्ति अगाडि आएका छन्, यसले मधेसका जनतामा निकै सकारात्मक सन्देश गएको छ’, उनले भने, ‘मधेसी मतदाता उत्साहित छन् । थप अन्य शक्तिसँग तालमेल नगरी फोरम–राजपा  गठबन्धन चुनाव लड्यो भने अपेक्षाभन्दा राम्रो नजिता आउने निश्चित छ ।’ उनी भन्छन्, ‘कांग्रेसको मधेसमा रहेको जनाधार फोरम–राजपाको संयुक्त जनाधारभन्दा बढी छैन । त्यसैले मधेस बहुल इलाकाका अधिकांश निर्वाचन क्षेत्रको परिणाम फोरम–राजपा कै पक्षमा आउनेछ ।’
    एमालेसँगको साँठगाँठका कारण मधेसमा माओवादी मदताता मधेसवादीतर्फ डाइभर्ट हुने, फोरम लोकतान्त्रिकको कांग्रेसमा विलयपश्चात् त्यो पार्टीका मधेशी मतदाता ठूलो संख्यामा फोरम–राजपा गठबन्धनतर्फ आकर्षित हुने भएकाले मधेसवादीलाई दोहोरो फाइदा हुने उनको बुझाइ छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App