२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एयरपोर्टमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गर्छ: शंकर पोखरेल

एमाले गण्डकीको अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेल। तस्बिर: उमेश पुन/नागरिक

नेकपा एमाले महासचिव शंकर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गरेको टिप्पणी गरेका छन्।

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले भने ‘एयरपोर्टमा जति बेला सुन समातिने गर्दछ। सत्तापक्षका अनुहारहरु उदाङ्गिने गर्दछन्।’

एमाले महासचिव पोखरेलले जुनसुकै भ्रष्टाचार काण्डको अनुसन्धान गरे पनि अन्ततोगत्वा सत्तापक्षकै नेताहरु नै जेल जाने दाबी गरे। जुनसुकै भ्रष्टाचारका घटनाको छानबिन गर्न आफूहरू तयार रहेको बताउँदै उनले भने, ‘तर हामी एउटै कुरा भन्दछौंः हरेक घटनालाई छानबिन गर, अन्त्यमा जेल जाने भनेको सत्ताको नेतृत्व गरेका गठबन्धनहरु नै जान्छन्, एमालेका नेताहरु होइन। किनकि भ्रष्टाचार उनीहरुको शासकीय चरित्र हो। उनीहरु भ्रष्टाचारका हिमायतीहरु हुन्।’

महासचिव पोखरेलले सरकारको संयन्त्रको योजनामा क्विन्टलका क्विन्टल सुन तस्करी गर्ने काम भइरहेको आरोप लगाए। यस्तो हुँदा पनि सरकार तस्करलाई नियन्त्रण गर्नका लागि निष्पक्ष छानबिन गर्न पनि तयार नभएपछि एमालेले दबाब दिनुपरेको उनले बताए।

उनले जनता अहिले संकटमा रहेको र उद्योगी तथा व्यापारीहरु समस्यामा पर्दा सत्ता निकट रहेका व्यापारीहरु भने अवैध कारोबार गरेर अरबौँ अरब कमाउन सफल भएको दाबी गरे। ‘जनता संकटमा पर्ने, सरकार संकटमा पर्ने, उद्योगी व्यवसायी संकटमा पर्ने तर सत्ताका निकट रहेका व्यापारीहरुले रातारात अरबौँ कमाउने कसरी भयो ?’–उनको प्रश्न थियो।

महासचिव पोखरेलले केपी ओली नेतृत्वको सरकार हुँदा उच्च आर्थिक वृद्धिदर भएपनि अहिले त्यस्तो नहुनुमा गठबन्धन दोषी भएको आरोप लगाए। ‘आज मुलुक चौतर्फी संकटमा छ’,उनले भने, ‘जनताको जीवन असहज बनेको छ। व्यापार व्यवसाय ठप्प छन्। संकटमा पुगेका छन्। उद्योगी, व्यापारीहरुले दिनदिनै आत्महत्या गर्नु परिरहेको हामीले सुन्नु परेको छ। त्यसतर्फ वैधानिक ढंगले काम गर्ने उद्योगी, व्यवसायी निरुत्साहित हुने स्थिति पैदा भएको छ।’

उनले यो गठबन्धन सरकार जनताको सरकार नभई दलाल नोकर शाहहरुको सरकार भएको आरोप लगाए।

सोमबारदेखि पोखरामा सुरु भएको एमाले गण्डकीको अधिवेशन भोलिसम्म चल्नेछ। अधिवेशनको दोस्रो दिन बन्द सत्र चल्ने जनाइएको छ। जसले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। नेतृत्वका लागि सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ।

गण्डकीमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको दुई समूह भएकाले नेतृत्वमा दुवै पक्षकाले दाबी गरिरहेका छन्। भोलि साँझ सम्ममा सहमति नभए निर्वाचन प्रक्रिया सुरु गर्ने एमालेको तयारी छ। निर्वाचनमा उम्मेदवार हुने र चुनाव लड्ने छुट भएपनि प्यानल बनाउन नपाइने एमाले गण्डकीका इन्चार्ज गोकर्ण विष्टले बताए।

अधिवेशनमा ९०७ जना प्रतिनिधि सहभागी भएको एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिए। उनका अनुसार कास्कीबाट १४६, स्याङ्जाबाट ११३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट ११०, नवलपुरबाट १०९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधि छन्।

प्रकाशित: १५ आश्विन २०८० १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App