९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

‘उपप्रमुख समृद्धि कोष’ को महिला आत्मनिर्भर अभियान

तनहुँको भिमाद नगरपालिका ६ का महिला आयआर्जनतर्फ अग्रसर भएका छन्। मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिला आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन्।

महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताइन्। उनले भनिन्, ‘घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर उद्योग सञ्चालनमा ल्याएका हौं। यसबाट उनीहरूले आर्थिक आम्दानी गर्न सक्नेछन्।’

भिमाद नगरपालिकाको ‘उपप्रमुख समृद्धि कोष’ को सहयोगमा उद्योग सञ्चालनका लागि सहयोग पुगेको उनको भनाइ थियो। कोषमार्फत उद्योगका लागि चार लाख रूपैयाँ सहयोग भएको छ भने लागत साझेदारीमा तीन लाख ८५ हजार रूपैयाँ बेहोरिएको सचिव सुवेदीले जानकारी दिए। उनका अनुसार थप रकम समूहमा आबद्ध ३६ जना सदस्यबाट जनही २३ हजार रूपैयाँका दरले संकलन गरिएको छ।

उक्त रकमबाट मिस्टर मेसिन, क्रेज मिल, ग्रेन्डर क्रेज, वेन्ड सिलर, प्याकेजिङ मेसिनलगायत उद्योगका लागि आवश्यक सामग्री खरिद गरिएको सचिव सुवेदीले जानकारी दिए। उनका अनुसार उद्योगबाट सर्फ उत्पादन सुरु भइसकेको छ।

सुवेदीका अनुसार सुरुआती चरणमा एक किलो सर्फलाई तीन सय ५०, पाँच सय ग्रामलाई एक सय ७० र सात सय ग्रामलाई दुई सय ७० रूपैयाँमा बिक्री सुरु गरिएको छ। ‘घरमा यत्तिकै बस्नुभन्दा केही उद्यम गरौं भन्ने भावनासहित आमा समूहमा सल्लाह गरेपछि उद्योग सञ्चालनको प्रस्ताव आएको थियो’, उनले भने, ‘त्यसमा नगरपालिकाले सहयोग गरेपछि सहज भएको छ।’

२०५३ सालमा स्थापित आमा समूहले मठमन्दिर जाने बाटो, सेती नदी किनारमा कोटीहोमस्थलमा प्रतीक्षालय, देउराली बागटार दुर्गा मन्दिर निर्माणमा सहयोग गरेको छ।

नगरपालिकाका हरेक नगरवासीलाई उद्यमसँग जोड्ने उद्देश्यसहित उपप्रमुख समृद्धि कोष अभियान सञ्चालन गरिएको उपप्रमुख शारदा खनालले बताइन्।

उनले भनिन्, ‘हरेक महिला आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौं। उद्यमी बन्न कोषबाट सहयोग गर्छौं।’

महिलाले स्थापना गरेको उद्योगले महिलालाई उद्यमशील बन्न सहयोग पुग्नुका साथै स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिइन्। उनले भनिन्, ‘भिमाद नगरपालिकाको समृद्धिका लागि महिला उद्यमशील हुनुपर्छ। उद्यमी बन्नेलाई अनुदान सहयोग गर्छाै।’

प्रकाशित: १४ आश्विन २०८० ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App