१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रीय सदस्य यादव राजपा प्रवेश

रौतहट- माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्देश्वर राय यादव राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन्। उनी जनयुद्धको समयमा माओवादीले गठन गरेको रौतहटको जनसरकार प्रमुख समेत थिए।

माओवादी केन्द्रले पहिचानको मुद्दालाई छाडेको र पहिचानविरोधी तथा संविधान संशोधन विरोधीसँग पार्टी एकता गर्न लागेको भन्दै यादवले राजपा नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा अध्यक्ष मन्डलका संयोजक एवं सदस्यहरुबाट टीका लगाएर शुक्रबार राजपामा प्रवेश गरेका हुन्। कम्तीमा पच्चीस वर्षदेखि माओवादीमा सक्रिय रहेका यादव दश वर्षसम्म केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। लगातार छ वर्षसम्म रौतहटमा माओवादीको अध्यक्ष रहेका यादवले राजपा प्रवेशपछि मधेसको समस्या समाधानमा राजपाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र राजपाबाटै संविधान संशोधन हुने प्रतिक्रिया दिएका छन्।

रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ बाट लगातार दुई पटक व्यवस्थापिका संसद सदस्यका लागि उम्मेदवार समेत बनेका यादवले फेरि टिकट नपाउने चर्चा चलिरहेको थियो। पहिले छ वटा संसदीय क्षेत्र रहेको रौतहट चारवटा क्षेत्रमा सीमित भएपछि माओवादी केन्द्रले सहरी विकास मन्त्री प्रभु साहलाई उम्मेदवारको रुपमा सिफारिश गरेको छ। पार्टीले यादवलाई सिफारिश नगरेपछि असन्तुष्ट बनेर पार्टी परित्याग गरेको अनुमान गरिएको छ।

प्रकाशित: २७ आश्विन २०७४ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App