५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रस्तावित न्यायाधीश शर्मा भन्छन्- सबैका लागि न्याय सुनिश्चित गर्न लाग्नेछु

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन्।

शुक्रवार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्। प्रस्तावित न्यायाधीश शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताए। अदालतले तर्जुमा गरेको रणनीतिक योजनामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सन्तुलन, नियन्त्रणको सिद्धान्तलाई नेपालको अदालतले अंगीकार गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउनुपर्ने समेत बताए। प्रस्तावित न्यायाधीश शर्माले मानव अधिकारको विश्वव्यापी घोषणा, संवैधानिक तथा कानूनद्वारा प्रदत्त अधिकारको उलंघन भएमा प्रत्येक व्यक्तिलाई सक्षम अदालतबाट प्रभावकारी कानुनी उपचारको व्यवस्था गरेकाले सबैलाई न्यायबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको दाबी गरे।

उनले भने, ‘राज्यका तीन अंगहरुबीच नियन्त्रण र सन्तुुलनको सिद्धान्तको प्रभावकारिताको लागि स्वतन्त्र न्यायपालिकाको महत्वपूर्ण भुमिका रहेको हुन्छ । संविधानद्वारा प्राप्त कार्यादेशको आधारमा सबैका लागि न्याय सुनिश्चित गर्ने परिदृश्यका साथ स्थापित न्यायिक मूल्य, मान्यताको आधारमा अदालतबाट न्याय सम्पादनको काम हुँदै आएको छ । संविधान, कानून र न्यायका मान्य सिद्धान्तका आधारमा नेपालको न्याय पालिकाले स्वच्छ एवं निष्पक्ष न्याय सम्पादन गर्ने मूल ध्येयका साथज अदालत व्यवस्थापनका विविध पक्षको सुधारका लागि रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । रणनीतिक योजना तर्जुमाको पृष्ठभूमिको कुरा गर्दा न्यायमा ढिलासुस्ती र खर्चिलोपनलाई राम्रोसँग सम्बोधन नगर्ने हो भने न्यायालयको जनताको विश्वास पाउन कठिन हुन्छ ।’

उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहेका छन्। उनलाई न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: २९ भाद्र २०८० ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App