‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ, देश भक्त छोरो मर्दा देशै रुँदो रै’छ।’ एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधनपछि अनिल पौडेलकोे सिर्जना र जेबी टुहुरेको स्वर रहेको एक गीतको अंंश हो यो। भण्डारीको निधन भएको ३० वर्षपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। नेम्वाङको निधनपछि सरकारका प्रतिनिधि र राजानीतिक दलले उनलाई सर्वदलीय सम्मान दिएका छन्, जीवित हुँदासम्मका आलोचक अहिले प्रशंसामा जुटेका छन्।
राजकीय सम्मानका साथ बिहीबार नेम्वाङको अन्त्येष्टि गरिएको छ। उनको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक बिदा दियो। त्यसले नेम्वाङलाई कति सम्मान पुग्यो वा पुगेन सरकारले जान्ने कुरा हो। तर आर्थिक अवस्था जरजर भएका बेला सरकारले गरेको एक दिनको बिदाले देशलाई भने ठुलो नोक्सानी भएको छ। ‘बाँचुन्जेल सत्तोसराप गर्ने तर मरिसकेपछि गोहीको जस्तो आँसु झार्नुको कुनै अर्थ छैन,’ काठमाडौं नयाँ सडकमा कम्प्युटर पसल गर्दै आएका श्याम खतिवडाले भने, ‘सरकारी तलबभत्ता खानेलाई बिदा हुनु र नहुनुमा केही मतलब छैन तर हामी जस्तो गरिखानेका लागि एक दिन बिदा हुनु अहिलेको अवस्थामा अर्को दिन भोकै पर्नु हो।’
राजनीतिक दलका नेता र नेपाली समाजको चरित्र द्वैध रहेको आरोप लगाउँदै खतिवडाले बाँचुन्जेल त्यही मान्छेलाई राक्षसको जस्तो व्यवहार गर्ने र मरेपछि भगवान् बनाउने गरिएको बताए। संविधानसभाबाट संविधान निर्माण गर्दा मधेसी, महिला र जनजातिको आवाज सुन्नुको साटो अध्यक्षको हैसियतमा नेम्वाङले पेलेको गुनासो गर्दै आएका नेताहरूले उनको निधनपछि समन्वयकारी नेता भन्दै प्रसंशा गरेको सुन्दा आफू दंग परेको खतिवडाले बताए।
‘हिरो हो कि जिरो हो, बाँच्दै भन्नुपर्यो,’ उनले भने, ‘मरेपछिको प्रशंसाको के अर्थ?’
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका दलबिच संविधान निर्माणमा सहमति जुटेपछि मधेसवादी दलहरूले उठाएका न्यूनतम विषय समेटेर उनीहरूलाई पनि संविधानमा हस्ताक्षर गर्ने वातावरण नबनाएको आरोप नेम्वाङमाथि लाग्ने गरेको छ। त्यतिबेला संविधानमा हाम्रो सुनुवाइ भएन, मस्यौदामाथि आएका सुझाव पोका नखोलीकन संविधान बनाइयो भन्दै रोइलो गरेका नेताहरू अहिले नेम्वाङको प्रशंसामा जुटेको नुवाकोटका सीताराम पाण्डेले बताए। नेम्वाङ निवासमा बिहीबार बिहान भेटिएका कुरियर व्यवसाय गर्दै आएको बताउने पाण्डेले भने, ‘समकालीन नेताहरूमा उहाँ (सुवास नेम्वाङ) कम विवादित हो। त्यसको मतलब महान् हो भन्न आवश्यक छैन।’
सबैको असल बन्न खोज्दा संविधानसभा अध्यक्षका रूपमा नेम्वाङले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको विश्लेषण गर्दै उनले भने, ‘सभाध्यक्षको हैसियतमा २०६९ जेठ १४ गते बैठक राख्न बानेश्वर जानुपर्ने व्यक्ति बिहान ११ बजेका लागि बैठक बोलाएर रातिसम्म सिंहदरबार बसेर संविधानसभा विघटन भएको होइन र?’ नेम्वाङले चाहेको भए पहिलो संविधानसभाबाटै संविधान निर्माण हुन सक्ने तर्क गर्दै पाण्डेले भने, ‘उहाँले चाहेको भए अहिलेको संविधान पनि कम विवादित र थप समृद्ध बन्न सक्थ्यो जस्तो लाग्छ।’
२०६२÷६३ सालको आन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाको जेठ ४ गतेको घोषणामा नेम्वाङले ‘धर्म निरपेक्षता’ को प्रावधान घुसाइदिएको भन्दै उनको आलोचना हुँदै आएको छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्वास्थ्यले साथ नदिएपछि घोषणाको कपी नेम्वाङलाई पढ्न दिएको र त्यसमा उनले धर्म निरपेक्षता घुसाइदिएको आरोप छ।
तत्कालीन प्रधानमन्त्री माधव नेपालले पदबाट राजीनामा दिएपछि संसद्ले लामो समयसम्म प्रधानमन्त्री दिन सकेन तर नेम्वाङ निकास खोज्ने प्रयास गरेनन्। बरु प्रधानमन्त्रीका एक्ला उम्मेदवारलाई दिनहुँ परीक्षण गरेर संसदीय शासन व्यवस्थाको खिल्ली उडाउने काम गरेको आरोप पनि नेम्वाङमाथि लागेको थियो।
नेम्वाङमाथि तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारलाई मध्यावधिमा जान सुझाएको र अदालतले पनि मन्त्रिपरिषद्को निर्णयलाई सदर गर्ने भन्दै नेतृत्वलाई ‘मिसगाइड’ गरेको आरोप एमालेकै नेताहरूले लगाउने गरेका छन्। २०४७ सालको संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको जान्दाजान्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा पनि मूकदर्शक बनेर बसेको आरोप पनि नेम्वाङमाथि लागेको थियो। एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेकपा भंग र एमाले विभाजनको अवस्थामा पुग्दासमेत नेम्वाङले समन्वय गर्नुको साटो केपी ओलीको फेरो समाएर उभिएको आलोचना खेप्नुपरेको थियो। पछिल्लो समयमा उनै ओलीको कोपभाजनमा नेम्वाङ परेको बताउँदै एमालेका एक नेताले भने, ‘अध्यक्षले उहाँलाई उपयोगचाहिँ धेरै गर्नुभयो तर जिम्मेवारी दिन चाहनु भएन।’
एमालेको चितवनमा भएको दसौं महाधिवेशनपछि नै चिसिएको ओली–नेम्वाङ सम्बन्धलाई राष्ट्रपति निर्वाचन हुँदै पार्टीको प्रदेश निर्वाचनले अझै टाढा पुर्याएको विश्लेषण ती नेताको छ। पछिल्लो पटक संसद् अवरोध नियमविपरीत भएको नेम्वाङ धारणप्रति असन्तुष्ट ओलीले दलको बैठकमै उनको आलोचना गरेको ती नेता बताउँछन्। ती नेताका अनुसार नेम्वाङको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले ‘मेरा लागि उहाँ (नेम्वाङ) पार्टी उपाध्यक्ष मात्र होइन, हितैषी मित्र, सुख दुःखको साथी हुनुहुन्थ्यो’ त भन्नुभयो तर वास्तवमा अहिले सम्बन्धन राम्रो थिएन।
गत मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि माओवादी केन्द्रले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन गर्छ कि भन्ने आश हुँदासम्म ओलीले राष्ट्रपतिका लागि डोरमणि पौडेलसहितका नेता खोज्दै हिँडेको दाबी ती नेताको छ। ‘जब अन्य दलको समर्थन हुँदैन भन्ने पक्का भयो तब ओलीले राष्ट्रपतिमा नेम्वाङलाई अघि सारे,’ ती नेताले भने, ‘लोक रिझ्याइँका लागि सबैले नक्कली कुरा गरेका छन्।’
ओलीले चाहेका भए नेम्वाङलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता वा वरिष्ठ उपाध्यक्ष पनि बनाउन सक्ने थिए। त्यतिमात्र होइन, कांग्रेस, माओवादीसहितका अन्य दल र नागरिक समाजले भनेजस्तै नेम्वाङ राम्रो र असल नेता हुन भने सबै मिलेर उनलाई किन प्रधानमन्त्री वा राष्ट्रपतिको नबनाएको त भन्ने प्रश्न उठेको छ। नेम्वाङको निधनपछि सबैले उनको मुक्तकण्ठले प्रशंसा गरेको बताउँदै नेम्वाङ निवासमै भेटिएका चितवनका रामप्रसाद रिजालले भने, ‘म उहाँ (नेम्वाङ) लाई नेता मान्छु तर भगवान् होइन।’ नेताहरूको भनाइ सत्य हो भने, यति असल र सबैको साझा मान्छेलाई प्रधानमन्त्री वा राष्ट्रपति किन नबनाएको भन्ने प्रश्न गर्दै रिजालले भने, ‘सधैं नक्कली कुरा मात्र हुन्छ। कहिले हामी मान्छेलाई जिउँदै दानव बनाउँ छौं, कहिले मरेपछि भगवान् बनाउँछौं। जिउँदै वा मरणपछि पनि जसको जे हैसियत र अवस्था हो त्यही भनिदिनु पर्ने हो तर त्यस्तो भएको छैन।’
प्रकाशित: २९ भाद्र २०८० ०३:३७ शुक्रबार