१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चार दशकदेखि एउटै चुनावी नारा

वीरगन्ज- पर्साको महादेवपट्टी गाउँमा स्थानीय तह चुनावको उत्साह फैलिएको छ । २०३६ सालको जनमत संग्रहमा बहुदल र निर्दलका पक्षमा मतदान गरेको पुस्ता अहिले पनि भोट हालेर प्रतिनिधि चुन्ने गन्थनमा छ । यतिका वर्षसम्म न गाउँ फेरिएको छ, न गाउँपालिकामा उम्मेदवार बनेका विभिन्न दलका नारा ।
‘फरक यति मात्र छ, उम्मेदवारहरू उतिबेला बयल गाडामा घुम्थे, अहिले गाडीमा घुम्दैछन्, उतिबेला ढोल–तासा बजाएर प्रचार हुन्थ्यो अहिले लाउड स्पिकर छ,’ महादेवपट्टीका महादेव महतोले भने, ‘मेरो पहिलो मतदान थियो त्यो, उतिबेला पनि विकास हुन्छ भनेका थिए । मैले पहिलोपटक विकास भन्ने कुरा सुनेको थिएँ । हरेक चुनावमा विकास हुन्छ भन्छन् तर यत्तिका वर्ष बित्दा पनि विकास हेर्न भने पाइएन ।’ उनले अब साँच्चिकै विकास गर्ने नेता चुन्न चाहेको बताए । ‘जनताको सेवा गर्ने मान्छे चुनियोस्, हामी विचार गर्दैछौं, उम्मेदवारका कुरा सुन्दैछौं, उनीहरूको विगत पनि हेर्दैछौं ।’
    उत्तरमा ठोरी गाउँपालिका, दक्षिण धोबिनी, पूर्व जगरनाथपुर र पश्चिममा भारतीय सिमानाले घेरिएको महादेवपट्टी जिराभवानी गाउँपालिकामा पर्छ । गाउँलाई छेकेको जिराभवानी खोलामा २ वर्षअघि मात्र एउटा पक्की पुल बनेपछि स्थानीयलाई ओहोरदोहोर गर्न सहज भएको छ ।
गाउँमा माध्यमिक विद्यालय, स्वास्थ्य चौकी र व्यवस्थित सडकजस्ता पूर्वाधार छैनन् । स्थानीय मदनजी मुखियाले १६ वर्षको लक्का जवान हुँदा ३०२६ को जनमतसंग्रह देखेका थिए । हरेक पटक चुनावताका ‘अब केही होला’ भन्ने आशा जाग्ने र चुनावपछि भरोसा टुट्ने गरेको उनले सुनाए ।
मोटो रकम लगानी गरेर चुनाव जितेपछि त्यसलाई असुल्ने उद्देश्य लिएकालाई भोट नदिने निष्कर्षमा उनी पुगेका छन् । ‘ठूला दलका उम्मेदवारले पैसाको खोलो बगाएका छन् । गरिब र अबुझ जनता बहकाउमा पर्ने डर छ,’ उनले भने, ‘म त गाउँमा शिक्षाको उज्यालो ल्याउने उम्मेदवारको खोजीमा छु । अन्धो सरकारले हामीलाई आजसम्म देखेन, अब गाउँमै सरकार चुनिँदैछ भन्दैछन् ।’ चुनाव प्रचारप्रसार बढेपछि गाउँलेले बुधबार छुट्टै भेला आयोजना गरेका थिए । तर भेलामा कसलाई भोट दिने भन्ने विषयमा एकमत हुन सकेन ।
भेलामा चुनावको कुरा सुन्न आएकी ५० वर्षीया मीनादेवी ठाकुरले भनिन्, ‘विकास सुनेको छु, देखेको छैन, अब केही होस् भन्ने चाहना छ । तर अवस्था बदलिएलाजस्तो संकेत देखिँदैन ।’
उम्मेदवारका चिप्लामिठा कुरामा स्थानीय फस्न चाहँदैनन् तर उनीहरूलाई कसरी नफस्ने भन्ने थाहा छैन । त्यही निष्कर्ष निकाल्न उनीहरूले छलफल थालेका हुन् । गाउँको त्यो चौताराअगाडि प्रत्येक दिन उम्मेदवार आउने र आफ्नो कुरा सुनाएर फर्किने क्रम बढेको छ । गाउँमा जताततै    झन्डा र पोस्टर–पम्पलेट देखिन्छ ।
३० वर्षीय रामागामा पटेलका लागि यो चुनाव भोट हाल्ने पहिलो अवसर हुनेछ । उनी उत्साहित छन् नयाँ अनुभव बटुल्न । उम्मेदवारहरूले महŒव दिएको देख्दा उनी दंग पनि छन् । उनले सडक, सिँचाइ र स्कुल बनाउने क्षमता भएको प्रतिनिधि छान्न चाहेको बताए ।
महादेवपट्टीजस्तै पर्साका सबैजसो गाउँ चुनावमय भएको छ । सहरभन्दा गाउँको चुनाव प्रचारप्रसार तुलनात्मक रूपमा मर्यादित देखिएको सेढवाका कृष्णमोहोन साहले बताए । पर्सामा वीरगन्ज महानगरपालिका बाहेक ३ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी जम्मा १४ वटा स्थानीय तह छन् ।
परम्परागत रूपमा कांग्रेस र एमालेको प्रतिस्पर्धा रहने गाउँ क्षेत्रमा अहिले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नयाँ प्रतिस्पर्धी भएर देखा परेका छन् ।

प्रकाशित: २९ भाद्र २०७४ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App