१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुवासचन्द्र नेम्वाङ- सुन्तलाबारीदेखि बालुवाटारसम्म

नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको गएराति हृदयघातका कारण निधन भयो । नेम्बाङ इलाम क्षेत्र नम्बर २ बाट पाँचौं पटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य थिए ।  

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय नेम्बाङ कानुन व्यवासायी हुँदै पार्टी राजनीतिमा होमिएका थिए । २०२९ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका नेम्बाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भए । उनी २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य बने । ०५१ मै उनी कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बनेका थिए भने त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्रीसमेत बनेका थिए । २०५६, ०७४ र २०७९ सालका संसदीय निर्वाचन तथा २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा नेम्बाङ इलामबाट विजयी बनेका थिए ।  

संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष हुँदै २०६३ वैशाख ३० देखि माघ १ सम्म सभामुख बनेका नेम्बाङ ०६३ माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म पुनः सभामुख निर्वाचित भए । २०६४ सालको संविधानसभा निर्वाचनपछि उनी ०६५ साउन १२ देखि २०६९ जेठ १४, २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म संविधानसभा अध्यक्ष र व्यवस्थापिका संसद्को सभामुख भए । उनी २०३३ सालमा राजकाज मुद्दामा सात महिना जेल परेका थिए ।  

नेम्बाङकै नेतृत्वमा संविधानसभाले २०७२ सालमा नेपालको संविधान जारी ग¥यो । एमालेको स्थायी कमिटी सदस्य हुँदै अहिले उनी पार्टी उपाध्यक्ष थिए । उनी पछिल्लो राष्ट्रपति निर्वाचनमा समेत एमालेबाट उम्मेदवार बनेका थिए ।

इलाम सदरमुकामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्बाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ मा जन्मिएका नेम्बाङको बाल्यकाल इलाममै बित्यो । बुबा अदालतको न्यायाधीश भएकाले नेम्बाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए । उनले बिए बिएल अध्ययन गरेका थिए । नेम्बाङले काठमाडौंमा पायोनियर ल फर्मसमेत सञ्चालन गरेका थिए ।  

 २०७९ सालको निर्वाचनमा नेम्बाङ आफ्नै ३० वर्षदेखिको विरासत जोगाउँदै एक सय १४ मतान्तरले विजयी बनेका थिए । नेम्बाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस जिल्ला सभापति डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । नेम्बाङले निर्वाचन जितेको इलाम क्षेत्र २ मा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा ६, ७, ८ पर्छन् ।  

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ इलाम २ बाटै ३६ हजर ५ सय १७ मत ल्याएर विजयी बनेका थिए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्बाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याएका थिए । २०७० को संविधानसभा निर्वाचनमा नेम्बाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार ८ सय २८ मत ल्याएका थिए ।  

प्रकाशित: २६ भाद्र २०८० ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App