१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कडा सुरक्षाबिच युवा संघको प्रदेश अधिवेशन

राष्ट्रिय युवा संघको कोसी प्रदेश प्रथम अधिवेशनलाई सम्बोधन गर्दै एमाले नेता सुवासचन्द्र नेम्वाङ। तस्बिर: रोहित/नागरिक

पहिचानवादीको विरोधबिच नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कोसी प्रदेशको पहिलो अधिवेशन धरानमा सुरु भएको छ। धरान ८ स्थित लांघाली वन समूहपरिसरमा कडा सुरक्षा घेराबिच युवा संघको पहिलो अधिवेशन सुरु भएको हो।

शनिबार र आइतबार हुने अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गरेका थिए। संघको कोसी अधिवेशन धरानमा हुने भनी प्रचार सुरु भएदेखि नै पहिचानवादी र एमाले नेता तथा कार्यकर्ताबिच सामाजिक सञ्जालमा विवाद सुरु भएको थियो।

पहिचानवादीले ब्यानर, स्वागत गेटलगायत प्रचार सामग्रीमा कोसी प्रदेश नलेख्न माग गर्दै विरोधमा उत्रने घोषणा गरेका थिए। पहिचानवादीको विरोध र दबाबकै कारण धरान १५ स्थित चुम्लुङ हिममा निर्धारित कार्यक्रम सारेर लांघाली वन समूहमा गर्नुपरेको थियो।

स्थिति तनावपूर्ण हुने देखिएपछि पहिचानवादी र एमाले नेताले छलफल गरेर बजार, चोकमा कोसी प्रदेश लेखिएको ब्यानर, स्वागत गेट नराख्ने समझदारी बनेको थियो। तर कार्यक्रमस्थल पुग्ने तीनकुनेमा बनेको स्वागत गेटमा कोसी प्रदेश लेखिएको पाइएपछि विरोध जनाउनुपरेको राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देनले बताए। एमाले पार्टी र अधिवेशनको विरोध नभई सहमतिविपरीत कोसी प्रदेश लेखिएको स्वागत गेट राखेकामा मात्र विरोध जनाएको उनले बताए।  

नाराबाजी गर्दै कोसी प्रदेश लेखिएको स्वागत गेट हटाउन माग गरे पनि ठुलो संख्यामा प्रहरी परिचालन भएकाले पहिचानवादी सफल भएनन्। सुरक्षाका लागि इटहरी, विराटनगरबाटसमेत थप जनपद प्रहरी, सशस्त्र प्रहरी पनि धरानमा परिचालन गरिएको थियो। एमाले धरानका उपाध्यक्ष पारस काङमाङले पहिचानवादीको माग एमालेसँग नभई प्रदेशसभासँग सम्बन्धित रहेको प्रतिक्रिया दिए। यद्यपि उनले पहिचानवादीको आन्दोलनलाई आफूले स्वाभाविक रूपमा लिएको पनि बताए। 

प्रकाशित: २४ भाद्र २०८० ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App