६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

टिकटमा पैसावालाको दबदबा

सिरहा- तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सिरहाको महेशपुरपतारी गाउँपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा आकांक्षी धेरै थिए । तर, पार्टीले दुइ दिनअघि एमाले पार्टीबाट भित्रिएका म्यानपावर व्यवसायी चतुरानन्द ठाकुरलाई टिकट दियो । ‘आर्थिक रुपमा सशक्त हुनु र पार्टीका नेतासँग राम्रो सम्बन्ध भएकाले उहाँले टिकट पाउनुभयो,’ कांग्रेसनिकट एक कार्यकर्ताले भने, ‘पार्टीमा राजनीतिक लगानी गरेको भन्दा पनि चुनावमा आर्थिक लगानी गर्नसक्ने व्यक्तिलाई टिप्दा इमानदार कार्यकर्ता ओझेलमा पर्ने अवस्था आयो ।’

राजनीतिक दलले उम्मेदवार छान्दा भोलि स्थानीय तहमा राजनीतिक नेतृत्व गर्न सक्नेभन्दा पनि पैसा खर्च गरेर चुनाव जित्न सक्नेलाई प्राथमिकता दिएको देखिन्छ ।

आर्थिक हैसियत बलियो भएकाले पैसा खर्च गरेर पनि जित्न सक्छ’ भन्ने मानसिकता दलमा देखिनु राम्रो नभएको लहानस्थित एभरेस्ट कलेजका प्राध्यापक चक्रपाणि दाहालले बताए । ‘यस्ता मान्छे चुनिएर गए भने भोलि स्थानीय तहको मर्ममाथि नै प्रहार हुन्छ, नीतिगत भ्रष्टाचार मौलाउँछ,’ उनको विश्लेषण छ ।
राजनीतिलाई जीवनको अभिन्न अंग बनाएका कार्यकर्तालाई उछिनेर टिकट पाउने ठाकुर एक्लो व्यक्ति होइनन् ।  कांग्रेसको राजनीतिमा सक्रिय औरही गाउँपालिकाका सिद्धार्थ यादवले माओवादी केन्द्रका तर्फबाट यो गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गरएका छन् । कांग्रेसको विरासत त्यागेर माओवादीमा उनको प्रवेशको कारण बन्यो पहँुचको आधारमा दिइएको टिकट । तरुण दलको जिल्ला अध्यक्षसमेत रहेका उनी कांग्रेसबाटै औरही गाउँपालिका अध्यक्षका आंकाक्षी थिए तर सुभाष यादवले टिकट पाएपछि उनी असन्तुष्ट बने । ‘आफू हरेक हिसाबले सक्षम हुँदा पनि टिकटमा बेइमानी भएपछि कांग्रेसमा बसिरहने औचित्य रहेन’, उनले भने ।
जीवनको अधिकतम समय व्यापार व्यवसायमा बिताएर चुनावमा टिकट हात पार्ने थुप्रै ‘भाग्यमानी’ मध्ये एक हुन् लहान–१९ सोनमती मझौराका कमरुद्दिन राइन । कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेका राइनले टिकट पाउनुको कारण हो उनको आर्थिक हैसियत । आकांक्षी शत्रुधन मण्डललाई उछिन्दै उनले टिकट हत्याए । यसैकारण मण्डलले कांग्रेस परित्याग गरी बुधबार राजपाबाट वडाध्यक्ष उम्मेदवारमा मनोनयन दर्ता गराएका छन् ।
लहान–१० को वडाध्यक्षमा कांग्रेसले नवप्रवेशी विनोद बिसुन्खेलाई टिकट दिएपछि सक्रिय कार्यकर्ता डिल्ले मिझारले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । ‘पार्टीमा नवप्रवेशीले टिकट पाएपछि हामी यहाँ बसिरहनुको मतलब नै भएन’, मिझारले बुधबार नागरिकसँग भने, ‘पैसा र पहँुचका आधारमा उम्मेदवार टिपेर इमानदार कार्यकर्तालाई पाखा लगाउने काम भयो ।’
टिकट पाउनेमा नवप्रवेशी पैसावालको हालीमुहाली भएको भन्दै कांग्रेस नगर सचिव कृष्णहरि गैरे यसअघि नै कांग्रेस छोडेर एमालेमा प्रवेश गरिसकेका छन् ।
प्रमुख दलमा मात्र नभई मधेस केन्द्रित दलमा पनि उही प्रवृत्ति देखिएको छ । यी दलमा पनि पैसावालाका अगाडि सक्रिय कार्यकर्ता ओझेल परेका छन् । गोलबजार नगरपालिकामा संघीय समाजवादी फोरमले इँटाभट्टा सञ्चालक कृष्णा सिंहलाई मेयरको टिकट दियो । पुराना आकांक्षीलाई उछिन्दै सिंहले टिकट हत्याएपछि असन्तुष्टि चुलिएको छ ।
२० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा राजनीतिक दलले उम्मेदवार छान्दा भोलि स्थानीय तहमा राजनीतिक नेतृत्व गर्न सक्नेभन्दा पनि पैसा खर्च गरेर चुनाव जित्न सक्नेलाई प्राथमिकता दिएको देखिन्छ । पैसा खर्च गरेर चुनाव जितेको मान्छेले त्यसको असुली गर्ने र कार्यकर्तालाई खुसी बनाउन नीतिगत भ्रष्टाचारको प्रवृत्ति बढ्ने प्राध्यापक दाहाल बताउँछन् ।
धनगडीमाई नगरपालिकामा कांग्रेसबाट मेयर उम्मेदवार बनेका पञ्चलाल महतो अर्का आकांक्षी जोगी साहभन्दा नयाँ हुन् । तर, जोगीको अगाडि पञ्चलालको आर्थिक हैसियत तगारो बन्यो । पूर्व गाविस अध्यक्ष साहले टिकट नपाउने भएपछि पार्टी छाडे र संघीय समाजवादी फोरम प्रवेश गरे । उनी फोरमबाट धनगडीमाई नगरपालिकाको मेयर उम्मेदवार बनेका छन् ।
    ‘अब त निष्ठा र इमानको राजनीति भन्ने नै रहेन, जसले मोटो पैसा खर्च गर्छ उसैले पद प्राप्ति गर्छ,’ लहानका एक कांग्रेस कार्यकर्ताले भने, ‘राजनीति गर्न पहिले पैसा कमाउनुपर्ने रहेछ ।’

धनाढ्यबीच रस्साकस्सी
गोलबजार नगरपालिकाको मेयर पदका प्रमुख दाबेदार भए पनि अन्तिममा किनारा लगाइएपछि एक नेताले भने, ‘यहाँ त टिकट पाउन पनि पैसा, जित्न पनि पैसा चाहिने रहेछ । हामी त त्यत्तिकै राजनीति गरिरहेका रहेछौं ।’ उनको यो भनाइले पछिल्लो समय चुनावमा आर्थिक हैसियत कत्तिको प्रभावी बन्दैछ भन्ने देखाउँछ ।
आर्थिक हैसियत कमजोर भएकै कारण आफू टिकट पाउनबाट वञ्चित भएको ती नेताको भनाइ छ ।   उनको भनाइलाई पुष्टि गर्न प्रमुख चार दलका उम्मेदवारको आर्थिक ‘अनुहार’ पर्याप्त छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका मेयर उम्मेदवारसँग बलियो आर्थिक हैसियत जोडिएको छ । चुनाव जित्न उम्मेदवारको आर्थिक पक्ष बलियो हुनैपर्ने भित्री आधार बनाउँदै सम्बद्ध दलले टिकट वितरण गरेको स्थानीय बुद्धिजीवी बताउँछन् ।
लालबाबु साह नेपाली कांग्रेसका तर्पmबाट मेयरका उम्मेदवार हुन् । उनी जग्गा कारोबारी हुन् । उनको गोलबजारमा बलियो आर्थिक हैसियत छ ।
माओवादी केन्द्रका मेयर उम्मेदवार देवनाथ साह  गोलबजारका ‘धनाढ्य’ हुन् । उनको आर्थिक हैसियत निरन्तर उकालो लागिरहेको छ । गोलबजारमै दुईवटा इँटा उद्योग, जग्गाको कारोबारसँगै उनी निर्माण व्यवसायी पनि हुन् । उनी माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री विश्वनाथ प्रसाद साहका दाइ हुन् । ‘चुनावी रणनीति बुझेको र पैसा पनि खर्च गर्नसक्ने’ विश्वासका आधारमा माओवादी केन्द्रले उनलाई टिकट दिएको कार्यकर्ता बताउँछन् ।
नेकपा एमालेबाट मेयर उम्मेदवार श्याम श्रेष्ठ पनि गोलबजारका धनाढ्य हुन् । उनको यहाँ इँटा उद्योगसँगै अन्य व्यापार छ । संघीय समाजवादी फोरमबाट मेयरका उम्मेदवार कृष्णा साह अर्का धनाढ्य हुन् । उनको गोलबजारमा दुईवटा इँटा उद्योगसँगै अन्य व्यापार छ ।
‘अहिले मैदानमा उत्रिएका सबै उम्मेदवारमा चुनावी परिणाम प्रभावित बनाउने हैसियत देखिन्छ,’ गोलबजारका एक राजनीतिकर्मीले भने, ‘जसले बढी खर्च गर्न सक्यो, उसैले नतिजा पोल्टामा पार्छ ।’

प्रकाशित: २२ भाद्र २०७४ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App