४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शेरबहादुर देउवासँग मिलेको छैन: शेखर कोइराला

फाइल तस्वीर

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश अराजकतातर्फ जान लागेको बताएका छन्। कांग्रेस नेता कोइरालाले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देशमा आर्थिक, राजनीतिक, धार्मिक तथा कुटनीतिक अराजकता देखिन थालेका बताएका हुन्।

देश सोचे भन्दा अफ्ठेरो अवस्थामा रहेको बताउँदै कोइरालाले अहिलेको अवस्था कायमै रहे तिहारपछि देशमा अराजकता अझै बढ्ने संकेत गरे। ‘प्रधानमन्त्री देखि राजदुतसम्म लोकरिझ्याइँ कुरा बोल्न थालेका छन्,’ उनले भने,‘जनतामा आशा जगाउन नसके तिहारपछि देश अराजकतातिर जानसक्छ।’

कुटनीतिक क्षेत्रमा समेत अराजकता देखिएको भन्दै प्रधानमन्त्रीको चीन भ्रमण दाहालका लागि परिक्षा भएको बताउँदै उनले भने ‘विदेशी राजदूतले पनि पपुलिजमको कुरा बोल्न थाले, देश अराजकतामा गएको छ।’ चिनियाँ राजदूतको अभिव्यक्तितर्फ संकेत गर्दै भने,‘पाहुनाले अर्काको देशमा आएर जेपायो त्यही बोल्न मिल्दैन। प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ। हेरौं कसरी म्यानेज गर्नुहुन्छ।’

कोसी प्रदेशको नामकरण विवाद उक्त प्रदेशमा मात्र सिमित नभएको धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाए। ‘जातीय राज्यको कुरा प्रचण्ड (पुष्पकमल दाहाल)ले बोलेका छन्। माओवादी अध्यक्ष भएर बोलेको भए केही थिएन तर देशको प्रधानमन्त्रीले आदिवासी जनजाति दिवसको दिन बोलेपछि परिस्थिति अर्कै भएको छ,’ कोइरालाले भने,‘धरानको मेयरले मन्दिर अघि चर्च बनाउने, सामाजिक सञ्जालमा गोरु काटेर खाएको विषय हेदाए यो धर्मको मात्र कुरा हैन भन्ने लाग्छ।’

धरानमा सामाजिक र धार्मिक सद्भाव भड्किने अवस्था आउन लागेपछि त्यहाँ पुगेर फर्केका कोइरालाले विभिन्न धर्म गुरुहरूसँग पनि भेटेको सुनाउँदै भने,‘देख्दा धार्मिक लडाइँ लाग्थ्यो तर धरान गएपछि विषय यही सिमित होलाजस्तो लाग्दैन। सेक्युरिटीका साथीहरू भेट्दा कुनै पनि बेला जातीय द्वन्द्व भड्किन सक्छ भन्नुहुन्छ।’

संघीयता संसार भएकार कम्युनिस्टहरूले नचाहने र उनीहरूको सिद्धान्तमा पनि नपर्ने धारणा राख्दै कोइरालाले भने,‘उहाँ त कम्युनिस्टका नेता मात्र होइन हाम्रा (नेपाली कांग्रेस)का नेताहरू पनि विपक्षमा देखिए।’ संविधानसभाबाट नयाँ संविधान जारी भएपछिका कुनै पनि प्रधानमन्त्रीले प्रदेशलाई अधिकार दिन नचाहेको कोइरालाको बुझाइ छ। संघीयतासहित अहिलेको परिर्वतनबाट दलहरू पछि हट्न खोजेको त होइन भन्ने कोइरालाले आशंका व्यक्त गरे।

आफू पपुलिजमको पक्षमा नभएको बताउँदै कांग्रेस नेता कोइरालाले भने,‘अहिले निरासको व्यापार भइरहेको छ। त्यसको पक्षमा छैन।’ सभापति शेरबहादुर देउवासँग मिलेको आरोप खेप्दै आएका कोइरालाले त्यसको खण्डन गरे। ‘म मध्यमार्गी मान्छे हुँ,’ उनले भने, ‘शेरबहादुरजीसँग मिलेको होइन र छैन।’  पार्टी महामन्त्री गगनकुमार थापा र आफूबीच सम्बन्धन समस्या नभएको धारणा राख्दै कोइरालाले पार्टीको १५औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्ने बताए। आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार हुने बताउँदै उनले भने,‘म सभापतिको उम्मेदवार होइन भनेको छैन तर अहिले देखि नै महाधिवेशनको चर्चा टु अर्ली भयो।’

प्रकाशित: २२ भाद्र २०८० १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App