२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पहिचानको नामाङ्कन नहुनुमा पार्टीको गम्भीर गल्तीः माओबादी केन्द्रीय सदस्य मुकेश

नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य तथा पार्टीको तर्फबाट सञ्चालित ‘जनतासँग माओबादी–रुपान्तरण अभियान’का नेता मुक्साहाङ मेयाङबो (मुकेश)ले प्रदेश १ को नामाङ्कन गर्दा पहिचान नसमेट्नु पार्टीको गम्भीर गल्ती भएको बताएका छन्। शुक्रबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा नेता मेयाङबोले त्यो कमजोरी पार्टीले स्वीकार गरिसकेर पहिचानसहितको पुनः नामाकरण गर्ने अभियान चलाईरहेको बताए।  

प्रेस सेन्टर नेपाल उदयपुरको आयोजनामा भएको सम्मेलनमा मेयाङबोले माओबादीले जनयुद्धकालदेखि नै पहिचानको मुद्धा उठान गरेर अभ्याससमेत गर्दै आएकोमा विस्तृत शान्ति सम्झौतापछि आफ्ना मुद्धाहरु स्थापित गर्ने सवालमा कमजोरी हुँदै आएको स्वीकारे। संविधानको अधिकार प्रयोग गर्दै बहुमतबाट प्रदेशको नाम राखेको भए पनि जनताले ठाडै अस्वीकार गरेपछि पार्टीले आफ्नो कमजोरी ठहर गर्दै निर्णय सच्याएर पहिचानमा आधारित नाम राख्ने प्रयासमा माओबादी लागिरहेको उनको भनाई थियो। ‘प्रदेश नामाकरणको सवालमा व्यक्तिभन्दा पनि समग्र पार्टीबाटै कमजोरी भएको तथ्य हामीले स्वीकारेका छौँ’ उनले भने ‘त्यसैले पहिचानको आधारमा पुनः नामाकरण गर्नका लागि सिंगो पार्टी अहिले लागिपरेको छ, त्यो हाम्रो मुद्धा स्थापित गराएरै छाड्छौँ।’

पहिचानबिरोधी नाम राखेसँगै चर्केको आन्दोलनसँगै प्रदेश सरकार बिघटन र पुनर्गठनको माथापच्चीमा परेपछि अहिले ‘डेडलक’को अवस्था छ। पछिल्लो समय सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई मान्यना नदिएपछि सिंगो प्रदेश  बजेटबिहीन अवस्थामा पुगिसकेको बेला अदालतबाटै निकास आउने अपेक्षा नेता मेयाङबोले गरेका छन्। निश्चय नै अदालतले केही न केही निकास दिने र केहीदिनभित्रै गठबन्धनकै सरकार बन्नेमा आफु विश्वस्त रहेको उनले बताए।  

पार्टीको ३ महिने ‘जनतासँग माओबादी–रुपान्तरण अभियान’ कार्यक्रम लिएर उदयपुर आएका नेता मेयाङबोले भदौ १६ देखि सुरु हुने अभियानले पार्टीलाई मजबुत र व्यवस्थित पार्नुका साथै वर्तमान प्रचण्ड सरकारले गरेका ऐतिहासिक र राम्रा कामहरुलाई टेवा पुग्ने  गतिबिधिहरु गर्ने बताए। जनतासँग एकाकार भएर सञ्चालन गरिने कार्यक्रम भएकाले ‘घरघरमा माओबादी–जनजनमा माओबादी’ भन्ने पार्टीको नारालाई रुपान्तरण अभियानले सार्थक तुल्याउने अपेक्षा उनको छ। जनतासँगै जोडिएर उनीहरुको सुखदुःखसँग एकाकार भएर चलाइने अभियानले माक्र्सबाद, लेनिनबादको प्रयोग गर्दै समाजबादको यात्रातर्फ देशलाई अघि बढ्न मद्धत गर्ने गरी पार्टी लागी पर्ने बताए।  

रुपान्तरण अभियान अन्तर्गत संगठन निर्माण, सदस्यता बितरण र नवीकरण, पार्टीको नीतिगत प्रशिक्षण, सामुहिक श्रमदान, सांस्कृतिक गतिबिधिजस्ता सृजनसिल र रचनात्मक गतिबिधिहरु जनताको घरघर गएर गर्ने योजना रहेको नेता मेयाङबोले बताएका छन् । प्रेस सेन्टर नेपाल उदयपुरले शुक्रबारै प्रथम साधारणसभासमेत राखेको अध्यक्ष सुपराज किरातीले बताएका छन्।

प्रकाशित: १५ भाद्र २०८० ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App