१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भ्रमणदल ५९ सदस्यीय

काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवा ५९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान भारतको ५ दिने राजकीय भ्रमणमा निस्कने भएका छन् । उनीसँग भारत जाने टोलीमा चार मन्त्री, १२ विभिन्न राजनीतिक दलका सांसद र ९ सचिव छन् । निजी खर्चमा देउवासँगै भारत जानेलाई भने भ्रमणदलमा समावेश गरिएको छैन। 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँगै भारत जानेमा उनकी पत्नी आरजु राणा देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटनमन्त्री जितेन्द्रनारायण देव र वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा छन्।

सांसदहरू नारायणप्रकाश साउथ, अजयशंकर नायक, ईश्वरीदेवी न्यौपाने, अभिषेकप्रताप शाह, अनिलकुमार रुजडाटा, उमेश श्रेष्ठ, पवनकुमार शारदा, रञ्जित कर्ण, सीताराम भण्डारी, भूपेन्द्र थिपे र शान्ता गिरी ओली पनि भारत भ्रमणमा प्रधानमन्त्रीसँगै जानेछन्। 
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवा, प्रधानमन्त्री प्रेस संयोजक गोविन्द परियार पनि प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुनेछन्। 
पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्दराज पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले पनि भ्रमणदलमा रहेका छन्। 

भ्रमणदलमा परराष्ट्र सचिव शंकरदास बैरागी, अर्थ सचिव शान्ताराम सुवेदी, गृहसचिव लोकदर्शन रेग्मी, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, पर्यटन सचिव शंकरप्रसाद अधिकारी, ऊर्जासचिव अनुपकुमार उपाध्याय, सिँचाइ सचिव रामानन्दप्रसाद यादव, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरे र भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की पनि सहभागी हुनेछन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा बुधबार बिहान १० बजे त्यसतर्फ जानेछन् । भ्रमणका बेला भारत सरकारले उनलाई राजकीय पाहुनाका रूपमा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा राख्नेछ ।  प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेट र भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् । 
 भदौ ८ गते प्रधानमन्त्री देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ बाट सम्मान गरिनेछ । त्यही दिन उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पगुच्छा अर्पण गर्नेछन्। 

भदौ ८ गते नै प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम बैंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सोही दिन उनले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् । त्यसपछि उनी भारतीय प्रधानमन्त्रीले उनको सम्मानमा आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । भदौ ८ गते नै भारतीय विभिन्न मन्त्रीहरूले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा पनि प्रधानमन्त्री देउवा भदौ ८ गते नै सहभागी हुनेछन्। 

भ्रमणका बेला भारतमा रहेका नेपाली समुदाय र भारतीय बौद्धिक वर्ग तथा व्यापारी समुदायसँग उनले अन्तरक्रिया गर्नेछन् । नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेपछि प्रधानमन्त्री देउवाले भारतको तेलांगना, आन्ध्रप्रदेश र बिहार (तिरुपति, हैदराबाद र बोधगया) को पनि भ्रमण गर्नेछन् । उनी भदौ ११ गते राति ८ बजे स्वदेश फर्कने कार्यक्रम छ । 
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणबारे मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । उनले शीतल निवास पुगेर भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । प्रधानमन्त्री देउवा बुधबार भारत भ्रमणमा जाँदैछन् ।  

 


 

प्रकाशित: ७ भाद्र २०७४ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App